पोखराका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकास लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिम उद्घाटन कार्यक्रममा शनिबार उनले पोखरा प्रदेशको राजधानीमात्र होइन, पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसगै अगाडि बढ्नुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री पोखरेलले भने, ‘पोखरा प्रदेशको राजधानीमात्र होइन, पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीले नै हो । पोखरालाई राम्रो बनाएर आउने नेतृत्वलाई सुम्पने यही समूहले हो । सोचौं कसरी त्यो लक्ष्यलाई पूरा गर्न सकिन्छ ।’
पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा पछि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले थपे, ‘हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ ।’
हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ, त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ
कृष्णचन्द्र नेपाली
मुख्यमन्त्री, गण्डकी प्रदेश
अबको पोखरा कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन, मादी र आँधी बीच अनि त्यस वरपरको भूभागको विकासका लागि पोखराले चासो देखाउनुपर्ने उनको भनाइ थियो । स्टाटेलाइट सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव नभएको जनाए । त्यसका लागि लागि वृहत पोखराको परिकल्पना गरिएको उनले बताए ।
पोेखराका पर्यटकीय गन्तव्यमा पूर्वाधार थपेर शुल्क उठाउने विषयमा, बसपार्क, सार्वजनिक शौचालय निर्माणदेखि व्यवस्थित यातायातका लागि प्रदेश सरकार र पोखरा महानगरपालिकाबीच समन्वय हुन सक्ने उनको भनाइ छ । फेवातालको मापदण्ड र संरक्षणको विषय जहिल्यै पनि इश्युका रुपमा आइरहेको र यसका लागि सर्वोच्चले प्रष्ट आदेश दिइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले यसमा पनि महानगर र प्रदेश सरकार मिलेरै अगाडि बढ्न जरुरी रहेको बताए ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको छ । ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी छ । यसका लागि हामी महानगरको नेतृत्वसँग बारम्बार छलफल भइरहेको मुख्यमन्त्री पोखरेलले बताए ।
पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर अझै चनाखो हुनुपर्ने सुझाव उनले दिए । उनले भने, ‘महानगर आफैं र पोखरा उपत्यका नगर विकास समितिको नाममा धेरै जग्गा छ, त्यसको उपयोगिताका लागि अब योजना बनाउन ढिला गर्नु हुँदैन ।’
कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, माओवादी केन्द्र अध्यक्ष बखानसिंह तमु र नेकपा एसका कावा अध्यक्ष खड्ग हमालले महानगरको नेतृत्वले पोखरेलीको सपनालाई साकार पार्न लाग्नुपर्ने बताए ।
मेयर धनराज आचार्यले २ दिनसम्म चल्ने नेतृत्व विकास तालिममा महानगरका जनप्रतिनिधि र महाशाखा, शाखा प्रमुखलाई ५ समूहमा विभाजन गरिएको बताए । अभिमुखीकरणमात्र नभएर अन्तरघुलनका लागि यस्ता कार्यक्रम प्रभावकारी आवश्यक रहेको उनले बताए ।
पूर्व राजदूत महेश दाहाल, अभियन्ता निपेष ढाका, रञ्जीत आचार्य, रवीन कटुवाल र खीमलाल सापकोटाले तालिम गर्ने छन् । सहभागीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराइएको थियो । अब चुनाव सकिएकाले कार्यपालिकामा पक्ष विपक्ष कोही पनि नरहेको र अब पोखराको विकासको एक मात्र लक्ष्य लिएर अगाडि बढ्ने उनको भनाइ छ । उपमेयर मञ्जुदेवी गुरुङले विभेदरहित न्यायपूर्ण, समुन्नत पोखरा बनाउने लक्ष्यका साथ अगाडि बढेको बताइन् ।
तपाईको प्रतिक्रिया