समस्या सुन्छौँ, योजना बनाउँछौंः महेन्द्र

पोखरा l
नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले चुनाव जितेमा जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार मादी ६ मा आयोजित चुनावी सभामा उनले प्रतिबद्धता पत्रमा सबै योजना समेट्न नसकिने भएकाले चुनाव जितेपछि जनतासँगै योजना माग्ने बताए । ‘घोषणापत्र सबैको हात हातमा छ । त्यसमा केही छुटेको छ भने माफी चाहन्छु । गाउँ, घरआँगनमा आएर छुटेका काम गर्न, समस्या सुन्न र योजना बनाउन तयार छौँ,’ उनले भने ।
उनले कांग्रेस र माओवादीमा लागेकाको भविष्य खोसिएको बताए । बाहिरबाट आएका ‘टुरिस्ट नेता’लाई गाउँमा ल्याएर गठबन्धनले सभा गरेको र भोलि उसैले चुनाव लड्न सक्ने भन्दै पार्टीमै भएकाले अवसर नपाउने दाबी गरे । माओवादी नेता देव गुरुङ गठबन्धनको चुनावी सभामा भाग लिन शनिबार मादी पुगेका थिए । महेन्द्रले टुरिस्ट ल्याउन खोजिएको भन्दै व्यंग्य गरे ।
उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले जनतालाई दुःख पर्दा आफूहरु २४ घण्टा खटिने प्रतिबद्धता जनाइन् । महिला हिंसाविरुद्ध र महिलाको हकअधिकार स्थापनामा आफू सक्रिय भएर लाग्ने उनले बताइन् ।
मादी ६ का वडाध्यक्ष उम्मेद्वार डिलबहादुर क्षेत्रीले उम्मेद्वार आफ्नो युवा ऊर्जा र जोस, जाँगर वडाको विकासका लागि खर्चने बताए । वडाले प्रतिबद्धता पत्रमा लेखेका विषय वडाबासीकै सल्लाह–सुझावमा इमानदार भएर पालना गर्ने प्रतिबद्धता जनाए ।
नेता रुद्र रानाभाटले युवाले गाउँपालिका हाँक्ने आँट गरेकाले साथ दिन मादीबासीलाई आग्रह गरे । उनले गठबन्धन ‘पाँच वस्तुको एउटा गोठाला’ भएको टिप्पणी गरे ।
तपाईको प्रतिक्रिया