पोखराको जिम्मेवारी लिन्छौंः कांग्रेस

समाधान संवाददाता २०७९ जेठ १६ गते २०:३८

पोखरा, १६ जेठ
नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले जनताले गठबन्धन र कांग्रेसलाई पोखराको नेतृत्व दिएकाले त्यो जिम्मेवारी पूरा गर्ने जनाएको छ ।

महानगर कार्यपालिकामा प्रष्ट बहुमत दिएर पोखरेलीले पोखरालाई विकासलाई नयाँ उचाइमा लैजाने जिम्मेवारी नेपाली कांग्रेसलाई दिएको सोमबार कांग्रेस महानगर कार्यसमिति सचिव गणेशबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

‘२३ वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार विजय गराउनु भनेको पोखरा सहर आगामी ५ वर्ष नेतृत्व गर्न नेपाली कांग्रेसलाई पोखरेली जनताले जिम्मेवारी दिएको प्रष्ट छ,’ विज्ञप्तिम भनिएको छ । यो जिम्मेवारीलाई कांग्रेसले गम्भीरताका साथ निर्वाह गर्ने थापाले बताए । जनप्रतिनिधिले दलले आफूहरुलाई प्रतिनिधिका रुपमा पठाएको हो भन्ने आत्मसात गरी जनहितको जिम्मेवारीमा खटिने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ ।

Advertisement

जनप्रतिनिधिका थाप्लामा मात्रै जिम्मेवारी सुम्पेर पार्टी अलग नहुने जनाउँदै कांग्रेसले जनप्रतिनिधिलाई सघाउने र थप उत्तरदायी बनाउन अनुगमन÷निगरानी गर्ने दायित्व निर्वाह गर्ने प्रणसमेत गरेको छ । नगरवासीको सहयोगबिना जनप्रतिनिधि र पार्टीले मात्र उद्देश्य पूरा गर्न असम्भव भएकाले सबैको सहयोगको अपेक्षा कांग्रेसले गरेको छ ।

विज्ञप्तिमा निर्वाचन सफल बनाउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापनसमेत गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया