जिसस मुस्ताङमा एकैदिन ६ वटा कार्यक्रम

समाधान संवाददाता २०७९ जेठ २५ गते १९:०९

जोमसोम–जिल्ला समन्वय समिति मुस्ताङमा एकैदिन ६ वटा कार्यक्रम सम्पन्न भएका छन् ।जिल्ला समन्वय समितिको निर्वाचनमा एकल उम्मेदवारी परी निर्वाचित भएका जिससका जनप्रतिनिधिहरुको घोषणा,प्रमाणपत्र वितरण,पद तथा गोपनीयताको शपथ ग्रहण,बधाई एवं शुभकामना,पदभार ग्रहणसहित जिल्ला समन्वय समितिले धन्यवाद दिने कार्यक्रम सम्पन्न गरेको हो ।
स्थानीय तह निर्वाचन अन्तर्गत जेठ १७ गते देखि जेठ २५ गतेसम्म जिससको निर्वाचन कार्यतालिका रहेको थियो ।तर,नेकपा एमाले र राप्रपाको तर्फबाट एकल उम्मेदवारी परेपछि मंगलबार मतदान गर्नु परेन । जिसस मुस्ताङमा एकल उम्मेदवारी परी निर्विरोध भएका जिससका प्रमुख र उपप्रमुखसहित सदस्यहरुको घोषणा गरिएको हो ।उनीहरुलाई मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले प्रमाणपत्र वितरण गरे । सो कार्यक्रममा ५ वटै स्थानीय तहको निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरुलाई मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले प्रमाणपत्रले सम्मान गरे ।
नेकपा एमालेबाट जिसस प्रमुख पदमा निर्विरोध माया गुरुङलाई मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसको लगत्तै जिसस प्रमुख माया गुरुङले उप्रमुख आईतेलाल थकालीसहित ५ जना सदस्य र राप्रपाको तर्फबाट निर्वाचित एक जना सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराईन् ।
प्रमाणपत्र र शपथ ग्रहण कार्यपछि मुख्य निर्वाचन अधिकृतसहित संविधान सभा सदस्य श्रीमाया थकाली ,प्रजिअ नेत्रप्रसाद शर्मा र पूर्व जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले कार्यकाल शुभकामनासहित बधाई दिए ।यसपछि जिसस प्रमुख र उपप्रमुखलाई जिल्ला समन्वय समितिले आजै पदभार ग्रहण गराएको निमित्त जिल्ला समन्वय अधिकारी शिवकुमार पौडेलले जानकारी दिए । पदभार ग्रहणको क्रममा समन्वय प्रमुख तथा उपप्रमुख माया गुरुङ र उपप्रमुख आईतेलाल थकालीलाई एमाले समर्थित कार्यकर्ताले बधाई तथा शुभकामना दिएका थिए ।
जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित जिसस प्रमुख माया गुरुङले संघीयता मर्म र भावना अनुसार ५ वटै स्थानीय तहसंग समन्वयकारी भूमिका निभाउन आफ्नो योगदान रहने बताईन् । उनले निर्वाचनका बेला पार्टी पार्टी कुरा उठेपनि अब सबै जना एक ठिक्का भएर समृद्ध मुस्ताङ बनाउन जुट्नु पर्ने बेला आएको बताईन् ।उपप्रमुख आईतेलाल थकालीले जिल्लाको दीगो विकासका लागि समन्धित निकायसंग सहकार्य र समन्वय गर्ने पहिलो दायित्व रहेको बताए ।
भौगोलिक रुपले विकट मुस्ताङमा सबैजना उपस्थित हुन कठिनाई हुने हुँदा एकैदिन जिसस निर्वाचन र जिससका सबै कार्यक्रम एकैदिन गर्नु परेका समन्वय अधिकारी शिवकुमार पौडेलले उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया