स्थानीय तह निर्वाचन २०७९
बढ्न सक्छ बदर मत

पोखरा l
आउँदो शुक्रबार स्थानीय तहको लागि चुनाव हुँदै छ । मतदातालाई आफ्नो धारणा बनाउन मंगलबार राति १२ बजेदेखि निर्वाचन आयोगले ४८ घण्टालाई मौन अवधि तोकेको छ ।
यो मौन अवधिमा निर्वाचनसँग सम्बन्धित अन्तक्र्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइँदैन । जुन निर्वाचन आचारसंहितामा विपरीत हो । ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय हुनेछ । ०७४ मा भएको स्थानीय, प्रदेश र संघीय चुनावपछिको नागरिक स्थानीय तहको चुनावमा सहभागी भएर जनप्रतिनिधि छान्ने तयारीमा छन् ।
निर्वाचन आयोगले मंगलबार ६४ प्रकारका सामग्री र निर्वाचन नियुक्ति पत्रसहित कर्मचारी खटाइसकेको छ । यो निर्वाचनमा १ मतदानले एउटै मतपत्रमा ७ उम्मेदवारलाई भोट हाल्न पाउँछन् । महानगर, उपमहानगरपालिका र नगरपालिकाको हकमा मेयर, उपमेयर, वडाध्यक्ष र ४ वडा सदस्यमा स्वस्तिक छाप लगाउन सक्छन् । गाउँपालिकाको हकमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष र ४ वडा सदस्यलाई मतदान गर्न पाउँछन् ।
यसअघिका सबै निर्वाचनमा निर्वाचन आयोगले मतदान शिक्षा राखिन्थ्यो तर, यस पटक मतदान शिक्षा कार्यक्रम भएन । लगातार मतदान शिक्षा दिँदा पनि नरोकिएको बदर मत यस पटक अझ बढ्न सक्ने दलका नेताहरु बताउँछन् ।
मत बदर नगर्न के गर्ने ?
आफ्नो मत बदर हुनबाट बचाउन अधिकृतको हस्ताक्षर भएको मतपत्र छ कि छैन भनेर हेर्नुपर्छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर गर्ने ठाउँ हुन्छ । मतदान गर्ने ठाउँमा गएर मत्रपत्रमा सात वटा छाप लगाउने अधिकार हुन्छ । १ पदका लागि १ जनामात्र रोज्न पाइन्छ । यसरी छाप लगाउँदा पहिला ५ वटा ठाडो लहरमा प्रत्येकमा एउटा छाप लगाउनु पर्छ । पहिलो लहरमा मेयर वा गाउँपालिकाको अध्यक्षको चुनाव चिन्ह हुन्छ । यसमा आफूलाई मन परेको चुनाव चिन्हमा एउटा छाप लगाउनुपर्छ ।
दोस्रो लहरमा उपप्रमुख, तेस्रो लहरमा वडाध्यक्ष, चौथो लहरमा वडा महिला सदस्य र पाँचौ लहरमा दलित महिला वडा सदस्यको चुनाव चिन्ह हुन्छ । यी प्रत्येक ठाउँमा एक स्वस्तिक छाप लगाउनुपर्छ । यसरी एक पदमा एक भन्दा बढी छाप लगाए मत बदर हुन्छ ।
प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुली मतदाता शिक्षा अभावले बढी मत बदर हुने बताउँछन् । आधुनिक प्रविधिको प्रयोग गर्न हिच्किचाहटका कारण धेरै मत बदर हुने उनको भनाइ छ । ‘विद्युतीय मतदान उपकरणको प्रयोगमा हिच्किचाहटदेखि मतपत्रको डिजाइन, रङ र मतदाता शिक्षाको अभाव लगायत साथै छाप लगाउने प्रक्रिया, मतपत्रको रङ, मसीको रङ, स्वस्तिक छापको रबरका कारण मत बदर हुन सक्छन्,’ पराजुलीले भने ।
कुन निर्वाचनमा कति बदर ?
निर्वाचन आयोगका अनुसार सरदर ५ प्रतिशत बदर हुने गरेको छ । ०४८ सालको निर्वाचनमा ३ लाख २ हजार २३, २०५१ को मध्यावधिमा २ लाख ४१ हजार ७१ मत बदर भएको आयोगको तथ्यांक छ । ०५६ सालको संसदीय निर्वाचनमा पनि २ लाख ४४ हजार ९ सय २ मत बदर भएको थियो ।
०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा बदर मत संख्या झन् बढेको थियो । ०६४ मा प्रत्यक्षतर्फ ५ लाख ६० हजार ११ र ०७० सालमा ४ लाख ७१ हजार ८ सय २६ मत बदर भयो । समानुपातिक निर्वाचनतर्फ पनि बदर मतको संख्या उल्लेख्य नै छ । पहिलो संविधानसभा निर्वाचनमा ४ लाख ७ हजार ४ सय ६२ र दोस्रोमा ३ लाख १२ हजार ८ सय ४१ मत बदर भएको थियो ।
०७४ सालका तीनै तहका निर्वाचनमा पनि बदर मत धेरै छ । स्थानीय निर्वाचनमा ३.१८ प्रतिशत बदर भयो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ करिब ३ प्रतिशत बदर भएको आयोगको तथ्यांक छ ।
तीनै तहको निर्वाचनमा २६ लाख १० हजार ९ सय ६८ मत बदर भएको थियो । प्रतिनिधिसभामा समानुपातिकतर्फ १ करोड ५ लाख ८७ हजार ५ सय २१ मतदान भएको थियो । जसमा ९५ लाख ४४ हजार ७ सय ४४ मत सदर र १० लाख ४२ हजार ७ सय ७७ मत बदर भएको थियो । त्यो खसेको मतको ९.८४ प्रतिशत हो । प्रदेशसभातर्फ ९० लाख १९ हजार ३ सय ३० मत सदर भएको थियो। १५ लाख ६८ हजार १ सय ९१ मत बदर भएको थियो । जुन १४.८१ प्रतिशत थियो ।
विकल्प विद्युतीय मतदान
मत बदर कम गर्न आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने विज्ञ बताउँछन् । विद्युतीय उपकरणको प्रयोगले मात्रै मत बदर रोकिने उनीहरूको तर्क छ । विद्युतीय मतदानलाई बढावा दिनुपर्नेमा आयोग र सरकारले त्यसलाई लागू गर्न सकेका छैनन् ।
मत बदर हुने अवस्था
–सम्बन्धित मतदान अधिकृतको दस्तखत नहुँदा
–औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गर्दा
–मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको
–उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको
–उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको
–कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरिएको
–निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा छुट्टै मत संकेत गरिएको
–मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको
–आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको
–मतपेटिका भन्दा बाहिर राखिएको
–जाली मतपत्र
निर्वाचनको सन्दर्भमा मतदाताले देहायका कर्तव्य पूरा गर्नुपर्छ
–मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने
–निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुयाउने ।
–मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदंगामा नलाग्ने । मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा संकेत भएको पहिरन, परिचयपत्र र व्याज नलगाउने ।
–मतदानको दिन सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिक रूपले अशक्त वा हिँड्डुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सकिने जानकारी गराउनु पर्नेछ ।
कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन ।
एकभन्दा बढी पटक मतदान गर्न हुँदैन
–मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन ।
सामाजिक सञ्जाल प्रयोगमा सावधानी
–शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौं
– सूचनाको विश्वसनीयता जाँच गरौं
–निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन नगरौं
–निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिने जस्ता कार्य नगरौं, कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट नगरौँ
–कसैको चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौं

तपाईको प्रतिक्रिया