गण्डकीमा एमाले र कांग्रेसका ३५-३५ पालिका प्रमुख

माओवादीले ११ प्रमुख र १९ उपप्रमुख जितेको छ

समाधान संवाददाता २०७९ जेठ ७ गते १२:३९

रिखिराम जिसी
पोखरा ।
हालसम्म गण्डकी प्रदेशका ८३ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक भइसकेको छ । २ स्थानीय तहको मतगणना जारी छ ।
सार्वजनिक गरिएको नतिजा अनुसार एमाले र कांग्रेसले समान ३५ पालिकाका प्रमुख जितेका छन् । माओवादीले ११ पालिकामा विजय प्राप्त गरेको छ । एमालेले ३५ तह प्रमुख जित्दा ३२ वटामा उपप्रमुख जितेको छ । कांग्रेसले ३५ तह प्रमुख र ३० उपप्रमुख जितेको छ ।

माओवादीले ११ वटा प्रमुख तथा १९ उपप्रमुख जितेको छ । राष्ट्रिय जनमोर्चाले २ प्रमुख र १ उपप्रमुख जितेको छ । १ स्थानीय तहको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

८ वटा स्थानीय तह रहेको नवलपुरमा एमालेले ६ ठाउँमा जितेको छ । एमाले कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, बौदीकाली गाउँपालिका, विनयी गाउँपालिकाको प्रमुख, उपप्रमुख र बुलिङटार गाउँपालिकाको प्रमुखमा जित निकाल्न सफल भएको छ ।

Advertisement

कांग्रेसले नवलपुरमा २ प्रमुख र ३ उपप्रमुख पदमा जित हासिल गरेको छ । हुप्सेकोट गाउँपालिका, गैंडाकोट नगरपालिकाको प्रमुख उपप्रमुख दुवै र बुलिङटार गाउँपालिकाको उपप्रमुख पद जित्न सफल भएको छ ।

बागलुङका १० वटा तहमध्ये कांग्रेसले ६ मा प्रमुख तथा उपप्रमुख जितेको छ । कांग्रेसले तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै र बागलुङ नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको प्रमुख पद जित्न सफल भएको छ । जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा उपप्रमुख पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Advertisement

बागलुङमा एमाले एउटा स्थानीय तहको प्रमुखमा सिमित भएको छ । एमालेले ढोरपाटन नगरपालिकाको प्रमुखमा जित हासिल गरेको छ । माओवादी केन्द्रले ताराखोला गाउँपालिकाको प्रमुख र निसीखोला गाउँपालिका, गलकोट नगरपालिका, बागलुङ नगरपालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय जनमोर्चाका उम्मेदवार जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको प्रमुख र काठेखोला गाउँपालिकाको उपप्रमुख पदमा निर्वाचित भएको छ ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा एमाले अग्रपंक्तिमा छ । एमालेले ४ प्रमुख र ३ उपप्रमुखमा जित हासिल गरेको छ । अन्नपूर्ण गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिकाको प्रमुख उपप्रमुख दुवै पद र बेनी नगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले रघुगंगा गाउँपालिकाको प्रमुख, उपप्रमुख र धवलागिरी गाउँपालिकाको प्रमुख पद जितेको छ । माओवादीले धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाको उपप्रमुख जित्न सफल भएको छ ।

स्याङ्जामा पनि एमाले र कांग्रेस हाबी भएका छन् । ११ स्थानीय तहमध्ये ६ मा एमाले र ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिकाको प्रमुख, उपप्रमुख र वालिङ नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । अर्जुनचौपारी गाउँपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिकाको प्रमुख उपप्रमुख र वालिङ नगरपालिकाको उपप्रमुख जित्न कांग्रेस सफल भएको छ ।

७ वटा स्थानीय तह रहेको पर्वतमा एमालेले २ वटा प्रमुख र ५ उपप्रमुखमा विजयी भएको छ । महाशिला गाउँपालिका र मोदी गाउँपालिकाको प्रमुख, उपप्रमुख र विहादी गाउँपालिका, पैयुँ गाउँपालिका, कुश्मा नगरपालिकाको उपप्रमुखमा एमालेले जित हासिल गरेको छ । विहादी गाउँपालिका, पैयुँ गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । फलेवास नगरपालिका र जलजला गाउँपालिका उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

मुस्ताङमा एमाले हाबी भएको छ । एमालेले ५ स्थानीय तहमध्ये ४ मा जित हासिल गरेको छ । एमालेले लो–घेकर दामोदरकुण्ड गाउँपालिका, लोमन्थाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको प्रमुख, उपप्रमुख र थासाङ गाउँपालिकाको प्रमुख पदमा जित निकालेको छ । कांग्रेसले घरपझोङ गाउँपालिकाको प्रमुख, उपप्रमुख र थासाङ गाउँपालिकाको उपप्रमुख जितेको छ ।

मनाङमा ४ स्थानीय तह छन् । यहाँ एमाले र कांग्रेसले २÷२ वटामा जिते । चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका प्रमुख एमालेले जितेको छ । नार्पाभूमि गाउँपालिकाको उपप्रमुखमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले नासोँ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको प्रमुख जितेको छ । चामे गाउँपालिकाको उपप्रमुख पनि कांग्रेसले नै जित्यो । नासोँ गाउँपालिका उपप्रमुख माओवादी र मनाङ डिस्याङ गाउँपालिका उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कास्कीका ५ स्थानीय तहमध्ये ४ तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसअनुसार एमालेले २ स्थानीय तहमा जित हासिल गरेको छ । अन्नपूर्ण गाउँपालिका, रूपा गाउँपालिकाको प्रमुख, उपप्रमुख र मादी गाउँपालिकाको उपप्रमुख पदमा एमालेका उम्मेदवारले जित हासिल गरेका हुन् । कांग्रेस उम्मेदवार माछापुच्छ«े गाउँपालिकाको प्रमुख, उपप्रमुख र मादी गाउँपालिकाको प्रमुख पदमा विजयी भएका छन् । पोखरा महानगरपालिकाको मतगणना जारी छ ।

तनहँुका ८ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । जसमा एमाले ४ स्थानीय तहमा विजयी भएको छ । घिरिङ गाउँपालिका र भीमाद नगरपालिका प्रमुख उपप्रमुख र बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिकाको प्रमुख पदमा एमाले विजयी भएको छ । कांगे्रसले ऋषिङ गाउँपालिका, भानु नगरपालिकाको प्रमुख, उपप्रमुख र देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाको उपप्रमुखमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको प्रमुख र शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिकाको उपप्रमुख पद जित्न सफल भएको छ । व्यास नगरपालिकाको मतगणना जारी छ ।

लमजुङमा सबै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसअनुसार एमालेले ४ र कांग्रेसले ४ स्थानमा जित हासिल गरेका छन् । एमालेले बेसीसहर नगरपालिका, क्व्होंलासोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाका प्रमुख उपप्रमुख र दोर्दी गाउँपालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकाको उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र सुन्दरबजार नगरपालिकाको प्रमुख र दोर्दी गाउँपालिकाको उपप्रमुखमा जित निकाल्यो ।
प्रदेशका ३७ स्थानीय तहमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका थिए ।
….
गोरखामा माओवादी दबदबा
माओवादी जनयुद्धको आधारभूमि हो गोरखा । माओवादीका शीर्ष नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको गृहजिल्ला हो गोरखा । अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसले बलियो पकड बनाएको थियो । जिल्लाका ११ पालिकामध्ये ९ कांग्रेसले जित्दा माओवादी २ पालिकामा सिमित भएको थियो ।

यसपालिको निर्वाचनमा जिल्लामा कांग्रेस–माओवादी गठबन्धनका लागि अनेक पहल भए पनि त्यो सार्थक भएन । गोरखा नगरपालिका र एक गाउँपालिकामा कांग्रेस र जसपाको गठबन्धन बन्यो । अन्यत्र सबै पार्टी एकल रुपमा लडे । निर्वाचन परिणाम सार्वजनिक हुँदा यहाँ माओवादीले बलियो पकड बनाएको छ ।

जिल्लाका ९ पालिका जितेको माओवादी केन्द्र यहाँ निर्णायक शक्ति बनेको छ । नेपाली कांग्रेस २ पालिकामा सिमिति भएको छ । डा. बाबुराम भट्टराईको बर्हिगमनपछि जिल्लामा कमजोर ठानिएको माओवादीले स्थानीय चुनावमा आशातीत सफलता पाएको छ । गण्डकी प्रदेशमा ११ पालिका जितेको माओवादीले गोरखामा मात्रै ९ पालिका जितेको हो ।

माओवादीले पालुङटार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, सहिद लखन गाउँपालिकाका प्रमुख, उपप्रमुख र गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भीमसेनथापा गाउँपालिकाको प्रमुख जित्न सफल भएको छ ।

कांग्रेसको बलियो गढ मानिएको गोरखा नगरपालिकामा प्रमुख जितेको माओवादीले पालुङटार नगरपालिकामा निवर्तमान मेयर दीपकबाबु कँडेललाई हराएको छ । पालुङटार डा बाबुराम भट्टराई गृह पालिका हो । यहाँ कांग्रेस–जसपा गठबन्धन गर्ने सहमति भए पनि स्थानीय तहमा सफल भएन । अन्तिम समयमा यहाँ एमाले र जसपा गठबन्धन बने पनि गठबन्धनले जित्न सकेन ।

आरूघाट गाउँपालिका, सिरानचोक गाउँपालिकामा प्रमुख, उपप्रमुख र भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, गोरखा नगरपालिकाको उपप्रमुखमा कांंग्रेसका उम्मेदवार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया