घरको धुवाँले वर्षेनी २२ हजारको मृत्यु

पोखरा ।
नेपाल ऊर्जा प्रतिष्ठान, क्लिन कुकिङ एलाइन्स नेपाल काठमाडौं र गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेश कमिटीले बजेटमा खाना पकाउने सफा ऊर्जा र नीतिगत सवालमा छलफल आयोजना गरे । कार्यक्रममा नेपाल ऊर्जा प्रतिष्ठानका अध्यक्ष डिल्ली घिमिरेले नेपालमा खाना पकाउन अझै पनि परम्परागत अर्थात् फोहोरी उर्जाको प्रमुख स्थान रहेको बताए ।
दाउरा, गुईठा र कृषिजन्य वस्तु नै खाना पकाउने प्रमुख ऊर्जा स्रोतको रुपमा प्रयोग भइरहेको जानकारी दिँदै उनले अझै पनी ६९ प्रतिशतभन्दा बढी खाना पकाउने ऊर्जा परम्परागत स्रोतबाट प्राप्त हुने गरेको उल्लेख गरे । विश्व स्वास्थ्य संगठनले दूषित वातावरणमा खाना पकाउनाले घरभित्रको धुवाँका कारण नेपालमा वर्षेनी २२ हजार मानिसको ज्यान गइरहेको उनले जानकारी दिए । उनले सहरी क्षेत्रमा अझै पनि ७२ प्रतिशत फोहोरी ऊर्जाको प्रयोग भएको दाबी गरे । उनले घरभित्रको प्रदूषणबाट हुने मानवीय क्षतिको पीडा भुल्न नसकिने उल्लेख गरे ।
घिमिरेले धूवाँका कारण वर्षेनी मुत्यु हुनेको संख्या घटाउनका लागि ध्यान दिनुपर्ने बताए । विद्युतीय चुलोमा खाना पकाउने पहुँचले महिलाको स्वास्थ्य सुधार, समयको बचत र वातावरणमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । विद्युतीय चुलोको प्रवद्र्धन गर्न नीतिगत सुधारमार्फत वातावरणीय स्वास्थ्यमा परिवर्तन गर्न सकिने उनले औंल्याए ।
‘दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा सबै नागरिकलाई आधुनिक ऊर्जामा पहुँच पुर्याउने लक्ष्यअघि सारिएको छ,’ उनले भने, ‘राष्ट्रिय लक्ष्य र दिगो विकास लक्ष्यको प्रतिवद्धता पूरा गर्न खाना पकाउने ऊर्जालाई सफा ऊर्जामा रुपान्तरण गरी दिगो सुलभ र आधुनिक उर्जा सेवामा पहुँचको ध्येय राख्नु पर्छ ।’ नेपालमा पछिल्ला वर्षदेखि आयातीत एलपिजी ग्यासको प्रयोग पनि बढ्दो छ । उनले सन २०२०-०२१ मा भारतबाट ३४ अर्बको सिलिन्डर ग्यास आयात भएको तथ्यांक पेश गरे ।
गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मीले इण्डक्सन चुलोको अवधारणा राम्रो भएता पनि धेरैजसो नेपालीको क्रयशक्तिले नधान्ने तर्क गरे । उनले विद्युतीय चुलो लगायत खाना पकाउने आधुनिक ऊर्जाक लागि कार्यविधि बनाएर अनुदानको व्यवस्था गर्नु पर्ने सुझाव दिए । नेपाल सरकारका पूर्व सहसचिव पुरुषोत्तम घिमिरेले विदेशी मुद्रा तिरेर ल्याउने ऊर्जालाई घटाउनु पर्ने प्रस्ताव गरे । पछिल्लो १० महिनामा ५२ अर्बको एलपिजी ग्यास आयात भएको जानकारी दिँदै उनले ऊर्जामा आत्मनिर्भर बन्न उचित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्लिन कुकिङ एलाइन्स नेपालका प्रतिनिधि करुणा बज्राचार्यले नेपालमा विद्युतीय चुलो सम्भव भएको बताइन् । कार्यक्रममा गैसस महासंघ नेपाल गण्डकीका कार्यवहाक अध्यक्ष पदमराज पहारी, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी अध्यक्ष कालीदास सुवेदी, इन्सेक गण्डकी संयोजक शिव खकुरेल, सामुदायिक विद्युत उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका सचिव डिलकुमार भुजेल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया