कास्कीको अन्नपूर्ण गाउँपालिकाकाे पहिलाे निर्णय: निशुल्क स्वास्थ बिमा योजना

समाधान संवाददाता २०७९ जेठ १० गते १४:२३

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसंगै प्रमुख÷उपप्रमुखले विभिन्न खाले निर्णय गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले पालिकाका सबै नागरिकको स्वास्थ्य बिमा गर्दा लाग्ने रकमको ५० प्रतिशत पालिकाले गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष विष्णबहादुर केसीले ढिकुरपोखरी स्थित पालिकाको कार्यालयमा सोमबार पदभार ग्रहण गर्दै सरकारले ल्याएको स्वास्थ्य बिमा गर्दा लाग्ने रकमको आधा खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेका हुन् ।

Advertisement

अध्यक्ष केसीको पहिलो निर्णयमा नागरिकको आधारभूत स्वास्थ सेवा सुनिश्चित गर्ने उल्लेख छ । ‘करिब २३ हजार जनसंख्या रहेको पालिकामा ६ हजार ४ सय ६ घरपरिवारलाई प्रतिपरिवार स्वास्थ विमा शुल्क ३ हजार ५ सय लाग्छ,’ अध्यक्ष केसीले भने, ‘जनताको स्वास्थ्यलाई ख्याल गर्दै पहिलो चरणमा स्वास्थ्य बिमाका लाग्ने रकमको ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने छ ।’ अध्यक्ष केसीले आफ्नो कार्यकालमा सबै पालिकाबासीको निशुल्क बिमा गर्ने योजना ल्याउने जानकारी दिए । उपाध्यक्ष चन्द्रकला अधिकारीले अपांग र असहायको सामाजिक सुरक्षाका लागि स्वास्थ परीक्षण र अपांगता परिचयपत्र प्राप्त गरेका व्यक्तिहरुको सेवा, सुविधा घरघरमा पुगेर वितरण गर्ने निर्णय गरेकी छन् ।

उनले अपांग तथा ज्येष्ठ नागरिक, लगायत परिचयपत्र घरदैलोमा पुगेर वितरण गरिने जनाइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले स्वास्थ्य बिमा तथा अपांगको तथ्यांक संकलन लगायतका सबै काम सकेर आगामी आर्थिक वर्षदेखि कार्यक्रम सुरुवात हुने बताए । पालिकामा अध्यक्ष केसी, उपाध्यक्ष अधिकारीसहित ६ वडा नेकपा एमालेले जितेको छ । गाउँपालिकाका वडाध्यक्ष, सदस्यले समेत सपथग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया