मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने

पोखरा ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।
मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् ।मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता प्राप्त गरेका सबै नागरिकले मतदान गर्ने पाउने गरी व्यवस्था गरिएको बताए ।
मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन ।
मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सउ मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।
कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ । यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न÷गराउन नपाइने आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया