गण्डकीको नीति तथा कार्यक्रम-सित्तैमा सेनेटरी प्याड वितरणदेखि हनिमुन पर्यटनसम्म


सञ्जय रानाभाट/रिखिराम जिसी।
पोखरा ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार प्रदेश सभामा २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रदेशको नीति तथा कार्यक्रममा पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
नीति तथा कार्यक्रममा गण्डकी प्रदेशलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने नीति लिइएको छ । केन्द्र सरकारसँग समन्वय गरी पर्यटकीय पूर्वाधार तथा सेवाको गुणात्मक वृद्धि गरेर ३ वर्षमा बाह्य पर्यटकको संख्या, बसाइँ अवधि तथा खर्च दोब्बर बनाउने नीति प्रदेश प्रमुख गुरुङले सुनाए ।
‘हनिमुन टुरिजम’ नारा दिएर केही स्थानलाई आकर्षक हनिमुन गन्तव्य स्थलका रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘पर्यटन प्रवर्धनका लागि नेपाल सरकारसँग समन्वय गरी पोखराको लेकसाइडमा रहेको रत्न मन्दिर र हिमागृहलाई सर्वसाधारणका लागि समेत खुला गरी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ,’ गुरुङले भने, ‘गण्डकी प्रदेशमा रहेका तर नामाकरण गर्ने साथै प्रदेशका विभिन्न स्थानमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङको सम्भावना पहिचान गरिनेछ ।’
प्रदेश प्रमुख गुरुङले फेवाताल सरसफाइ तथा सौन्दर्यीकरणलाई निरन्तरता दिँदै सरोकारवालाको सहकार्यमा फेवातालको सीमांकन कार्य सुरुआत गर्ने उल्लेख गरे । फेवाताल र बेगनास तालको सौन्दर्यीकरण र फोहोरमैला व्यवस्थापनसम्बन्धी गुरुयोजना तर्जुमा गरी पोखरा महानगरपालिकासँगको सहकार्यमा गर्ने नीति तथा कार्यक्रममा छ ।
किशोरीको स्वास्थ्य सुरक्षाका लागि प्रदेशका सबै सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण र विसर्जनको सुविधा उपलब्ध गरी महिनावारी विभेद अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख गुरुङले सुनाए । ‘प्रदेशवासीलाई मृगौलाको नियमित डायलायसिस सेवा प्रदान गर्न गोरखा अस्पताल, लमजुङ अस्पताल र मध्यबिन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तार गरिनेछ,’ उनले भने ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी मृगौला प्रत्यारोपण सेवा प्रदेशमा नै आरम्भ गर्ने नीति तथा कार्यक्रम प्रदेश प्रमुखले सुनाए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० शड्ढयाको मुटुरोग अस्पताल स्थापना गरिने भएको हो ।
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न अति दुर्गम र दुर्गम क्षेत्रका जटिलतामा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुको जीवन रक्षाका लागि एयर लिफ्टिङ सेवालाई प्रदेश सरकारले निरन्तरता दिएको छ । गर्भवतीको जीवन रक्षाका लागि प्रदेश मातहतका सबै अस्पतालमा मातृ प्रतीक्षा गृह स्थापना गर्दै जाने उल्लेख छ । नीति तथा कार्यक्रममा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर लगायत प्रजनन अंगको क्यान्सरको निशुल्क उपचारलाई निरन्तरता दिने उल्लेख छ ।
जिल्ला अस्पतालहरूबाट प्रत्येक महिना पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ जाँच निःशुल्क गर्ने कार्यक्रममा छ । १६ वर्ष मुनिका बालबालिकामा हुने सबै प्रकारका क्यान्सरको निःशुल्क उपचार गर्ने प्रदेश प्रमुख गुरुङले सुनाए ।
गुरुङले आगामी वर्ष प्रदेश सरकारसँग बाआमा कार्यक्रममा सञ्चालन हुने सुनाए । ज्येष्ठ नागरिकलाई प्रभावकारी ढंगले सेवा प्रवाह गर्न उक्त कार्यक्रम सञ्चालन गरिने गुरुङले बताए । उक्त कार्यक्रमले वृद्धाश्रममा आश्रित, दीर्घरोग लागेका ज्येष्ठ नागरिकलाई टेवा पुग्ने विश्वास गरिएको छ ।
मानव सेवा आश्रममा आश्रित दीर्घरोग लागेका बिरामीले सेवन गर्नुपर्ने औषधी निःशुल्क रुपमा उपलब्ध गराइने प्रदेश प्रमुख गुरुङले सुनाए । प्रत्येक वडामा कम्तीमा १ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना तथा सञ्चालनका लागि १ वडा १ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले लिएको छ ।
प्रदेशले युवा वैैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम सुरु गर्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष युवा वैज्ञानिक कार्यक्रम सुरु गर्ने बताए ।
‘प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ,’ गुरुङले भने, ‘वैज्ञानिक क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ ।’
गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यालय तथा प्रयोगशालाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने जनाएको छ । ‘श्रमको सम्मान गरौँ’ भन्ने भावनालाई प्रदेशभर विस्तार गरी समाजमा कामप्रति सकारात्मक धारणा विकास गर्दै युवालाई काममा लाग्न प्ररित गर्ने योेजना सरकारले अगाडि सारेको छ ।
खेल्छ गण्डकी
‘खेल्छ गण्डकी’ नारालाई आत्मसात गर्दै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गर्ने नीति लिएको छ । प्रदेशको खेदकुद पर्यटन केन्द्रका रुपमा विकास गर्न युवा खेलाडीलाई स्वस्थ, अनुशासित, व्यावसायीक बनाउँदै विभिन्न परम्परागत, साहसिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन, खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने योजना छ ।
प्रदेशमा स्पोर्टस् एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीति छ । पोखरा रंगशालाका पूर्वाधारमा सुधार गरी रातको समयमा समेत रंगशालामा खेल सञ्चालन गर्ने प्रदेशको योजना छ । कास्कीको भेडाबारीमा एन्फा टेक्निकल सेन्दर निर्माणको कामलाई नेपाल सरकारसँगको सहकार्यमा अगाडि बढाइने भएको छ ।


सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया