धनराजकाे राजनीतिक बाउन्स

सञ्जय रानाभाट २०७९ जेठ ११ गते १३:१९

सञ्जय रानाभाट


पोखरा ।
केही समयअघिसम्म पनि राजनीतिमा पूरै सक्रिय नभएका धनराज आचार्यले नेकपा एकीकृतको गठनसँगै सक्रिय राजनीतिमा पुनरागमन गरेका थिए । २०५४ मा एमाले फुटेर माले बनेपछि धनराज मालेतिर लागेका थिए । पार्टी जुटेपछि उनी पनि एमाले भए । तर पार्टी कमिटीको उल्लेखनीय जिम्मेवारीमा रहेनन् ।


२०५४ मा एमाले फुटेपछिको समयले आचार्यलाई पुस्तक पसल हुँदै पाठ्य पुस्तक प्रकाशनको व्यवसायमा लाग्न प्रेरित ग¥यो । व्यवसायमा छलाङ मार्दै गए । प्रकाशनबाट जलस्रोत आयोजनातिर पनि होमिए । बैंकमा लगानी गरे । पर्यटनमा पनि लागे । एमाले समर्थित उद्यमी व्यवसायीको संस्थामा लागेर पार्टीसँग जोडिइरहे । मूलधारको राजनीतिमा देखिएनन् ।

Advertisement


एमालेलाई माधव नेपाले फुटाएर एकीकृत समाजवादी बनेपछि कास्की जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी लिँदै आचार्य सक्रिय राजनीतिमा पुनरागमन गरे । त्यसको छोटो समयमै पोखराको मेयरको उम्मेदवार मात्रै बन्न पाएनन्, विजयी पनि भए । खासमा उनले राजनीतिमा बाउन्स गरे अर्थात फ्याट्टै ठूलो फड्को मारे ।


सत्ता गठबन्धनबाट देशका ६ महानगरपालिकामा उम्मेदवारको भागबन्डा हुँदा पोखरा एकीकृत समाजवादीको भागमा पर्ने संयोगको फाइदा धनराजलाई भयो । उपमेयरमा कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट पछि पर्दापर्दै एमालेका कृष्ण थापालाई उछिनेर आचार्यले मेयरमा विजय सुनिश्चित गरे । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ल्याएको मत जति पनि एमालेका मेयर उम्मेदवार थापाले ल्याउन सकेनन्् । आचार्यले भने कांग्रेसहित गठबन्धनका दलहरुको र पूर्वपार्टी एमालेकै मतसमेत तान्न सफल भए । धनराजको राजनीतिक कूटिलता र कौशलता नभएको भए एमालेका मत उनीतिर नतानिन सक्थे ।

Advertisement


पूरै मतगणना सकिन ३ हजार ८ सय मत बाँकी हुँदा मंगलबार रातिसम्म धनराजले मेयरका प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई ५ हजार ४ सय ९५ मतले उछिनेका थिए । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले पनि कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ९ सय ९० मतले पछि पारेकी थिइन् ।


मतगणना सुरुदेखि नै एमाले उम्मेदवार थापासँग फराकिलो मतान्तर बनाउँदै गएका मेयर आचार्य कांग्रेस नेताहरुको किचलो थम्थम्याउँदै र एमाले नेताहरुकै साथले जित पक्का गर्न सफल भएको बताइन्छ । पोखरा ३३ भरतपोखरीका ऋतुनाथ र जमुनादेवीका पहिलो सन्तान धनराजको २०२६ चैत १७ गते जन्मिएका हुन् । सानैदेखि कुशल र कुटिल धनराज आफूले चाहेको काम सफल भएकोे उनीनिकटहरु बताउँछन् । बुवा ऋतुनाथ भन्छन्, ‘छोराले गर्न चाहेका र गरेका काम सबै सफल भएका छन् । उसले पछि फर्केर हेर्नुपरेको थाहा छैन ।’


१३ वर्षमा राजनीतिमा प्रवेश गरेका धनराजले ०३९ मा माले निकट अनेरास्ववियुको सदस्यता लिएका थिए । उनले यति नै बेला विद्यार्थीको प्रारम्भिक कमिटीमा बसेर ४ वर्ष काम गरे । राजनीतिमा गरेको मेहनत र लगनशीलताले नै सफलता मिलेको उनका बुबा बताउँछन् । ‘छोराले जहाँ हात हाल्यो, त्यही सफलता हात परेको छ । सबैलाई आदर गर्ने र समेटेर मिलाएर जान सक्ने खूबीले नै छोरो सफल भयो,’ उनी भन्छन् ।


०४४ मा पृथ्वीनारायण क्याम्पसमा तत्कालीन माले निकट अनेरास्ववियुको प्रारम्भिक जिल्ला कमिटी सदस्यदेखि सचिव हुँदै उनी ०४७ मा एमाले निकट अनेरास्ववियुको कास्की जिल्ला अध्यक्ष बनेका थिए । उनी २०५० देखि २०५४ सम्म अनेरास्ववियु पश्चिमाञ्चल प्रमुख थिए ।


पृथ्वीनारायण क्याम्पसमा २०४९ देखि ०५१ सम्म स्ववियु कोषाध्यक्ष संहालेका उनी ०५३ सम्म स्ववियु सभापति चुनिए । धनराजले ०५३ मा स्ववियु काउन्सिल महासचिव भएर काम गरे । ०५२ मा जति बेला उनी एमाले कास्की सदस्य भइसकेका थिए ।
०५४ मा एमालेबाट कृष्ण थापा पोखरा उपमहानगरपालिकाको मेयर हुँदा टिकट दिलाउनदेखि मेयर बनाउनसम्म उनले भूमिका निर्वाह गरेको एमालेका उनका पूर्वसहकर्मीहरु बताउँछन् । थापालाई मेयरमा बन्न सहयोग गर्ने प्रमुख पात्र भने रवीन्द्र अधिकारी थिए । रवीन्द्रका बालसखा हुन् धनराज ।


पार्टीको कोर टिममा बसेर काम गर्नेदेखि रणनीति बनाउन उनी अब्बल मानिन्छन् । रवीन्द्रको चुनावी कमान्ड उनैले सम्हालेका थिए । उनी स्व. रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका महासचिवसमेत छन् ।


त्यतिबेला सिकेको चुनावी रणनीतिक कौशल धनराजले यसपटकको चुनावीमा सफल प्रयोग गरे । अनेक बखेडा निकाल्ने कार्यकर्तालाई मिलाए, कांग्रेस, माओवादी, जसपालाई साथमा लिए । एमालेका वडाध्यक्ष चुनिएका वडाबाट समेत लोकप्रिय मत पाएर उनी मेयर चुनिए ।


०५४ मा बामदेव गौतमले एमाले फुटाएर माले बनाएपछि धनराज र रवीन्द्र सँगै मालेतिर लागे । मालेमा धनराज जिल्ला कमिटी सचिवालय सदस्य थिए । त्यसपछि धनराजले ध्यान व्यवसायलाई दिए । उनले यो बेला आर्थिक अवस्था बलियोमात्र बनाएनन्, विभिन्न क्षेत्रमा स्थापित व्यवसायी बने ।


व्यवसायमा सफलता
धनराजले राजनीतिसँगसगै एमबिए, एमएडसम्म अध्ययन गरे । विद्याथी कालबाट राजनीतिक सुरु गरेका उनी ०५४ पछि व्यवसायमा लागे । पुस्तक पसलबाट सुरु गरेका उनी अहिले प्रकाशन गृह सञ्चालक हुन् । एमालेमै हुँदा उनी हेलो स्टेसनरी चलाउँथे । मालेमा लागेपछि भने उनी फुट टाइम जस्तो व्यवसायी बने । अहिले हाइड्रो पावर, शैक्षिक सामग्री उद्योग, पाठयपुस्तक प्रकाशन गृह, स्कुल–कलेज, रासायनिक मल उद्योग, बैंकिङ कृषि, पर्यटन,, हस्पिटालिटीजस्ता क्षेत्रमा उनी आबद्ध छन् । धनराज नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको महासचिव हुँदै राष्ट्रिय अध्यक्षसमेत बने ।


०५९ माले र एमाले एकीकरण भएपछि उनी नेपाल राष्ट्रिय उद्योग वाणिज्य संघको उद्योग व्यवसाय विभाग प्रमुख भएका थिए । नेपाल सरकारको विज्ञ सदस्य र ०७५ सालमा पोखरा महानगरपालिकाको शिक्षा विज्ञ बनेर उनले काम गरेका छन् ।


आचार्यको राजनीतिक यात्रा ४ दशकमा छ । मेयर बन्न सक्नु उनको राजनीतिक चेत, संयोग उनका सहकर्मीहरु बताउँछन् । आमसभाहरुमा कांग्रेस कार्यकतालाई जय नेपाल भन्नेदेखि पूर्व एमालेका नेता, कार्यकर्तालाई नचिढ्याउने रणनीति उनले लिए । यही कारण उनले एमालेले जितेका वडामा पनि उल्लेख्य मत पाएका छन् । उनी २०१२÷१३ मा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ को क्याबिनेट सेक्रेटरी र २०१७÷२०१८ मा त्यही डिस्ट्रिक्टको गभर्नर बनेका थिए । उनी नेपाल राष्ट्रिय वाणिज्य संघमा २०६९ देखि २०७४ सम्म केन्द्रीय अध्यक्ष थिए । उनी ०७१ देखि ०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र ०७५ देखि ०७८ सम्म नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया