तनहुँका प्रमुखमा महिला शुन्य, उपप्रमुख ७

समाधान संवाददाता २०७९ जेठ ११ गते १६:३१

पोखरा ।
तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । ०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यस पटकको निर्वाचनमा भने पराजित भइन् ।

नेपाली कांग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यस पटक नेकपा (एमाले)का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन् । १० पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए ।

पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने ७ महिला निर्वाचित हुनुभएको छ । केही पालिकामा भने कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेका कारण महिला नेतृत्वमा पुग्नबाट बञ्चित भएका छन् । कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन् ।

Advertisement

घिरिङ गाउँपालिकाको उपाध्यक्षमा राधादेवी अधिकारी, भिमाद नगरपालिकाको उपप्रमुखमा शारदा खनाल, ऋषिङ गाउँपालिकाको उपाध्यक्षमा गिनुमाया थापा, भानु नगरपालिकाको उपप्रमुखमा उमा गोतामे, व्यास नगरपालिकाको उपप्रमुखमा इन्दिरा दरै, बन्दीपुर गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ, आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित बने ।

२ महिला वडाध्यक्ष
स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा २ महिला वडाध्यक्षमा निर्वाचित भए । विभिन्न पालिकाका उम्मेदवारी दिएका ६ महिलामध्ये २ जनाले मात्रै विजय हासिल गरे । ४ जना भने पराजित बने ।

Advertisement

भानु नगरपालिका १ को वडाध्यक्षमा कांग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भइन् । तामाङले ६ सय ७२ मत प्राप्त गरिन् । आँबुखैरेनी गाउँपालिका ४ मा कांग्रेसको तर्फबाट मिलन भुजेल ४ सय ३३ मत प्राप्त गरी चुनिइन् ।

बन्दीपुर गाउँपालिका ४ मा सीता थापा र बन्दीपुर गाउँपालिका ५ मा रीता तिवारी कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बने पनि जित्न सकेनन् । म्याग्दे गाउँपालिका ६ मा एमालेको तर्फबाट निर्मला वाग्ले वडाध्यक्षमा उम्मेदवार बने पनि पराजित भइन् । शुक्लागण्डकी नगरपालिका ८ को वडाध्यक्षमा कांग्रेसबाट चन्द्रकला भट्टराई उम्मेदवार बने पनि छानिन सकिनन् ।

यसपालि शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् । १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतमे चुनिएका हुन् । विक नेकपा (माओवादी केन्द्र) र गोतमे नेपाली कांग्रेसबाट निर्वाचित बने ।

तपाईको प्रतिक्रिया