सम्पादकीय: द्रुत गतिमा मतगणना गर

समाधान संवाददाता २०७९ जेठ ६ गते १२:३३

विक्रम सम्बत २०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ गते सकिदैछ । अहिलेको अवस्थामा मतगणना सकिएर सबै जनप्रतिनिधिले शपथ लिएर जेठ ६गतेसम्ममा जिम्मेवारी सम्हाल्न पाउने अवस्था छैन । विश्वव्यापी प्रचलन तथा नेपालको संविधानले स्थानीय तहलाई एक दिनपनि जनप्रतिनिधिविहीन बनाउन नहुने परिकल्पना गरेको छ ।

२०५४सालमा भएको चुनावपछि अर्को चुनाव समयमा हुन नसक्दा स्थानीय तह लामो समयसम्म जनप्रतिनिधिविहीन भएका थिए । अहिलेको चुनावबाट निर्वाचित जनप्रतिनिधिले समयमै शपथ खाएर तोकिएको जिम्मेवारी सम्हल्न नसके केही समयको लागि शुन्यताका अवस्था आउन सक्ने देखिन्छ । शुन्यताको अवस्था जति लम्बिन्छ, त्यतिनै बढी जटिलता थपिने अवस्था छ ।

निर्वाचन आयोगका अनुसार देशभरी मोटा मोटी ६५ प्रतिशत मतगणना सकिएको छ । निर्वाचन सकिएको ७ दिन पुरा हुँदा समेत धेरै मत गणना गर्नुपर्ने अवस्था रहेका महानगर र उपमहानगरपालिकाका हकमा निर्वाचनको परिणाम आउन ढिलाई भएको छ । निर्वाचन आयोगले मतगणनासुरु भएको बढीमा ५ दिनभित्र मतगणना सक्न निर्देशन गरेको छ ।

Advertisement

तरपनि सानातिना विषयलाई ठूलो मुद्दा बनाई विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने काम राजनीतिक दलका प्रतिनिधिले गरेका छन् । मतगणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथा समयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने गरेको छ ।

विसं २०७४ सालमा भएको यसअघिको स्थानीय तह निर्वाचनमा पनि मतगणनामा लामो समय लागेको थियो । अहिले एउटै मतपत्र गन्न दुईदेखि २०मिनेटसम्म लागिरहेकाले समस्या उत्पन्न भएको छ । देशका विभिन्न बाहेक देशका अन्य स्थानमा पनि मतगणनाको गति सन्तोषजनक छैन ।

Advertisement

सबैभन्दा ठूलो समस्या मतपत्र
यसपालिको निर्वाचनमा नतिजा सार्वजनिक गर्न कठिन हुनुको प्रमुख कारण ठुलो आकार र परम्परागत मतपत्र हो । एउटै मतपत्रमा सबै पदका आकांक्षीलाई समेटिँदा मतदान गर्दा निर्वाचन चिन्ह भेट्टाउन र मतगणना गर्नसम्म कठिन भएका हो । त्यस्तै धेरै उम्मेदवार भएकाले सबैका प्रतिनिधिले मतपत्र हेर्न खोज्ने हुँदा गणना प्रक्रिया झन् ढिला हुन गएको छ । मतदाता र उम्मेदवार थपिए पनि मतपत्र विगतकै जस्तो प्रयोगमा ल्याइएकाले समस्या परेको छ । मतदाता थपिए पनि नयाँ प्रक्रियाबारे नसोचिएका कारण यसपालि समस्या दोहोरिएको छ ।

निर्वाचनको मतगणना अपेक्षा गरिएभन्दा निकै सुस्त गतिमा अघि बढ्नुले आशंका जन्माउछ । जति छिटो परिणाम दिन सक्यो त्यति नै सहजता निर्माण गर्छ । छुट्टाछुट्टै पदको गणना विभिन्न टोली बनाएर गर्न पाएको भए सहज हुने थियो । यो कुरालाई पहिलेबाटै बुझेर आयोगले बढीभन्दा बढी ठाउँबाट गणना गर्ने व्यवस्था गर्नुपर्ने थियो विद्युतीय मतदानमै जान नसक्दा पनि प्रविधिको प्रयोग गरी गणनाको गति केही हदसम्म बढाउने उपाय खोज्न नसक्दासम्म मतगणना द्रुत गतिमा बढ्न सक्दैन ।

तपाईको प्रतिक्रिया