धनराज आचार्य र कांग्रेसको प्रतिक्रिया: पोखरामा फोहोर व्यवस्थापनको ‘सेटिङ’ अस्वीकार्य

समाधान संवाददाता २०७९ जेठ ५ गते २०:२६

पोखरा ।


फोहोर मैलाको व्यवस्थापनको जिम्मा नयाँ जनप्रतिनिधि आउनुअघि नै पोखरा महानगरपालिकाले दिन लागेको विषयमा मेयरका उम्मेदवार धनराज आचार्यले चासो देखाएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका उम्मेदवार आचार्यले फेसबुक स्टाटसमार्फत उक्त विषयमा बिहीबार चासो प्रकट गरेका छन् ।


जे भएको भएपनि संक्रमणकालमा रातारात निहीत स्वार्थमा रहेर गरिने अपारदर्शी काम कारबाहीहरु स्वीकार्य हुने छैनन् । सम्बन्धित निकायको ध्यान जाओस्,’ आचार्यले फेसबुकमा लेखेका छन् । उता नेपाली कांग्रेसले पनि यो विषयमा चासो राखेको छ । कास्की कांग्रेस सचिव भानु ढकालले दुरगामी असर पार्ने निर्णय गर्नु मतगणना भइरहेको परिप्रेक्ष्यमा जनमतको अपमान भएको बताएका छन् ।

Advertisement


‘फोहोर व्यवस्थापनको जिम्मा लगाउने गरी निकालिएको सूचनाप्रति नेपाली कांग्रेस, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,’ ढकालले भनेका छन्, ‘सेटिङमा दुरगामी असर पार्ने निर्णय गर्नु, हाल मतगणना भइरहेको परिप्रेक्ष्यमा जनमतको अपमान गर्नु हो ।’


३० वैशाखको निर्वाचनका उम्मेदवारहरुको मतगणना जारी छ । नयाँ जनप्रतिनिधि पोखरा महानगरमा केही दिनमा आउँदैछन् । तर उनीहरु आइहाल्नुअघि नै फत्ते गर्ने गरी महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने गरी सूचना निकालेको छ । नयाँ आउने जनप्रतिनिधिले फोहोर व्यवस्थापन कसरी गर्ने भनेर आफ्नै ढंगले उपाय ल्याउने अपेक्षा छ ।
रोचक के छ भने महानगरपालिकाले कुनै खास कम्पनीले मात्रै ठेक्का पाउने प्रावधान राखेर सूचना निकालेको छ । पहिल्यै फोहोर व्यवस्थापनको न्यूनतम ५ वर्षको अनुभव भएको हुनुपर्ने सर्त राखिएको छ । त्यो पनि गाउँपालिकाको होइन, महानगरपालिका वा उपमहानगरपालिकाको । त्यस्ता सर्तकै कारण सेटिङमा फोहोर व्यवस्थापनको जिम्मा दिन लागिएको शंका उत्पन्न भएको हो ।

Advertisement


पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले भने नयाँ प्रतिनिधि आउनुअघि नै सहरमा फोहोर व्यवस्थापनको समस्या हुन नदिनका लागि भन्ने प्रतिक्रिया दिएका छन् । उनले यस कामका लागि आफू निमित्तमात्रै भएको र प्राविधिक समितिको सुझावका आधारमा सूचना निस्किएको पनि बताएका छन् ।


महानगरपालिकालाई २ वर्षका लागि ३९ लाख रुपैयाँ तिर्ने गरी बोलपत्र आह्वान गरेको छ । त्यसको मतलब फोहोरबाट महानगरपालिकाले वर्षमा न्यूनतम २० लाख रुपैयाँ आम्दानी गर्न चाहेको देखिन्छ । तर पोखराका ८० हजार घरले फोहोरको पैसा महिनामै कम्तीमा १ करोड २० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । किनभने एउटा घरले महिनामा सरसफाइ शुल्क भनेर अहिले १ सय ५० रुपैयाँ तिर्नुपर्छ । अझ होटल रेस्टुरेन्टहरुले महानगरपालिकालाई मासिक ५ हजार र निजी कम्पनीले थप ५५ सय रुपैयाँसम्म तिर्दै आएका छन् ।


महिनामै करोडभन्दा धेरै आम्दानी हुने फोहोर मैला संकलनको जिम्मेवारी वर्षमा न्यूनतम २० लाख रुपैयाँ महानगरपालिकालाई आम्दानी हुने गरी निजी क्षेत्रलाई दिन कर्मचारीहरु हतारिएका छन् ।


आर्थिक प्रस्ताव महत्वपूर्ण नहुने प्राविधिक सर्त पूरा हुनुपर्ने त्यसपछिमात्रै आर्थिक प्रस्ताव हेरिने सर्त पनि बोलपत्र फारममा छ । पोखरामा जेठ दोस्रो साताभित्रै नयाँ जनप्रतिनिधिको पदवहाली हुने निश्चित जस्तै छ । तर, महानगपालिकाले फोहोर व्यवस्थापनको बोलपत्र फारम बुझाउने अन्तिम मिति नै जनप्रतिनिधि आउनुअघि अर्थात १० जेठभित्र राखेको छ ।
नयाँ कम्पनीले नयाँ खाले प्रस्तावै गर्न नसक्ने गरी अनुभवसहित विभिन्न सर्त पनि राखिएको छ ।

‘अनुभव भएका एक जना व्यवस्थापक, एक जना मैकानिकल इन्जिनियर, एक जना वातावरण इन्जिनियर, दुईजना सुपरभाइजर र एक जना लेखापाल हुनुपर्नेछ,’ सर्तमा भनिएको छ, ‘विगत ५ वार्षिक वर्ष मध्ये ३ आर्थिक वर्षमा सम्बन्धित क्षेत्रमा कार्य गरी वित्तीय कारोबार रकम ४ करोड हुनुपर्नेछ ।’ संयुक्त उपक्रम अर्थात ज्वाइन्ट भेन्चरको हकमा दुवै कम्पनीको अनुभव अनिवार्य गरिएको छ ।


फोहोर व्यवस्थापनको जिम्मा लिन चाहने कम्पनीसँग पहिल्यै १० वटा चालु अवस्थाका साधन हुनुपर्ने अर्काे सर्तसमेत छ । अनुभव भएको, १० वटा गाडी भएको लगायत सर्तहरु राखेर नयाँ कसैले पनि बोलपत्र हाल्न नसक्ने अवस्था सिर्जना गरिएको छ ।


‘फोहोर संकलनका लागि कम्तीमा ३० वटा बन्द ट्रक वा ट्रिपर आवश्यक पर्ने हुँदा ३० वटा साधन मध्ये न्यूनतम १० वटा साधन कम्पनीको नाममा चालु अवस्थाको रहेको भनी मेकानिकल इन्जिनियरले सिफारिस गरेको हुनुपर्ने र बाँकी साधन नपुग हुनेको हकमा बाँकी साधन खरिद गर्न सक्ने ‘क’ वर्गको वाणिज्य बैंकबाट क्रेडिट लाइनसहितको प्रतिबद्धता पत्र पेश गर्नुपर्नेछ,’ सर्तमा भनिएको छ, ‘पुनः प्रयोगजन्य÷पुनः प्रशोधनजन्य फोहोरमैलाको व्यवस्थापन समेटिएको प्रस्तावसहित कार्यान्वयनको प्रतिवद्धता पेस हुनुपर्ने छ । पोखरा महानगरपालिका क्षेत्रबाट उत्सर्जित फोहोरमैला संकलन र ढुवानी गरी साबिक भरतपोखरी हाल पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित टिमुरपाटो खारखोला ल्यान्डफिल्ड साइटमा व्यवस्थापन गर्नुपर्नेछ ।’

पोखराको फोहोर मैला व्यवस्थापन निजी क्षेत्रलाई दिन लागिएको भन्ने सम्बन्धी समाचार ५ गतेको समाधान दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया