नदी किनारका टारहरुमा सिंचाइ नपुग्दा अन्नबालि लगाउन समस्या

समाधान संवाददाता २०७५ चैत १८ गते १२:३९

कृष्ण न्यौपाने
दमौली

तनहुँको देवघाट गाउँपालिका १ कोटास्थित कालीगण्डकी नदी किनारमा ठूला टारहरुमा सिंचाइ नपुग्दा अन्नबाली लगाउन समस्या भएको छ । सिंचाइ अभावमा टारहरुमा मकै र कोदोबाहेक अन्य बाली लगाउन सकिएको छैन ।

कृषक मणि गुरुङले सिंचाइ नहुँदा मकै र कोदो खेतीमै निर्भर हुनुपरेको गुनासो गरे । सिंचाइ भए यहाँका टारमा बाह्रै महिना खेती गर्न सकिन्छ । उनले भने, ‘सिंचाइ सुविधा छैन । मकै र कोदोबाहेक अन्य खेती गर्न समस्या छ ।’ खेतीयोग्य जमिनमा मकै र कोदो लगाई चितवनको भरतपुर र नवलपरासीको गैंडाकोटबाट चामल लगायत अन्य तरकारी खरिद गरेर ल्याउनुपर्ने बाध्यता छ ।

Advertisement

स्थानीय कृषक माया आलेका अनुसार यहाँका सुख्खा टारबाट उत्पादित मकै र कोदो रक्सी पार्न प्रयोग गर्ने गरिएको छ भने बढी भएको गाईवस्तुलाई दिने गरिएको छ । उनले भनिन्, ‘आफ्नै जग्गामा खेती गरेर उब्जाउ गर्ने मन त छ तर सिंचाइ सुविधा छैन । चामल र तरकारी किनेर खानुपर्छ ।’ कोटाका कालिकाटार, आँपटार, गोपीटार र कोटाटारमा रहेका सयौं हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ अभावमा मकै र कोदो लगाउनको विकल्प नभएको देवघाट गाउँपालिका १ का वडा अध्यक्ष भीम गुरुङले बताए ।

कालीगण्डकी नदीको पानीले टारमा सिंचाइ गर्न सकेमा त्यहाँ उत्पादित अन्नबालीले सिंगो गाउँपालिकालाई नै आत्मनिर्भर गराउन सकिने अध्यक्ष दुर्गबहादुर थापा बताउँछन् । सिंचाइ सुविधा पुर्‍याउनका लागि गाउँपालिकाको बजेटले मात्र नधान्ने हुँदा त्यसको लागि प्रदेश र संघीय सरकारलाई पनि अनुरोध गरिएको उनले बताए ।

Advertisement

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो टारमा सिंचाइका लागि ६० लाख विनियोजन गरेको छ । अध्यक्ष थापाले सिंचाइका लागि करोडौं रुपैयाँ आवश्यक पर्ने हुँदा संघीय सरकारले समेत सहयोग गर्नेमा विश्वस्त रहेको बताए । सांसद सदस्य कृष्णकुमार श्रेष्ठले कोटाका खेतीयोग्य टारमा सिंचाइका लागि संघीय सरकारलाई अनुरोध गरिने बताए ।

तपाईको प्रतिक्रिया