सम्पादकीय: संवेदनशील हवाई यात्रा

समाधान संवाददाता २०७९ जेठ २२ गते १२:१३

नेपालमा जहाजको सेवा सुरु भएको ७० वर्ष भइसक्यो । यसबीचमा सयभन्दा बढी हवाई जहाज र हेलिकोप्टर दुर्घटना भएका छन् । तीमध्ये सर्वाधिक बढी दुर्घटना पोखरा-जोमसोम रुटमा भएको देखिन्छ । हाेला कि जिल्लाकै आधारमा हेर्दा धेरै दुर्घटना सोलुखुम्बुमा भएका छन् । ती फरकफरक रुट र ठाउँमा भएका हुन् । तर पोखरा र जोमसोम उडानमा भने ८ वटा दुर्घटना भइसकेका छन् । गण्डकी प्रदेशभरि भने १० दुर्घटना भएका छन् । बागलुङको ढोरपाटन र लमजुङमा गरी २ दुर्घटना भएबाहेक अरु सबै पोखरा जोमसोम जहाज उडानका क्रममा दुर्घटना हुनु यो रुट निकै जोखिमपूर्ण रहेको पुष्टि हुनु हो ।

पोखराको ८ सय मिटर जतिको उचाइबाट २० मिनेटमै जहाज जोमसोमको २७ सय ४३ मिटर अग्लो ठाउँको विमानस्थल पुग्नुपर्छ । थोरै समयमा धेरै उचाइको उडान भएकाले पनि जोखिम छ भन्ने विज्ञ र अनुभवी छन् । सबैभन्दा महत्वपूर्ण त यो रुटको घोरेपानी, लेते लगायत ठाउँमा मौसम यति छिटोछिटो बदली भइरहन्छ कि यकीन गर्न कठिन हुन्छ । त्यहाँ मौसम बदली भइरहेको भन्ने जानकारी दिने उपकरण त्यहाँ छैन । केवल पोखरा र जोमसोमको मात्रै मौसम यकीन गरेर जहाज उड्छन् । अझ घोरेपानी कटेपछि जहाजहरुको पोखरा र जोमसोम विमानस्थलसम्म ४ मिनेट जति सम्पर्क सधैं टुट्छ । त्यहाँ जहाजसँग सम्पर्क हुने कुनै उपकरण छैन ।

यो कारणलाई पनि अनुभव क्याप्टेनहरुले दुर्घटनाको कारण मान्ने गरेका छन् । अर्काेतिर जति पनि जहाज दुर्घटना हुन्छन् तिनमा सधैं पाइलटहरुलाई दोष लगाइन्छ र अरु गर्नुपर्ने सुधारतिर कहिल्यै राज्यको ध्यान जाँदैन । दुर्घटनाको मूल कारणचाहिँ जोखिम कम गर्ने र दुर्घटना हुन नदिने गर्नुपर्ने उपकरण व्यवस्था लगायतका सुधारमा कुनै परिवर्तन नगर्नु नै हो । जहाज दुर्घटनापिच्छे छानबिन समिति बन्छ । प्रतिवेदन बन्छ । नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा रणनीति पनि बनाउँछ । तर ती औपचारिकतामा सीमित हुन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था आइकाओले नेपाललाई हवाई यात्राको जोखिमपूर्ण सूचीमा राखेको छ ।

Advertisement

युरोपेली युनियनले कालोसूचीमै राखेको छ । आइकाओले भनेका ८ थरी मापदण्ड पालना गर्न नेपाल सरकार संवेदनशील बनेको छैन । मन्त्रीहरु भने आइकाओ र युरोपेली युनियनको नकारात्मक सूचीबाट हटाउन पहल गर्छाैं भन्ने भाषण गरी गरिरहन्छन् । भुटीभाङ गर्नुपर्ने काम गर्दैनन् । पर्यटक १० लाख भिœयाउने लक्ष्य पनि राख्छन् । तर हवाई यात्रा सुरक्षित नभएसम्म पर्यटक आउन सम्भव छैन । स्वदेशी, विदेशी यात्रु सबैका लागि हवाई यात्रा सुरक्षित हुन आवश्यक छ । यसमा सरकार संवेदनशील बन्न आवश्यक छ ।

Advertisement

तपाईको प्रतिक्रिया