भरतपुर र वीरगञ्जमा गठबन्धनको जित

काठमाडौं, धरान र जनकपुरमा धक्का खाएको गठबन्धन यहाँ भने सफल देखिएको छ

समाधान संवाददाता २०७९ जेठ ११ गते १४:५४

पोखरा ।
भरतपुर र वीरगञ्ज महानगरका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भरतपुर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए ।
दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाएका छन् ।

दाहाल ०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन् । ०३३ असार २३ गते भरतपुर महानगरपालिका १४ भीमसेन नगरमा जन्मिएकी दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुन् । नेपाली, हिन्दी र अंग्रेजी भाषा बोल्न जान्ने दाहाल विसं २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म तत्कालीन संविधानसभा सदस्य थिइन् । हाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव, विसं २०७४ देखि २०७५ सम्म नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो सदस्य, विसं २०६१ देखि २०६३ सम्म नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सहइन्चार्ज भएर काम गरिसकेकी छन् ।

०६४ देखि २०७२ सम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाडौँ सेक्रेटरी, अखिल भारत नेपाली महिला संगठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास तथा देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक काममा सक्रिय थिइन् । भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतान्तरले पराजित गरे । अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गरिन् ।

Advertisement

अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समिति सभापति हुन् । ०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं २१ को वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेता थिए । यस महानगरका २९ वडामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ । वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी बनेका हुन् ।

वीरगञ्ज महानगरको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २ सय १५ मतप्राप्त गरी विजयी बनेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गरे ।

Advertisement

आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५ सय ४४ मतान्तरले पराजित गर्दै सिंह मधेस प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुख चुनिएका हुन् । उपप्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम २५ हजार १ सय ५८ मतसहित विजयी बने । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ६ हजार ७ सय १९ मत पाए ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा ( माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाएको थियो ।

तपाईको प्रतिक्रिया