पोखरा र घोरेपानीका महिला पर्यटन व्यवसायीको अन्तर्क्रिया

समाधान संवाददाता २०७९ वैशाख २१ गते १७:५६

पोखरा ।
पर्यटकीय क्षेत्र घोरपानीका होटल व्यवसायी महिलाले पर्यटक लिएर आउने गाइड र पोर्टरहरुलाई निशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिदै गएको बताएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवद्र्धनमा पोखराका महिला पर्यटन व्यवसायी (ओटेफ) ले म्याग्दी घोरेपानीका होटल व्यवसायी महिलासँग गरेको क्षमता विकास एवम् अन्तक्रिया कार्यक्रम सहभागिहरुले पर्यटक लिएर आउने गाइड पोर्टरहरुलाई लामो समयदेखि निशुल्क रुपमा खाने बस्ने गरेको जनाउँदै यसले व्यवसायमा समस्या थपिदै गएको बताएका हुन् ।

Advertisement

घोरेपानी होटल व्यवसायी संघका अध्यक्ष मिना पुनले भनिन् “हिजो केही व्यवसायीले पर्यटक ल्याउँछन भन्दै निशुल्क खान बस्न दिए आज त्यो ‘कल्चर’ले हामीलाई समस्यामा पार्दै लगेको छ ।” उनले मौसम अनुसार हुने व्यवसायमा अनगिन्ति समस्या रहेको जनाउँदै विदेशी पर्यटकले समेत ‘फ्रि’मा कोठा माग्ने गरेको थुप्रै अनुभव सुनाइन् । उनले भनिन् “म २० वर्ष युके बसेर आएँ, त्यहाँ प्रत्येक कुरामा पैसा तिर्नुपर्छ तर नेपालमा हेपाहा प्रवृत्ति लिएर आउँछन्” उनले पर्यटकका यस्ता व्यवहारबाट यस क्षेत्रका धेरै व्यवसायीहरु पीडित भएको कतिपय अवस्थामा विदेशी पर्यटक विवाद पनि गर्नुपरेको बताइन् ।

उनले पहिलो चोटी व्यवसायीका समस्यामा केन्द्रित महिलाको क्षमता विकास लक्षित कार्यक्रम लिएर घोरेपानी आएकोमा ओटेफलाई धन्यवाद समेत दिइन् । उनले भनिन् “आजसम्म कोही आएर हाम्रा समस्याबारे सोधेनन् तर बाहिर बाहिर घोरेपानीमा खाना बस्न निकै महँगो छ भन्ने हल्ला मात्र फिजाँए । आज बल्ल खुलेर आफ्ना कुराहरु राख्न पायौं, यो कार्यक्रम ल्याइदिनु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ।” उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम आवश्यता रहेको बताइन् ।

अर्का होटल व्यवसायी महिला जुलि ठकुरी पुनले घोरेपानीलाई पर्यटकको एक उत्कृष्ट गन्तब्य बनाउन आफूहरुले प्रदान गर्ने होटलका सेवा सुविधामा निकै ध्यान दिएको बताए । उनले सहज यातायात नहुने पदमार्ग क्षेत्र भएकाले अधिकांश सामान भरिया र खच्चडबाट ल्याउनु पर्ने र ढुवानी खर्च निकै महँगो भएपनि त्यसको तुलनामा आफूहरुले निकै सस्तोमा खाना बस्ने व्यवस्थाको प्रबन्ध गरेको जानकारी दिए । उनले ६ सयदेखि आठसय ५० सम्मको खाना, सुविधा हेरेर तीनसयदेखि दुइहजार भित्रका कोठाहरुलाई महँगो भन्न नमिल्ने बताए । उनले आन्तरिक पर्यटक र विद्यार्थीहरुलाई भने सहुलियत दिने गरेको बताए ।

उक्त क्षेत्रका सहभागी अन्य व्यवसायी महिला विष्णु पुन, ललिता पुन, सपना गुरुङ, मन्चुरी पुन, देउती पुन लगायतले पछिल्लो समय व्यवसाय सञ्चालनमा निकै कठिनाइ आइरहेको र लैङ्गीग हिसाबले पनि महिला व्यवसायीलाई अलि हेप्ने गरेको, एक्लै व्यवसाय सञ्चालन गरेका महिलाप्रति नकारात्मक दृष्टिकोण राख्ने गरेको केही अनुभवहरु समेत सनाएका थिए ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले लैगिंक हिंसा न्यूनिकरणका लागि आर्थिक सशक्तिकरणको महत्व र नेतृत्व विकासको अपरिहार्यताको विषयमा सहजीकरण गरेकी थिइन् ।

Advertisement

ओटेफका अध्यक्ष पार्वती पाण्डेले सुगम र दुर्गम क्षेत्रमा महिला व्यवसायीका समस्या कतिपय साझा रहेको जनाउँदै महिला सशक्तिकरण लागि हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको औल्याइन् । उनले यस क्षेत्रका व्यवसायीहरु एक भएर अघि बढ्न सके देखिएका समस्याहरु छिटै समाधान हुने विश्वास व्यक्त गरिन् । संस्थाका सल्लाहकार दुर्गा ढकालले व्यवसाय र व्यवसायी महिलाले भोगेका समस्यालाई नजिकबाट बुझ्ने अवसर मिलेको जनाउँदै आगामी दिन पर्यटन मैत्री व्यवसायमा जोड दिएर यस क्षेत्रलाई उत्कृष्ट गन्तब्य बनाउन सहकार्य र समन्वयमा जोड दिनुपर्ने बताइन् ।

कार्यक्रम सहभागी ओटेफका सदस्यहरुले घोरेपानी पुनहिल जाने पर्यटकलाई आवश्यक सुचना साथै पदयात्रा सामाग्री विक्रि वितरण गर्दै आएपनि आज स्थलगत रुपमा घोरेपानी पुगेर त्यस क्षेत्रको अवलोकन गर्दा थप ज्ञान हासिल गर्न सफल भएको र आगामी दिन पर्यटकलाई यस क्षेत्रको बारेमा सहि सुचना दिन सकिने धारणा राखेका थिए । कार्यक्रममा ओटेफका सचिव शर्मिला न्यौपानेले व्यवसायी महिलाको अनुभव आदानप्रदान धेरै कुराहरु बुझ्ने अवसर मिलेको जनाउँदै आगामी दिनमा ओटेफले घोरेपानीको पर्यटन प्रवद्र्धनमासकारात्मक भूमिका खेल्ने बताइन् । संस्थाका सदस्य रिता रेग्मी (मुना)ले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेकी थिइन् ।

तपाईको प्रतिक्रिया