सबै व्यवसाय महानगरमा दर्ता गर्न माग

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले सबै खालका व्यवसाय पोखरा नगरपालिकामा दर्ताको व्यवस्था गर्न माग गरेको छ । मेयर धनराज आचार्यलाई भेटेर विना स्वीकृति सञ्चालित व्यवसायलाई दर्ताका लागि सूचना दिन र दर्ता नगरे बन्द गर्न माग गरिएको चेम्बर अध्यक्ष यमनाथ पौडेलले बताए ।
चेम्बरले मेयर आचार्यलाई दिएको १७ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्रमा करको दर नभएर दायरा बढाउन आग्रह गरिएको छ । साना तथा घरेलु उद्योगलाई विशेष प्राथमिकता दिन माग गर्दै चेम्बरले पार्किङको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । ‘उज्यालो पोखरा र सुरक्षित पोखराका लागि सडक बत्ती र सिसी क्यामरा जडान गर्न आवश्यक छ,’ चेम्बरको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पोखरालाई हराभरा र सुन्दर पोखरा बनाउन ठाउँ ठाउँमा गार्डेन निर्माण तथा वृक्षरोपण गर्नु पर्छ ।’
चेम्बरका महासचिव नवराज आचार्यले फोहोरमैला व्यवस्थापनका लागि दीर्घकालीन ल्यान्डफिल्ड साइटको व्यवस्था गर्न र ठाउँ ठाउँमा शौचालयको व्यवस्था गर्न माग गरिएको बताए । खानेपानीको समुचित वितरण गर्न आग्रह गर्दै ध्यानाकर्षणपत्रमा सुव्यवस्थित बसपार्क निर्माण गर्न माग गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन पहल गर्न चेम्बरले आग्रह गरेको छ ।
चेम्बरले पोखरा महानगरको स्वामित्वमा रहेका व्यवसायिक प्रयोजनका लागि दिइएका सटरलाई व्यवस्थित गर्न महानगरको वहालसम्बन्धी कार्यविधि बनाई टेन्डर गर्ने प्रचलन अन्त्य गर्न माग गरेको छ । घर वहाल दिँदा घर धनी र व्यवसायीबीच अनिवार्य सम्झौताको व्यवस्था गर्न माग गर्दै ध्यानाकर्षणपत्रमा घरको वहाल वैज्ञानिक ढंगले निर्धारण गर्न आग्रहसमेत गरिएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया