तनहुँका ८ पालिकाका कार्यपालिका पूर्ण

समाधान संवाददाता २०७९ जेठ २० गते १२:०१

पोखरा ।
तनहुँका १० स्थानीय तहमध्ये ८ स्थानीय तहमा कार्यपालिकाले पूर्णता पाएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका ८ पालिकामा कार्यपालिकाले पूर्णता पाएको हो । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा कार्यपालिका सदस्य चयन हुन बाँकी छ ।

बिहीबार भानु नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचित भएका छन् । कार्यपालिकामा नेपाली कांग्रेसका ७ र नेकपा (एकीकृत समाजवादी)का १ जना निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन नभए पनि कार्यपालिका सदस्यमा भने एकीकृत समाजवादीले पनि भाग पाएको छ ।

दलित÷अल्पसंख्यकतर्फ एकीकृत समाजवादीबाट राजु सुर्खाली कार्यपालिका सदस्यमा निर्वाचित बने । कांग्रेसबाट रविन भुजेल र धनबहादुर विक निर्वाचित भए । निर्वाचित वडा सदस्यबाट महिलातर्फ वृन्दा रानाभाट, प्रविना थापा, सावित्रा सुनार, सकिना खातुन र शान्ता लम्साल छन् ।

Advertisement

भिमाद नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाइसकेको छ । कार्यपालिकाले पूर्णता पाएकामध्ये भानु, देवघाट, म्याग्दे, ऋषिङमा कांग्रेसको बहुमत पुगेको छ भने बन्दीपुरमा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनको बहुमत पुगेको छ । भिमाद र घिरिङमा नेकपा (एमाले)को तथा आँबुखैरेनीमा नेकपा (माओवादी केन्द्र)को एकल बहुमत पुगेको छ ।

व्यास नगरपालिकाको कार्यपालिका चुनावका लागि भने कार्यतालिका प्रकाशित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यपालिका सदस्य निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरेको हो । तालिका अनुसार यही जेठ २१ गते मनोनयन र २५ गते मतदानको कार्यतालिका छ ।

Advertisement

तपाईको प्रतिक्रिया