
सुन्दरकुमार थकाली।
जोमसोम ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एन–एइटी जहाज निर्धारित समयमा अवतरण भएन । दुर्घटनाको हल्लीखल्ली मच्चियो । यो घटना हो, गत आइतबारको । छिनभरमै जहाज थासाङ क्षेत्रमा दुर्घटना भएको भन्ने हल्ला र समाचार व्यापक हुन थाल्यो ।
‘म्याग्दीको आकाशबाट क्रस गरेको उक्त जहाज एकाएक कता गायब भयो ?, कता खस्यो ?’ ठाउँको यकीन हुन सकेन । जोमसोम र थासाङक्षेत्रमा जहाज हराएको भन्दै विभिन्न माध्यमबाट फोन सम्पर्क गर्ने प्रयास भयो । सोही जहाज हराएको खबर आइतबार बिहान ११ बजे गाउँको साथीको मोबाइलबाट थाहा पाए, बागलुङ बडीगाउँ गाउँपालिका–७ भिङगिठे असारेका २४ वर्षीय तन्नेरी युवा, विशाल घर्ती मगरले ।
विशालले आफ्नो गोठबाट डेढ घण्टा पर सानोसरे पहाडमा जहाज दुर्घटना भएको ठाउँ देखे । उनको होस हवास उड्यो । कारुणिक दृश्य देखेर उनका आँखा रसाए ।
विशाल त्यस दिन यार्सागुम्बा टिप्न गएका थिए । उनलाई कोबाङमा रहेका भेनाले पनि जहाज हराएको विषयमा जानकारी गराएकाले ‘पक्कै पनि जहाज दुर्घटना भयो’ भन्ने विश्वास उनले गरे । तर, कता खस्यो ? त्यस दिन पत्ता लगाउन सम्भव थिएन । थासाङको धौलागिरि र मानापाथी हिमालको फेदमा बाक्लो हुस्सु र बादल मडारिएको थियो । नजिकै दृश्यसमेत देख्न सक्ने अवस्था थिएन ।
जहाज हराएको खबर सुने पनि यार्सा टिप्न तल्लीन उनीहरू जहाज दुर्घटना भएको ठाउँबाट डेढ घण्टा माथि उचाइमा थिए । उनीसँग भान्जा र अर्को साथी श्यामलाल नेपाली थिए । अहिले जहाज खसेको ठाउँ र उनको गोठ रहेको ठाउँ झन्डै डेढ घण्टा पैदलको फरकमा पथ्र्यो । बाग्लुङका विशालले त्यसदिन जहाज पड्किएको जस्तो आवाज सुनेका थिए । तर, केको आवाज हो भन्ने एकिन गर्न सकेका थिएनन् । जहाज हराएको भन्ने सुने पनि आवाज आएको ठाउँको अन्दाज उनले गर्न सकेनन् ।
त्यस दिन उनीहरू यार्सा टिप्न छोडेर गोठमा आइबसे । थासाङ–३ लेतेका सुमित गौचन जोमसोममा थिए । जहाज हराएको थाहा पाएपछि उनी कोवाङ माथिको लेकमा हानिए । उनले तारा एअरका जोमसोम प्रतिनिधि सूचन लालचनको जिपिएस ट्रयाकिङको आधारमा राति बतासे डाँडा पुगे । अहिले दुर्घटना भएको ठाउँको दुई डेढ घण्टा पर यार्सा टिप्नेको गोठ देखे । तर, विशालको गोठ केही पर अनि माथि थियो । राति अबेर गोठ पुगेका सुमितले यसै क्षेत्रमा जहाज हराएको बेली विस्तार विशाललगायतको अन्य टोलीलाई लगाए ।
कोवाङबाट झन्डै ७ घण्टाको दूरीमा गोठ पुगेका सुमित निकै थकित थिए । भोकाएका उनी यार्सा टोलीसँग चाउचाउ मागेर खाए । त्यसपछि सुमितले विशालसहितको यार्सा टोलीलाई एकै ठाउँमा राखेर भोलि बिहानैदेखि जहाज खोज्ने बिफ्रिङबारे गरे । सुमितले विशालको टोलीलाई ‘जहाज यतै कता खसेको हुनुपर्छ । कोही जीवित होलान् उद्धार गर्नुपर्छ है भाइ हो,’ भने । भोलिपल्ट यार्सा टिप्ने टोली समूह–समूह बनाएर जहाज खसेको ठाउँ पत्ता लगाउन हिँडे । विशाल भने बिहानै उठेर एक्लै जहाज खसेको ठाउँ पत्ता लगाउन हिँडे । विशालले आफ्नो गोठबाट डेढ घण्टा पर सानोसरे पहाडमा जहाज दुर्घटना भएको ठाउँ देखे । उनको होस हवास उड्यो । कारुणिक दृश्य देखेर उनका आँखा रसाए । चारैतिर बादल लागेको थियो ।
सुरुमा आत्तिएका उनी साथीलाई चिच्याएर कराउँदै जहाज खसेको ठाउँतिर बोलाए । ‘जहाज खसेको माथितिर दाइहरू थिए । मैले बोलाएपछि उनीहरू १५ मिनेटमा त्यहाँ आए,’ विशालले भने । कुनै निर्वस्त्र त कुनै टाउको, हातखुट्टा त कसैको शरीर क्षतविक्षत भएको सम्झिए । ‘सबै साथीहरू आएपछि कोही जिउँदो छन् कि भनेर यततत्र खोज्यौं । तर, कसैलाई जिउँदो भेटेनौं,’ उनले भिनाजुलाई खबर गरे । उनका भिनाजुले कोबाङ चौकीलाई फोन गरे । विशालले भने, ‘मेरो जानकारीलाई पत्याएनन् । फोटो पठाउनु भने । मैले २÷३ वटा फोटो पठाइदिए । त्यसपछि मात्र मेरो कुरामा विश्वास भयो ।’
जहाज दुर्घटना भएको स्थान सुरुमा देखेका विशालको फोन त्यसपछि २ घण्टासम्म व्यस्त रह्यो । उनलाई काठमाडौं, पोखरा र जोमसोमबाट विभिन्न निकायले दुर्घटना स्थलको बारेमा जानकारी मागे । दुर्घटनास्थल पहिचान भएको केहीबेरपछि एक इन्सपेक्टर, नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसियसनका ४ टोली र उनीहरू मिलेर त्यहाँको ७-८ वटा शव संकलन गरे । त्यसपछि अन्य सुरक्षा टोली आएर उद्धारमा खटिए । ‘सुरक्षा निकायको ५०-६० जनाको टोली आइसकेपछि हामी दिउँसो ३ बजेतिर गोठमै फर्कियौं,’ उनले भने ।
यसरी जहाज दुर्घटना भएको स्थान पत्ता लगाएका विशाल मुस्ताङमा विगत ३ वर्षदेखि लगातार यार्सा टिप्दै आएका छन् । उनी यसपटक पनि वैशाख १८ गते बाग्लुङबाट यार्सा टिप्न भान्जा सञ्जय रजालीलाई साथै लिएर मुस्ताङ आएका थिए ।
२०७५ सालमा प्लस टुको परीक्षा दिएर बसेका विशाललाई एक विषय ब्याक लाग्यो । तर, उनले त्यो विषयको परीक्षा दिएनन् । पोखरा बालमन्दिरमा पढेका बाग्लुङका विशाल त्यसपछि आफ्नो पढाइ त्यत्तिकैमा बिट मारे ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया