प्रतिपक्ष सांसदले भने: बाटो बिराएको बजेटको सिद्धान्त र प्राथमिकता

समाधान संवाददाता २०७९ जेठ १३ गते १८:४४

पोखरा, १३ जेठ

गण्डकी प्रदेश सभामा एमाले सांसद रामशरण बस्नेतले सरकारले लिएको आगामी वर्षको बजेट सिद्धान्त र प्राथमिकतामा सरकार आफै अनभिज्ञ रहेको बताएका छन् । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बिहीबार आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त प्रस्तुत गरेका थिए । उक्त सिद्धान्त र प्राथमिकतामाथि शुक्रबारदेखि छलफल सुरु भएको छ ।

Advertisement


बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा बोल्दै बस्नेतले सरकार आफ्नो अधिकार क्षेत्र, कर्तव्य र दायित्वमै अलमलिएको बताएका हुन् । सरकारका लक्ष्य, प्राथमिकता र सिद्धान्त प्रष्ट भए मात्र गन्तव्यमा पुग्ने उनको भनाइ छ । ‘सरकारले समान विकासको अवधारणामा टेकेर बजेटलाई प्राथमिकता दिन सकेन,’ उनले भने, ‘सानो झुपडी, गरिबी, उत्तरी क्षेत्र, विकट क्षेत्र र बस्तीहरुमा ध्यान सरकारको ध्यान पुग्न सकेको छैन ।’

अघिल्लो सरकारले गरेका राम्रा, महत्वपूर्ण काम आवश्यकताका आधारमा नभई पूर्वाग्रहको आधारमा छुट्याइएकोे सांसद बस्नेतले बताए । जनताको आवश्यकतामा केन्द्रित भएर यो बजेट नआएको उनको भनाइ छ ।

Advertisement


एमाले सांसद विकास लम्सालले सरकारले लिएको बजेटका सिद्धान्त र प्राथमिकता झारा टारेजस्तो भएको बताए । सिद्धान्त र प्राथमिकतामा नयाँपन नआएको पुरानै शैली र पुरानै तरिकामा निर्माण गरिएको उनको भनाइ छ । ‘सिद्धान्त र प्राथमिकता नीति जस्तो देखिन्छ,’ उनले भने, ‘आफूले गर्ने काम र प्राथमिकतामा सरकारले बुझ्न सकेन ।’


एमाले सांसद इन्द्रलाल सापकोटाले बजेटको सिद्धान्त र प्राथमिकताले बाटो बिराएको बताए । विगतको बजेटका सिद्धान्त र प्राथमिकताभन्दा अहिलेको बजेटका सिद्धान्त र प्राथमिकता झुर भएको भन्दै पुनर्विचार गर्न उनले आग्रह गरे ।

एमाले सांसद किरण गुरुङले सम्झे जति, लागे जति सबै कुराहरुलाई समेट्दा मुख्य विषय छुट्न पुगेको बताए । ‘कुन कुराका लागि प्राथमिकता दिइएको छ, ती प्राथमिकता दिने आधारहरु केके होलान् त्यो छलफलको विषय बन्नुपथ्र्यो,’ उनले भने, ‘छलफल नहँुदा लक्ष्यहीन, उद्देश्यहीन कुराहरुमा सरकारले प्राथमिकता दिएको छ ।’

माओवादी सांसद विनोद केसीले सरकारले लिएका बजेटका सिद्धान्त र प्राथमिकता सकारात्मक रहेको बताए । जनताको आधारभूत आवश्यकताहरु बजेटका सिद्धान्त र प्राथमिकतामा समावेश गरेको भन्दै सरकारलाई उनले धन्यवाद दिए । ‘विगतमा लिएका योजना कति पूरा भए, कति पूरा भएका छैनन् यस विषयमा सरकारले ध्यान दिनुपर्छ,’ उनले भने, ‘सरकारले खनिज उत्खनन पहिचान तथा उत्खननको सम्भाव्यता अध्ययन गर्नुपर्छ । सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउन थोरै लगानीमा धेरै प्रतिफल दिन खालको योजना लिनुपर्ने उनको जोड थियो ।


कांग्रेस सांसद प्रकाशचन्द्र दवाडीले बजेटका प्राथमिकता र सिद्धान्त सकारात्मक भएपनि कार्यान्वयन गर्न निकै चुनौती रहेको औंल्याए । अघिल्लो दिनमा आएका बजेट पहुँचको आधारमा भएको भन्दै समान विकासको अवधारणालाई अवलम्वन गर्न सरकारलाइ उनले आग्रह गरे ।

माओवादी केन्द्रकी सांसद दिलमाया रोकामगरले बजेटको सिद्धान्त र प्राथमिकता सकारात्मक भएको भन्दै आफू र आफ्नो पार्टीको समर्थन गरेको बताइन् । दिगो विकासको लक्ष्य पूरा गर्न सरकारले थप बलियो रणनिति बनाएर अगाडि बढ्नुपर्ने उनको तर्क थियो ।

तपाईको प्रतिक्रिया