‘ब्रेकिङ नाममा गलत सूचना नदिऊँ’: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

समाधान संवाददाता २०७९ जेठ २७ गते १७:३०

पोखरा ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी छलफल आयोजना गरेको छ । कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्रले सही सूचना प्रवाह गरेको खण्डमा जनस्वास्थ्य क्षेत्रको समुदाय स्तरमा सकारात्मक प्रभाव पर्ने बताइन् ।

Advertisement

आमसञ्चार माध्यमले दिएको विषयवस्तु समाजमा बिक्न सक्ने उल्लेख गर्दै उनले सञ्चार क्षेत्रको सहयोगले जनस्वास्थ्यका काम प्रभावकारी हुने चर्चा गरिन् । ‘गलत सूचना तथा नराम्रो विषयवस्तु तत्काल फैलने गर्छ,’ उनले भनिन्, ‘कहिलेकाँही छिटो दिने तथा पहिलो हुने नाममा गलत सूचना प्रवाह हुन सक्छ । त्यसैले पत्रकारहरु सचेत बन्नुपर्छ ।’ उनले कोभिड १९ जस्तो स्वास्थ्य क्षेत्रको संकटको बेलामा सरोकारवाला निकायले सूचना आदानप्रदान गर्नुपर्ने बताइन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड १९ को प्रकोपको अवधिमा स्वास्थ्यकर्मीले सञ्चारको महत्व बुझेको बताए । सबै प्रकारको विकासका प्रक्रियालाई अगाडि बढाउँदा स्वास्थ्यका सवाललाई जोड्नुपर्ने उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रमा आईपरेका संकट तथा महामारीको अवधिमा आधिकारिक व्यक्ति, विज्ञ तथा प्राविधिकले दिएको सूचना भरपर्दो हुने उल्लेख गरे ।

सुरुमा आएको सूचना मान्छेको दिमागबाट हटाउन नसकिने उल्लेख गर्दै उनले अनुमानको भरमा समाचार नलेख्न अनुरोध गरे । महामारीको बेलामा मानिसले छिटो छिटो सूचना चाहने उल्लेख गर्दै उनले सही र विश्वसनीय सूचना प्रवाह गरेर पहिलो बन्न सुझाव दिए । उनले सही र भरपर्दो सूचनाले सरकारको संक्रामक तथा सरुवा रोग नियन्त्रणको अभियानमा ठूलो सहयोग पुग्ने बताए ।

मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक माधव श्रेष्ठले समयमै सूचना दिन सकेको खण्डमा स्वास्थ्य क्षेत्रमा आइपर्ने चुनौती सामना गर्न सकिने सुनाए । संकटको विरुद्धमा लड्न सरोकारवाला सबैलाई सहभागी गराउनुपर्ने चर्चा गर्दै उनले आम नागरिकले विश्वास गर्ने तरिकाले छिटोभन्दा छिटो सूचना प्रवाह गर्नुपर्ने विचार राखे ।

Advertisement

तपाईको प्रतिक्रिया