इलाममा डाक्टर केसीकाे १६औं अनसन सुरु

समाधान संवाददाता २०७५ पुष २६ गते १२:५३

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले १६ औं अनसन सुरू गरेका छन्। सरकारसँग गरेको सहमतिविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि डा. केसीले इलामबाट १६औं अनसन सुरू गरेका हुन्।

समितिले सहमति विपरित विधेयक पास गर्ने संकेत पाए लगत्तै डा. केसी इलाम पुगेका थिए। डा. केसी इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा अनसन बसेका छन्।

अनसन सुरू गर्नुअघि पत्रकार सम्मेलन गर्दै डा. केसीले अहिले देशमा भइरहेको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्।

Advertisement

‘प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘यसैबीच द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधहरूमा उन्मुक्तिको व्यवस्था गर्न लागिएकोप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ।’

आफूहरूले बारम्बार सरकार र सांसदहरूलाई विगतको सम्झौता स्मरण गराउँदै सो अनुसार चिकित्सा शिक्षा ऐन जारी गर्न अनुरोध गर्दा पनि त्यसविपरित माफियामुखी बुँदाहरू समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकोमा डाक्टर केसीले कडा आपत्ति जनाए।

Advertisement

तपाईको प्रतिक्रिया