अब साधन दर्ता तनहुँमै

पोखरा ।
तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेमा रहेको यातायात व्यवस्था कार्यालयले जिल्लाबाटै सवारी साधन दर्ता गर्ने भएको छ । पोखराबाट मात्र हुँदै आएको सवारी साधन दर्ताको काम अब तनहुँबाट पनि सुरु हुन लागेको हो ।
तनहुँबाटै सवारी साधन दर्ता हुने भएपछि सवारी साधन दर्ताका लागि पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ । कार्यालय प्रमुख विष्णु केसीले केही दिनभित्रै सवारी साधन दर्ताको काम सुरु हुने जानकारी दिए । ‘अहिले बिलबुकमात्रै नवीकरणको काम गर्दै आएको कार्यालयले अब केही दिनमै सवारी साधनको दर्ता सुरु गर्ने तयारी गरेको छ’, केसीले भने, ‘अब यहीँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण र नयाँ वितरणको कामसमेत सुरु हुन्छ ।’
कार्यालयले सम्भव भएसम्म असार पहिलो हप्ताबाट सवारी चालक अनुमतिपत्र वितरण र नवीकरणको कामसमेत सुरु गर्ने तयारी गरेको छ । सवारी चालक अनुमतिपत्र वितरणका लागि परीक्षा र ट्रायल दिने व्यवस्था मिलाउन कार्यालयले विमलनगरमा पूर्वाधार निर्माण थालेको छ ।
यातायात व्यवस्था कार्यालयले अनलाइनमा फारम खुलाएपछि विमलनगरमा ट्रायल दिने व्यवस्था मिलाइनेछ । कार्यालयले बिलबुक नवीकरणको काम भने सुरुदेखि नै गर्दै आएको छ । कार्यालयले विमलनगर ४ मा १ घर पाँच वर्षका लागि भाडामा लिनका लागि सम्झौता गरिसकेको छ । सवारी चालक अनुमतिपत्र वितरण र नवीकरण पनि तनहुँबाट हुने भएपछि यस भेगकै सर्वसाधारणलाई राहत मिल्नेछ । अहिले सवारी साधन दर्ता, सवारी चालक अनुमति नवीकरण लगायत कामका लागि पोखरासम्म जानुपर्ने अवस्था छ ।
तपाईको प्रतिक्रिया