असार ४ देखि अन्तर्राष्ट्रिय हेमजा गोल्डकप

अभिषेक अधिकारी २०७९ जेठ २७ गते १३:३०

पोखरा ।
०७० सालमा मात्रै हेमजाका युवाहरुद्वारा स्थापना भएको हेमजा युनाइटेडले आफ्नो स्थापनाको ९ वर्ष पार नगर्दै अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आफ्नै खेल मैदानमा आयोजना गर्ने तय भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबले प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो ।

युनाइटेडका सचिव सुनील गायकले हेमजा युनाइटेडले गत शृंखलामा जिल्ला र प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएता पनि यस वर्षदेखि ८ टिम सम्मिलित अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्न लागेको सुनाए । ‘नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप’ नाममा प्रतियोगिता असार ४ देखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने गायले जानकारी दिए । प्रतियोगिता गौरीशंकर खेल मैदान (गैर) मा आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आहारारा गोल्डकप प्रतियोगिताको पछिल्लो विजेता एपिएफको पनि सहभागिता रहने आयोजकले जनाएको छ । हेमजा गोल्डकपमा एपिएफले आफ्नो पहिलो खेल नै विदेशी पाहुना टोली एभिनिएर फुटबल क्लब देउलासँग सामना गर्नुपर्ने भएको छ । एपिएफका प्रशिक्षक कुमार थापाले समाधानसँगको फोन सम्पर्कमा आहारारामा सहभागी भएका विदेशी खेलाडीलाई क्लबले रिलिज गरिसकेको बताए । गोरक्षक कुरियामा युयाको स्थानमा राजु नगरकोटी वा विशाल लामा रहने कुमार बताउँछन् ।

Advertisement

त्यस्तै यसपालि डिफेन्डर राजन गुरुङ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले उनी अउने निश्चित नरहेको उनले सुनाए । कप्तान नवीन लामा र मिडफिल्डर रवि थिङ भने हेमजा गोल्डकपमा सहभागी रहने प्रवल सम्भावना रहेको प्रशिक्षक थापाले सुनाए । एसै वर्ष ए डिभिजनमा बढुवा भएको टोली चर्चब्वाइज फुटबल क्लब र खुमलटार युथ क्लब पनि प्रतियोगितामा सहभागी रहने आयोजकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । चर्च ब्वाइजले असार ५ मा कालिका युथ स्पोर्टस एकेडेमीको सामना गर्ने छ । यी दुई टिमबिचको विजेताले असार ९ गते एपिएफ र एभिनारमध्ये विजाता टोलीको सामना गर्ने छ ।

आयोजक टोली हेमजा युनाइटेडले उद्घाटन खेलमा नै असार ४ गते वीरगन्ज युनाइटेडको सामना गर्नुपर्ने भएको छ । ए डिभिजनको नवप्रवेशी टिम खुमलटार युथ क्लबले बागमती युथ क्लबको सामना असार ६ मा गर्ने तय छ । आयोजक हेमजा युनाइटेडले विजेतालाई ६ लाख र उपविजेतालाई ३ लाख पुरस्कार दिने प्रेस विज्ञप्तिमा छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, फेयर प्ले पुरस्कार तर्फ २५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचले ३५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया