सम्पादकीय: मत बदर हुन नदेऊ

समाधान संवाददाता २०७९ जेठ १३ गते ११:५९

स्थानीय तहको निर्वाचन २०७९मा कास्कीका ग्रामिण क्षेत्रका गाउँपालिकाको तुलनामा शहरी क्षेत्रमा बढी प्रतिशत मत बदर भएको छ । कास्कीको रुपा, मादी अन्नपूर्ण र माछापुच्छ्रे को अध्यक्षको भन्दा पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारको मत बढी बदर भएको पाइएको छ । रुपाको अध्यक्षको उम्मेदवारको ४ सय १७ मत अर्थात ४ दशमलब शुन्य ४ प्रतिशत मत बदर हुँदा पोखराको मेयरमा २०हजार ७ सय ८१ अर्थात १४ दशमलब ५२ प्रतिशत मत बदर भएको छ ।

अन्नपूर्णमा अध्यक्षमा ८ सय ९१ अर्थात ६ दशमलब १४ प्रतिशत, मादीको अध्यक्षमा १ हजार १सय ९० मत अर्थात ८ दशमलब ६६ प्रतिशत मत बदर भएको देखिन्छ । माछापुच्छे«मा १ हजार ४ सय १३ अर्थात ९ दशमलब ३३ प्रतिशत मत बदर भएको छ ।
गण्डकी प्रदेश निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणमा पोखराको मेयरमा ८५ दशमलब ४८ प्रतिशत मत सदर हुँदा उपमेयरमा १९ हजार ६ सय ७२ अर्थात १३ दशमलब ७५ प्रतिशत मत बदर भएको छ । जसमध्ये मेयरमा सम्पूर्ण रूपमा बदर मत संख्या ८ सय ९० रहेको छ । उपमेयरमा पूर्ण बदर मत भने रहेको छैन ।

धेरै मत हुँदा जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था आउँछ । कास्कीको मादी गाउँपालिकाको उपाध्यक्षमा त्यस्तो देखिन्छ । त्यहाँ उपाध्यक्षमा २ हजार १ सय ५६ अर्थात १५ दशमलब ६९ प्रतिशत मत बदर भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवारको हसिया हथौडामा जानु पर्ने मत उम्मेदवार नउठाएको नेपाली कांग्रेसको रुखमा मत गएको देखिन्छ ।

Advertisement

कास्की जस्तो शिक्षित र सचेत जिल्लामा मतदाता शिक्षाको अभावमा धेरै मत बदर भएको छ । समयमै मतदाताले पाउनुपर्ने मतदाता शिक्षा दिनमा आयोग चुकेको छ । विगतको निर्वाचनमा घर घरमा गएर मतदाता शिक्षा दिने आयोग यस पटकको निर्वाचनमा औपचारिकतामात्र पुरा गरेको छ । मतदातालाई शिक्षित तथा सचेत बनाउनु पर्ने केही राजनीतिक दलहरुले गठबन्धनका नाममा मतदातालाई थप अन्योल गराए । जसको कारण मतदाताहरूले आफ्नो स्वायत्तताको आधारमा मतदान गर्न पाएनन् । राजनीतिक दलको गठबन्धनका कारण स्थानीय चुनावमा मतदातामाथि एक किसिमको अंकुश लगाउने काम भयो ।

जसको कारण आम मतदातालाई समेत मतदानमा प्रत्यक्ष असर पर्‍यो । मतदाता झुक्कीन्छन भनेर गठबन्धनका नेताहरुले स्वस्तिक छाप लगाएको नमुनामतत्र बाँडे । गठबन्धन गर्ने दलले उम्मेदवारी फिर्ता गर्नेदेखि उम्मेदवारी निस्कृयताको सवाललाई समयमै व्यवस्थापन गर्न नसक्दा मतदातामा अन्यौलता देखियो । त्यस्तै ठुलो आकारको तथा परम्परागत कागजी मतपत्र निकै झन्झटिलो भएको मतदाताको गुनासोलाई आयोगले व्यवस्थापनमा आयोगले ध्यान दिनु पर्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया