जम्मा एक हजारमा बेचिएका थिए चोरिएका एसइईका प्रश्नपत्र, ६ जनाको गिरोह पक्राउ

समाधान संवाददाता २०७५ चैत २१ गते १६:४९

समाधान सम्वाददाता

तराइबाट चोरिएका एसइइको प्रश्नपत्र जम्मा एक हजार रुपैयामा बिक्री गरिएको अनुसन्धानबाट पत्ता लागेको छ । चोरीमा प्रश्न पत्र कै सुरक्षार्थ खटिएका प्रहरी सहित शिक्षक गरी जम्मा ६ जना संलग्न भएको पुष्टी भएको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबी र प्रदेश नम्बर २ प्रहरी कार्यालयले विहीबार सप्तरी जिल्लामा पत्रकार सम्मेलन गरेर प्रश्न पत्र चोरी गर्ने गिरोहलाई सार्बजनिक गरेको छ । प्रश्न पत्र चोर्ने कार्यमा संलग्न दुई जना प्रहरी सहित ६ जना नै प्रहरी नियन्त्रणमा छन् । उनीहरुले अपराध स्विकार गरिसकेका छन् ।

Advertisement

पक्राउ पर्ने प्रहरी सप्तरी राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान थिए । इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । त्यही प्रश्नपत्रको सुरक्षाका लागि बसेका प्रहरीले प्रश्नपत्र निकालेर फोटो खिचेका हुन । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।

प्रहरीका अनुसार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको हो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची विष्णुदेव यादवलाई पठाएका थिए । यादवले पहिले मनोजलाई सामाजिक सञ्जालमार्फत प्रश्नपत्रको फोटो पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । प्रश्नपत्र एक हजार रुपैया देखि चार हजार रुपैयासम्म बिक्री गरिएको अभियुक्तहरुले प्रहरीलाई बताएका छन् ।

Advertisement

खरिद गर्ने मध्ये एक जनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो । लगातार दुई वटा विषयको प्रश्नपत्र परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले १५ चैतमा साँझ पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको घोषणा गरेका थिए । स्थागित परीक्षा शुक्रबारदेखि सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया