मेनकाजी–मिरा स्मृति कक्ष उद्घाटन

पोखरा ।
कोरोना महामारीका कारण गत वर्ष निधन भएका संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी एवं हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ र उनकी पत्नी मिराको स्मृतिमा मेनकाजी मिरा स्मृति कक्ष बनेको छ । पोखरा ९ पुरानो बसपार्क स्थित हिमाली साँस्कृतिक परिवारको भवनमा बनेको स्मृति कक्ष मेनकाजीको प्रथम वार्षिकीका दिन पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरे ।
मेनकाजी र मिराले सञ्चालन गरेको कञ्चनजंगा होस्टेलका पूर्व विद्यार्थीहरु लक्ष्मी गुरुङ र आरती गुरुङको विशेष पहलमा संकलित ६ लाख ३३ हजार ५३ रुपैयाँ र हिमाली साँस्कृतिक परिवारको ८ लाख रुपैयाँ लागतमा स्मृति कक्ष बनाइएको हो । गत वर्ष जेठ १७ गते कोरोनाका कारण मेनकाजी र जेठ १ गते मिराको उपचारकै क्रममा निधन भएको थियो ।
कार्यक्रममा वडाध्यक्ष मर्सानीले लोकसंस्कृति क्षेत्रका नक्षत्र, वडा नं.९ कै गहनको रुपमा रहेको संस्था हिमाली सांस्कृतिक परिवारका अध्यक्ष गुरुङले निधनले ठूलो क्षति पुगेको बताए । हिमाली सांस्कृतिक परिवारका सल्लाहकार हुमबहादुर गुरुङले मेनकाजीको निधनले मुलुकले लोक संस्कृतिको धरोहर गुमाएको उल्लेख गरे ।
मेनकाजीको स्मृतिमा ३५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । उक्त कोषको वार्षिक ब्याजबाट अग्रज कलाकार सम्मान, क्रियाशील कलाकारलाई पुरस्कार र लोक संस्कृतिको संरक्षण विकास गरिने बताइएको छ । कार्यक्रममा पोखरा ९ का जनप्रतिनिधिलाई बधाई ज्ञापन गरिएको थियो ।
संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममासहसचिव मनबहादुर गुरुङ र सचिव श्रीजंग गुरुङले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया