स्याङ्जा फेदीखोलामा महाविद्यालय, अन्नपूर्णमा बहुसांस्कृतिक ग्राम

अमृत सुवेदी
गण्डकी प्रदेश सरकारले प्राविधिक महाविद्यालय र बहुसांस्कृतिक ग्राम निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सरकाले स्याङ्जा फेदीखोला गाउँपालिका–१ गुर्दुममा प्राविधिक महाविद्यालय र कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ पाउँदुरमा बहुसांस्कृतिक ग्राम निर्माण गर्ने भएको हो ।
गण्डकी प्रदेश सरकारले पहिलो बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेटमार्फत प्रदेश विश्वविद्यालय, प्राविधिक महाविद्यालय स्थापना गर्न प्रारम्भिक अध्ययनका लागि २० लाख रुपैयाँ र बहुसांस्कृतिक ग्राम स्थापना गर्न अध्ययनका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । २ फरक अध्ययन समितिले सरकारलाई प्रास्तावित ठाउँसहित प्रतिवेदन बुझाएका थिए ।
प्राडा गणेशमान गुरुङको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले बुझाएको प्रतिवेदनको आधारमा तनहुँ बेलचौतारामा प्रादेशिक विश्वविद्यालय र स्याङ्जा फेदीखोलाको गुर्दममा प्राविधिक महाविद्यालय स्थापना गर्न सरकारले प्रक्रिया अगाडि बढाएको हो । बेलचौतारमा विश्वविद्यालय खोल्न जग्गा उपलब्ध गराउन नेपाल सरकारलाई माग गर्दै डा. तीर्थबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय विश्वविद्यालय स्वरुप र सञ्चालन ढाँचा अध्ययन कार्यदल गठन भएर काम अगाडि बढिरहेको छ ।
फेदीखोलामा प्राविधिक महाविद्यालय खोल्न गुर्दुमस्थित १ हजार ६ सय रोपनी जग्गा उपलब्ध गराउन मंगलबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले नेपाल सरकारसँग अनुरोध गरेको छ ।
‘प्राण गणेशमान गुरुङ नेतृत्वको समितिले बुझाएको प्रतिवेदनकै आधारमा फेदीखोला गुर्दुममा प्राविधिक महाविद्यालय खोल्न जग्गा प्राप्तिका लागि नेपाल सरकारलाई अनुरोध गर्ने मन्त्रिपरिषदको निर्णय भएको हो,’ सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्, ‘प्राविधिक विषय पढाउने सरकारको आफ्नै महाविद्यालय खोल्ने नीति तथा कार्यक्रममै भनिएको थियो ।’
सरकारले प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय खोल्न यो आर्थिक वर्षमा १÷१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जग्गा प्राप्तिसँगै बिस्तृत सम्भाव्यता अध्ययन गरी काम काम थाल्ने गरी यो बजेट विनियोजन गरिएको हो । प्राविधिक महाविद्यालय स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिए पनि शिक्षालयको रुपमा यसलाई विकास गरिने मन्त्रालयको योजना छ । आफ्नै प्राविधिक शिक्षालय स्थापना गरी प्रदेशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारमा लगाउने लक्ष्यसहित गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले योजना अगाडि सारेका हुन् ।
सरकारले बहुसांस्कृतिक ग्राम स्थापनाका लागि ठाउँ पहिचान र प्रारम्भिकक अध्ययनका लागि प्राडा जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यी अध्ययन समिति गठन गरेको थियो । हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका गुरुङको संयोजकत्वमा गठित समितिले बहुसांस्कृतिक ग्राम खोल्न कास्कीकोट, पाउँदुरकोट, ठूलाकोट र साल्मेडाँडा सिफारिस गरेको थियो ।
त्यसमध्येबाट अन्नपूर्ण गाउँपालिकाको पाउँदुरकोटमा उपयुक्त हुने भन्दै मन्त्रिपरिषदको बैठकले सोही ठाउँमा रहेको ७ सय रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग अनुरोध गरेको हो । बहुसांस्कृतिक ग्रामको सम्भाव्यता अध्ययनसहित काम थाल्ने गरी १ करोड रुपैयाँ बजेट सरकारले विनियोजन गरेको छ ।
‘प्रदेशका बुहसांस्कृतिक पक्षलाई झल्काउने गरी ग्राम स्थापना गर्ने र पर्यटकलाई आकर्षित गर्ने तथा संस्कृति अध्ययनको एउटा थलाको रुपमा विकास गर्ने सरकारको लक्ष्य हो,’ सामाजिक विकास मन्त्री पुनले भनिन्, ‘सांस्कृतिक ग्राममा प्रदेशका सबै संस्कृति, पहिचान झल्किने गरी ग्राम स्थापना गर्ने र बिस्तृत अध्ययनका लागि सम्बन्धि गाउँमा पठाउने लक्ष्य हो ।’
उपचारमा १५ हजारसम्म सहुलियत
गण्डकी प्रदेश सरकारले अपांगता भएका व्यक्ति, अशक्त, गरिब, गर्भवतीलाई सहुलियत प्रदान गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुको उपचारमा सहुलियत प्रदान गर्ने कार्यविधि पारित गरेको छ ।
अपांगता भएका व्यक्ति, अशक्त, गरिब, गर्भवतीलाई उपचारमा बढीमा १५ हजार रुपैयाँ र आते–जातेमा बढीमा ५ हजार रुपैयाँसम्म सहुलियत दिने गरी कार्यविधि तयार गरेको छ । सिफारिस समिति बनाएर त्यसका आधारमा निश्चित उपचार तथा यातायातमा सहुलियत दिने गरी कार्यविधि तयार गरिएको छ ।
प्रदेश विकास परिषद गठन
गण्डकी प्रदेशका योजना कार्यान्वयन र नीति निर्माणका लागि प्रदेश विकास परिषद गठन हुने भएको छ । विभिन्न क्षेत्रका व्यक्तिलाई समेटेर परिषद गठन गर्ने प्रक्रिया अगाडि बढेको छ ।
प्रदेश नीति तथा योजना आयोग मातहत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी १ सय १७ सदस्यीय परिषद गठन गर्ने तयारी भएको हो । परिषद गठनका लागि प्रदेश नीति तथा योजना आयोग गठन तथा सञ्चालन कार्यविधि परिमार्जन गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
परिषदको अध्यक्ष मुख्यमन्त्री र उपाध्यक्ष योजना आयोगका उपाध्यक्ष नै रहने गरी परिमार्जन गर्न लागिएको प्रदेश प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए । परिषदले सबै क्षेत्रलाई समेट्ने गरी नीति तथा योजना कार्यान्वयनमा सघाउ पुर्याउने छ ।
सञ्चार ग्रामका लागि जग्गा माग
गण्डकी प्रदेश सरकारले सञ्चार ग्राम स्थापना गर्दैछ । त्यसका लागि रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र मालेपाटनको हाताभित्र रहेको जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग मन्त्रिपरिषदले माग गर्ने निर्णय गरेको छ ।
प्रदेशभित्रको सञ्चार सम्बन्धी सबै गतिविधि र कार्यक्रम कार्यान्वयनका लागि सञ्चार ग्राम स्थापना गर्न लागिएको प्रमुख सचिव पौडेलले जानकारी दिए । रेडियो नेपाल हाताभित्रको १५ रोपनी जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग माग गरिएको हो ।
तिब्बती नाकाबाट सडक खन्न अनुमति माग
तिब्बतसँग जोडिएको गोरखाको उत्तरी नाका रुइला भञ्ज्याङसम्म सडक पु¥याउन चीनको बाटो प्रयोग गर्नुपर्ने भएकाले अनुमति लिइदिन प्रदेशले नेपाल सरकारसँग अनुरोध गरेको छ । तिब्बततर्फ रुइला भञ्याङसम्म सडक आइपुगिसकेको छ । तिब्बतसँग जोडिएको ३५ नम्बर पिल्लर रहेको रुइला भञ्ज्याङदेखि गोरखातर्फ सडक निर्माण बढाउन चीनको बाटो प्रयोग अनुमति मिलाइदिन प्रदेशले अनुरोध गरेको हो ।
गोरखाको आरुघाट, आर्खेत, माछेखोलासम्म नेपाली सेनाले बाटो पुर्याइसकेको छ । यताबाट नेपाली सेनाले सडक खनिरहेको र चीनको बाटो प्रयोग गरेर निर्माण समाग्री ल्याएर रुइला भञ्ज्याङबाट पनि खडक खन्न सहमति आवश्यक परेको भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए । गोरखाको उत्तर गाउँ साम्दोसम्मको साढे ९ किलोमिटर सडक खन्ने काम अगाडि बढाइएको मन्त्री बस्नेतले जानकारी दिए ।
तिब्बतको साँध ३५ नम्बर पिल्लरदेखि गोरखातर्फ ३१ किलोमिटर सडकको ट्रयाक खोल्न यो वर्ष डिपिआर भइसकेको मन्त्री बस्नेको भनाइ छ । बस्नेतका अनुसार आरुघाटदेखि करिब १ सय ७४ किलोमिटर सडक खुलेपछि तिब्बतको नाकासँग जोडिने छ । यो नाका छोटो र व्यापारिक हिसाबले पनि उपयुक्त हुने मन्त्री बस्नेतको भनाइ छ ।
चीनतर्फबाट मेसिनरी यन्त्र र निर्माण सामग्री ल्याएर निर्माण थाल्ने र माछेखोलाबाट पनि नेपाली सेनाले बाटो खनिरहेकाले छिटो नाका जोड्ने लक्ष्यसहित काम अगाडि बढाउन नेपाल सरकारलाई सहमतिका लागि अनुरोध गरिएको बस्नेतले बताए । यो नाका खुलेपछि आरुघाटतर्फ र लमजुङतर्फबाट पनि प्रयोग गर्न सकिने छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया