‘बजारमा पाइने अमिलो नखानुस्’: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय
पोखरा ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले बजारमा किनेर अमिलो प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरेका हुन् । बिहीबार आयोजित कार्यक्रममा उनले बजारमा गुणस्तरीय अमिलो कम पाइने भएकाले अमिलो खान कम गर्न सुझाए ।
‘बजारमा अनुगमनमा हिँड्यो गुणस्तरीय सामन पाउनै मुस्किल छ । त्यसमा पनि अमिलोमा गुणस्तर हीन सामग्री हालेर बिक्री वितरण गरेको भेटिएको छ । यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्छ । क्यान्सर जस्ता दीर्घ रोगसमेत लाग्न सक्छ,’ बरालले भने ।
उनले बजारमा भेटिएको अमिलोमा ध्वासो, जलाएको परालको भुस जस्ता हानिकारक पदार्थ भेटिएको उल्लेख गरे । ‘सकेसम्म त म अमिलो नखानुस् भन्छु,’ बरालले भने । उनले बजारमा पाइने अमिलो भन्दा बोटमा फलेको कागती खान अनुरोध गरे । बरालले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आफ्नै ल्याब तयार गरिरहेको जानकारीसमेत दिए ।
खाद्य मेलामा अनुगमन
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पोखरामा विभिन्न कार्यक्रम गर्दै होटल, रेष्टुरेन्ट तथा उद्योगमा अनुगमन अनुगमन गर्ने भएको छ । कार्यालयका प्रमुख बरालले ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस २०७९ मनाइने जनाए ।
उनले खाद्य स्वच्छताबारे आम उपभोक्तामा मेलाले चेतना बढाउने अपेक्षा गरे । ‘यो मेलामा हामी बजार अनुगमन तीव्र पछौं । उपभोक्ताको स्वाथ्यमा खेलवाड गर्नेलाई कारबाही गर्छाैं,’ उनले भने, ‘प्रदेशमै ल्याबमार्फत गुणस्तर चेक जाँच गरी कानुनी दायरामा ल्याउँछौं ।’
कार्यालयले जेठ १८ गतेबाट सुरु गरेको मेला २४ गतेसम्म चल्नेछ । यो मेलामा होटल तथा उद्योग अनुगमन, उपभोक्तालाई सचेतना, होटेल रेस्टुरेन्ट अनुगमन निरीक्षण र बजार अनुगमन गर्ने जनाइएको हो । खाद्य स्वच्छता काययम गर्न आर्थिक वर्षमा खाद्य ऐन अनुरुप १ सय १९ वटा खाद्य नमुना संकलन गरी परीक्षणका लागि पठाइने भएको छ । बरालका अनुसार हालसम्म कार्यालयबाट ४३ नमुना परीक्षण गर्न पठाइएकोमा ४ वटा नमुना प्रतिकूल पाइएका छन् ।
तपाईको प्रतिक्रिया