अर्थमन्त्रीले ‘बेइमानी’ गरेको भन्दै अरु मन्त्री असन्तुष्ट

पोखरा ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले मन्त्रिपरिषदबाट पारित भएको भन्दा बेग्लै बजेट प्रदेश सभामा बाचन गरेपछि सरकारमा खैलाबैला मच्चिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अर्थमन्त्री बरालको रबैयाबाट चकित परेका छन् । सत्ता पक्षका सांसदहरुले समेत अर्थमन्त्रीको कार्यप्रति तीब्र आक्रोश व्यक्त गरेपछि प्रदेश सभामा आइतबारका लागि भनिएको बजेटमाथिको छलफलै रोकिएको छ ।
असार १ गते सार्वजनिक गण्डकी प्रदेशको बजेटमा अर्थमन्त्री बरालले सांसद विकास कोष अर्थात निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश थिएन । तर मन्त्रिपरिषद स्रोत भने प्रत्येक निर्वाचन क्षेत्रका सांसदहरुका लागि भनेर २-२ करोड रुपैयाँका योजनामा खर्च पाउने गरी बजेटको व्यवस्था गर्ने पुरानै कार्यक्रमलाई मन्त्रिपरिषदले पारित गरेको थियो । एक मन्त्री भन्छन्, ‘त्यतिमात्रै होइन नि अर्थमन्त्रीले त अरु पनि थुप्रै कुरा छुटाइदिनुभयो, मन्त्रिपरिषदले एउटा बजेट पारित गर्यो, प्रदेश सभामा उहाँले आफूले खल्तीमा ल्याएको अर्काे बजेट बाचन गर्नुभयो ।’
यस विषयमा मुख्यमन्त्री पोखरेलले अर्थमन्त्री बरालसँग मौखिक रुपमा प्रष्टीकरण सोधेको ती मन्त्री बताउँछन् । ‘क्याबिनेटले पारित गरेको बजेट नपढी अर्काे पढेर तपाईंले ठूलो बेइमानी गर्नुभयो, ठूलो विश्वासघात गर्नुभयो,’ मुख्यमन्त्रीले अर्थमन्त्री बराललाई भनेका थिए । त्यसपछि बरालले मलाई माफ गर्नुस् भनेर जवाफ दिएको मन्त्रिपरिषद स्रोत बताउँछन् । तर मुख्यमन्त्रीले त्यसको जवाफमा भनेका थिए, ‘यस्तो बच्चा कुरा नगर्नाेस्, यो तपाईंले माफ माग्ने र मैले दिने भन्ने विषय होइन, केटाकेटी खेलेको होइन, सरकार चलाएको हो ।’
बजेटको कार्यक्रम पुस्तिका तयार नभएको भन्दै आइतबारको संसद बैठक स्थगित गरिएको जानकारी सरकारले प्रदेश सभा सचिवालयलाई गराएको छ । तर मन्त्रीहरु र सत्ता पक्षीय सांसदहरु नै अर्थमन्त्रीको कार्यबाट तीब्र असन्तुष्ट बनेका छन् । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ भन्छन्, ‘यो त सरासर बेइमानी नै हो नि, सांसदले आफ्ना जनताका योजना पूरा गर्ने बजेट नै काट्ने, त्यो पनि मुख्यमन्त्री र मन्त्रिपरिषदलाई ढाँटेर ।’
मन्त्री गुरुङले यस्तो कार्यमा अर्थमन्त्री बरालसँगै अर्थ सचिवको समेत मिलेमतो भएको हुँदा दुवैजनामाथि कारबाही हुनुपर्ने माग गरेका छन् । ‘संसदीय परम्परामा गर्नै नहुने काम गर्ने मन्त्रीलाई त्यसै छोड्न मिल्छ र भन्या ?’ उनले भने ।
अर्थमन्त्री रामजी बरालले असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । त्यसमा आफूखुसी खर्च गर्न पाउने गरी अर्थ मन्त्रालयमा अर्थ विविध भनेर ३ अर्ब राखिएको अरु मन्त्रीहरुको आरोप छ । तर कतिपय मन्त्रालयलाई भने २० करोड रुपैयाँ पनि बजेट दिइएको छैन । बजेटको योजना तथा कार्यक्रम पुस्तिका अझै नआएको हुँदा अरु थुप्रै गडबडी खुल्न बाँकी रहेको सत्ता पक्षीय एक सांसद बताउँछन् । माओवादीले पनि आफ्नो पार्टीका मन्त्री बरालले मन्त्रिपरिषदले पारित गरेको सट्टा अर्काे बजेट बाचन गरेको विषयलाई संवेदनशील रुपमा लिएको छ । अर्थमन्त्रीको विषयलाई लिएर नेपाली कांग्रेस संसदीय दल र माओवादी संसदीय दलको बैठक आइतबार बस्दैछ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया