बेगनासताल–भोर्लेटार सडकको बिजोग
सडक भत्किएपछि स्थानीय बासिन्दाले मर्मत र स्तरोन्नतिका लागि हार गुहार गरे पनि कतै सुनुवाइ भएको छैन


पोखरा ।
लमजुङको भोर्लेटार जाने सडक बेगनासताल बसपार्कको मुखमै साँघुरो छ । घुम्ती पनि अनेक छन् । उकालो उस्तै छ । १० किलोमिटर पार गरेपछि भने केही सुबिस्ताको सडक छ । त्यही साँघुरो र घुम्ती अनि उकालो सडकको अहिले झन् बिजोग भएको छ ।
बर्खाको भेलले सडक भताभुंग पारेको छ । सडक किनारमा नाली छैन । पानी सडक भएरै बग्छ । त्यही पानीले सडक खोलेर लथालिंग बनाएको छ । यसै साँघुरो सडक भत्किएर बिजोग भएपछि यातायातका साधन राम्ररी गुड्न सकेका छैनन् । सडक भत्किएपछि स्थानीय बासिन्दाले मर्मत र स्तरोन्नतिका लागि हार गुहार गरे पनि कतै सुनुवाइ भएको छैन ।
महानगरदेखि मन्त्रालयसम्म हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ नभएको स्थानीय दामोदरभक्त थापाले बताए । प्रदेश सरकारले तालबेसीदेखि भोर्लेटारसम्मको सडक स्तरोन्नति गरे पनि बेगनासतालदेखि तालबेसीसम्मको सडकमा ध्यान पुग्न नसकेको उनले सुनाए ।
‘त्यही सडकबाट सामान लगेर तालबेसीदेखि भोर्लेटारसम्म सडक स्तरोन्नति भयो,’ उनले भने, ‘तर उक्त क्षेत्रलाई वास्ता गरे ।’ यात्रुहरु लमजुङ जाने सडकको उक्त क्षेत्रमा जोखिम मोलेर यात्रा गरिराखेको उनले तर्क गरे । गत वैशाख ५ गते स्थानीयहरुले सडकको समस्या समाधानमा पहल गर्न महानगरदेखि मन्त्रालयसम्म ध्यानाकर्षण गर्ने निर्णय गरेका थिए । सोही अनुरुप मुख्यमन्त्री, अर्थ मन्त्रालय, पूर्वाधार विकास तथा भौतिक पूर्वाधार मन्त्रालयदेखि महानगरपालिकासम्म बजेटका लागि ध्यानाकर्षण गराएका थियौँ,’ उनले भने, ‘हालसम्म कुनै किसिमको पहल भएन ।’ बाटो साह्रै जीर्ण भएकाले सांकेतिक रुपमा दबाब दिन सोमबार माझीकुना जाने चोकमा स्थानीयहरुको भेला गर्न लागिएको थापाले जानकारी दिए ।
विभाग, महानगरलगायत सबै सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराइसकिएको थापाले बताए । १०-१५ लाख बजेट विनियोजन गरी तत्कालका लागि समस्या समाधान गर्न र आगामी बजेटमा थप गर्ने माग स्थानीयले गरेका थिए ।
बेगनासताल–भोर्लेटार जाने मोटर बाटोको ट्र्याक खोलेको ३४ वर्ष भयो । तत्कालीन खाद्य संस्थानमार्फत खोलिएको उक्त ट्र्याक २०६५ सालमा तत्कालीन सडक डिभिजन कार्यालयमार्फत कालोपत्रे गरिएको थियो । पोखरा बेगनासतालदेखि लमजुङ जाने सडकमा दैनिक ५-७ सय गाडी आउजाउ गर्छन् ।
उक्त सडकको बेगनासतालदेखि तालबेसीसम्मको क्षेत्र नियमित मर्मत नहुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । कालोपत्रे भएपछि सडक नियमित मर्मत गर्न ७ जना कर्मचारी राखिएको थियो । तर सडक प्रदेश अन्तर्गत गएपछि उक्त कर्मचारी प्रदेशले कटौती गर्यो ।नियमित मर्मत गर्ने कर्मचारी नहुँदा र स्तरोन्नतिका लागि बजेट नछुट्याउँदा सडक जीर्ण बन्न पुगेको स्थानीय चिरञ्जीवी सुवेदीले बताए । ‘पछिल्लो ४ वर्षयता यो सडक पुरै छायाँमा पर्यो,’ उनले भने, ‘सडक प्रदेश अन्तर्गतमा गएपछि बेवारिसे बन्यो ।’ सरकारबाट पहल नभएपछि स्थानीयबाट रुकम उठाइ र श्रमदानमार्फत सडकको स्तर सुधारिएको सुवेदीले बताए ।
स्थानीयबाट सडक स्तरोन्नतिका लागि पैसा उठायौँ,’ उनले भने, ‘उक्त रकम र स्थानीयको श्रमदानबाट तत्कालका लागि समस्या सल्टायौँ ।’ अहिले सडक पूर्ण रुपमा जीर्ण भएकाले यसको स्तरोन्नति नगरे ठूलो क्षति भोग्नुपर्ने सुवेदीको भनाइ छ । ‘सांकेतिक दबाब दिन सोमबार सडकमै भेला गर्दैछौँ,’ उनले भने, ‘यसबाट पनि समस्या समाधान भएन भने थप संघर्षका कार्यक्रम गर्नेछौँ ।’
जिल्ला पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख इन्जिनियर महेन्द्र बानियाले उक्त सडक पूर्वाधार विकास कार्यालय अन्तर्गत नपर्ने हुनाले तालबेसीदेखि भोर्लेटारसम्मको सडक स्तरोन्नति भएको बताए । उक्त सडक स्तरोन्नतिका लागि मन्त्रालयसमक्ष कार्यालयले पहल गर्ने उनले बताए ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
तपाईको प्रतिक्रिया