माधव नेपाल वंशनाश गर्ने कंश, प्रचण्ड काँग्रेस भइसके

समाधान संवाददाता २०७९ वैशाख २१ गते २०:४१

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधव नेपाल वंशनास गर्ने कंस रहेको आरोप लगाएका छन् । ‘माधव नेपालजीको पदलोलुपता र महत्वाकांक्षाले यो अवस्था आयो । वंशनास गर्नुभयो । माधव र प्रचण्डको वंश कम्युनिष्ट हो कि दलाल पूँजीवादी काँग्रेस हो ? उहाँहरु कम्युनिष्ट हारोस्, उम्मेदवार नै नउठोस्, काँग्रेस जिताऔं भनेर हिँड्नुभएको छ’ गुरुङले भने ।

Advertisement

उपमहासचिव गुरुङ पोखरामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थिए ।

प्रचण्डको पार्टी विसर्जनतर्फ गइसकेको ठोकुवा गर्दै उनले थपे – प्रचण्डको पार्टी जिवन्त हो भने चुनावमा घोषणापत्र किन आएन ? काँग्रेसकै घोषणापत्र बोकेर हिँडेपछि प्रचण्ड माओवादी भए ? माक्र्सवादी भए ? लेनिनवाद कता गयो ? अब उहाँमा नातावाद मात्र बाँकी छ । काँग्रेसको धोती समातेर समाजवादको बैतर्णी तर्न खोज्ने माधव र प्रचण्डको हालत अब चुनावपछि के हुन्छ हेर्नुहोला।

उपमहासचिव गुरुङले भूगोलमा देशकै ठूलो र जनसंख्यामा दोस्रो ठूलो पोखरा महानगरमा अब मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले जितेपछि विकासको लहर चल्ने बताए । पोखराका ३३ वटै वडा र चारै गाउँपालिकासहित त्यहाँका सबै वडामा एमालेले विजयको झण्डा फहराउने उनको भनाई थियो ।

पहिलो कार्यकलामा राम्रो काम गरेकै कारण थापाको चर्चा अहिले भएको र पार्टीले पनि गर्न सक्ने भएरै उम्मेदवार बनाएको भन्दै गुरुङले उपमेयर गुरुङ त आफ्नो कार्यकालमा देशमै सर्वोत्कृष्ट उपमेयर बनेकाले पोखरेलीले जिताउने ठोकुवा गरे ।

Advertisement

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईञ्चार्ज भीम कार्कीले आठ सूर्य रहेको सात बाकसमा सात छाप लगाएर सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन अपिल गरे । गठबन्धन आफै लडेर सक्किने भन्दै उनले जनताले देशभर एमालेलाई पुनः पहिलो पार्टी बताउने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया