नवलपुर–तनहुँ जोड्ने पुल अलपत्र

समाधान संवाददाता २०७९ जेठ ९ गते १३:३१

कावासोती ।
५ वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ । नवलपरासी पूर्व नवलपुरको बौदीकाली ३, रकुवा र तनहुँको घिरिङ सुन्धारा १, जगौली जोड्ने गरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो ।

Advertisement

३ वर्षभित्र निर्माण गर्ने गरी ०७४ मंसिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशतमात्र सम्पन्न भएको छ । पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती, नीलगिरी नेसनल जेभीले समयमा नै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो । पुलका लागि ल्याइएका सामग्री यत्रतत्र छरिएका छन् । छडलगायतका सामग्री खिया लाग्न थालेका छन् । पुल निर्माणस्थलको बौंदीकाली ३ रकुवातर्फमा २ पिल्लरबाहेक कुनै काम हुन सकेको छैन ।

पुल निर्माणस्थलमा बेला बेला १०÷१२ जना कामदार ल्याउने र केही काम गर्ने गरेको भए पनि ०७९ वैशाखदेखि निर्माणस्थलमा कामदार आएका छैनन् । वर्षाको समयमा यसै काम नहुने र अहिले काम गर्न मिल्ले समयमा समेत निर्माणको काम नगरी अलपत्र पारेको स्थानीयवासीले समेत गुनासो गरेका छन् ।

पुल निर्माणको काम ०७७ मंसिरमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि पछि ०७८ चैतभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । त्यसपछि म्याद थप नभएको पुल योजना सेक्टर नं ४ पोखराका डिई नवराज बास्तोलाले बताए । सरकारले काममा लापरबाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण सम्पन्न गर्नुपर्ने समय समाप्त भइसकेकाले यस्ता कम्पनीलाई कारबाही अघि नबढाइएको स्थानीय श्याम पाटाको गुनासो छ ।

पुल निर्माणका विषयमा निर्माण कम्पनी महावीर, गौरीपार्वती, नीलगिरी नेसनल जेभीका प्रतिनिधि युवराज डाँगीले निर्माण सामग्रीको मूल्य बढेकाले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने तर्क गरे । सुपरीवेक्षण गर्ने निकाय पुल योजना क्षेत्र सेक्टर नं ४ का सव इन्जिनीयर सुशील अधिकारीले हालसम्म काम सम्पन्न भइसक्नुपर्नेमा पटक पटक निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइरहेको बताए । उनले भने, ‘सम्झौता अनुसार काम नगरिदिँदा पुल निर्माणको काम १५ प्रतिशतमात्र भएको छ, हामीले ताकेता गरिरहेका छौं ।’ २२ करोड ९८ लाख लागतमा निर्माण सुरु गरिएको पुल २ सय ११ मिटर लामो छ ।

Advertisement

तपाईको प्रतिक्रिया