सम्पादकीय: महंगीको मार घटाऊ

समाधान संवाददाता २०७९ जेठ २४ गते १२:१९

आर्थिक संकटको त्रास, इन्धनको मूल्यवृद्धि, सरकारी कर्मचारीको तलब वृद्धि लगायतका कारणले दिनानुदिन मंहगी बढिरहेको छ । कोरोना संकटसँगसँगै सुरु भएको मूल्यवृद्धिको उकालो यात्रा अझै रोकिएको छैन । सरकारले बजेट सार्वजनिक गरेपछि अझ बढी मूल्यवृद्धिको छ । बजेटसँगै करको दर बढ्ने र कर्मचारीको तबल वृद्धिका कारणले पनि हरेक वर्षजसो मूल्यबृद्धि हुने गर्दछ ।

देशमा उत्पादन हुने वस्तुमा वृद्धि नहुने, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको ज्याला वृद्धि नहुने तर आयातीत सामानको मूल्यबृद्धि भइरहने कारणले नेपाली संकटमा परेका छन् । देशभित्रको मुद्रा बाहिरिरहेको छ । विदेशी मुद्रा भित्रिने क्रम भने घटेको छ । विदेशी मुद्राको सञ्चिती कम हुँदा मुलुक आर्थिक संकटोन्मुख रहेका तथ्यह आइरहेका छन् । डरलाग्दो आर्थिक संकट रोक्न र जनतालाई मूल्यवृद्धिको मारबाट बचाउन सरकारले प्रभावकारी कदम चाल्नैपर्छ ।

नेपालमा पर्याप्त उत्पादन छैन । कृषिजन्य हुन् वा अरु अरु पदार्थ नेपालीको परनिर्भरता बढ्द छ । मूल्यबृद्धिको सबैभन्दा ठूलो कारक तत्व इन्धन बन्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारकै मूल्यमा नेपालमा पनि खरिद गर्नुपर्ने र विभिन्न संकट तथा युद्धका कारण इन्धनको अन्तर्राष्ट्रिय मूल्य बढिरहने कारणले नेपालमा मूल्यवृद्धि चर्कोरुपमा बढ्ने गरेको छ । इन्धनको मूल्यवृद्धि हुँदा दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पर्दछ भने यातायात, होटल, वस्तु उत्पादन लगायतका क्षेत्रमा लागत बढ्न जाँदा सबै क्षेत्रमा मूल्यवृद्धिको असर देखा पर्ने गर्दछ ।

Advertisement

जनघनत्वसँगै यातायातका साधनमा आएको वृद्धिका कारण इन्धन खपत पनि बढिरहेको छ । सरकारले लिने कर छुट लगायतका आंशिक सुधारका प्रयास गरिए पनि चर्कोरुपमा बढेको इन्धनको मूल्यका कारण यसले राहत हुने अवस्था छैन ।

यसको दीर्घकालीन उपाय इन्धन खपत घटाएर विद्युत खपत बढाउनु नै हो । अहिलेकै तुलनामा उत्पादन बढ्दै गयो भने विद्युत आपूर्ति पर्याप्त नै हुनेछ । भान्सादेखि अन्य कामकाज र यातायातका साधनमा विद्युत प्रयोग गर्न थालियो भने इन्धन खपत कम हुनेछ । यसले समग्र मूल्यवृद्धिलाई कम गर्नेछ । आजभोलि नै काम थाले पनि यो समस्या आजको आजै समाधान हुने होइन । हामीले जतिसक्यो धेरै उत्पादन वृद्धि गर्नुको विकल्प छैन । घरमा उत्पादन भई प्रयोग गरेर बचेको कुनै वस्तु बिक्री गर्न लाज मान्छौं तर सामान्यभन्दा सामान्य वस्तु बजारबाट किन्दा गौरव गर्छौं ।

Advertisement

जति बेलासम्म किन्ने होइन, बिक्री गर्ने वस्तु उत्पादनमा गौरव गर्ने संस्कृतिको निर्माण हुँदैन, हामी आत्मनिर्भर हुँदैनौं । दीर्घकालीन रुपमा मुलुकको ध्यान सम्पूर्णरुपमा उत्पादन वृद्धिमा केन्द्रित गर्दै अल्पकालीनरुपमा मूल्यवृद्धि नियन्त्रणलाई ध्यान दिनुपर्छ । महंगीसँगै कालोबजारी पनि बढ्ने गर्दछ । उत्पादन बढाउन तत्कालीन र दीर्घकालीन उपायसँगसँगै प्रभावकारी बजार अनुगमनले थोरै भए पनि उपभोक्तालाई राहत पुग्छ । सरकारी निकायले त्यतातिर सोच्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया