अपडेट :जहाज दुर्घटना क्षेत्रबाट १० शव बेसी झारियो

सुन्दरकुमार थकाली २०७९ जेठ १६ गते १५:१९

जोमसोम–
आईतबार तारा एअरको जहाज दुर्घटनामा परेका १६ यात्रुको शव मध्ये १० जनाको शव मुस्ताङको थासाङ–२ को कोवाङ गाउँमा झारिएको छ। अन्य शव पनि मानापाथी हिमालको सानोसरे स्थानबाट फिस्टेल एअर र कैलाश एअरको माउन्टेन २ वटा हेलीले कोवाङमा झार्ने क्रम भईरहेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए ।
अहिले समुन्द्री सतहदेखि ४५ सय मिटरको उचाईमा अवस्थित सानोसरे पहाडबाट जम्मा गरिएका १० जना व्यक्तिको शवको प्रहरीले मुचुल्का गर्ने कामलाई अघि बढाएको वडाध्यक्ष शेरचनले बताए ।‘भेटिएका १६ शव मध्ये १० शव आईसक्यो,६ वटा आउँदैछन्,वडाध्यक्ष शेरचनले भने,‘ शवको मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरेपछि बेसी झारिएका शव सेनाको हेलिकोप्टरले काठमान्डौ लैजाने तयारी छ ।’
पछिल्लो पटक थप २ शव भेटिएपछि जहाजमा यात्रा गर्ने १६ जनाको शव संकलन भईसकेको सशस्त्र प्रहरी नायव उपरिक्षक मोहनजंग कार्कीले जानकारी दिए ।
जहाज दुर्घटनामा परेका अन्य यात्रुको खोजी गर्ने क्रममा पानापाथी हिमालको क्षेत्रमा वर्षा भईरहेकाले दिउँसो १ः४५ बजेबाट शव खोजी गर्ने स्थगित भएको सशस्त्र प्रहरी नायव उपरिक्षक कार्कीले उल्लेख गरे ।
अहिले जहाज दुर्घटना स्थलमा सशस्त्र प्रहरी ,नेपाली सेना र प्रहरीको टोली घटना स्थलमा पुगेर शव खोजी तथा संकलन गर्ने काम स्थगित गरेको र वर्षा रोकिएपछि पुनः शव खोजी गर्ने कार्यलाई निरन्तता दिने प्रहरी नायव उपरिक्षक रामकुमार दानीले जानकारी दिए ।
आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १०ः१० मिनेटमा सम्पर्कविहीन भएको थियो ।जहाज थासाङको मानापाथी हिमाल स्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । जहाजमा यात्रा गरेका यात्रुको शव एकै ठाउँमा जम्मा गरिएको थियो । बाँकी ६ वटा शव खोज्न बाँकी छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया