कास्की कांग्रेसमा गम्भीर विवाद, सभापति बोल्दाबोल्दै बैठक बहिस्कार

समाधान संवाददाता २०७९ असार ५ गते १९:४७

पोखरा ।
नेपाली कांग्रेस कास्कीको आइतबार बसेको बैठक जिल्ला कार्यसमितिकै पदाधिकारी र सदस्यहरुले बहिस्कार गरेपछि स्थगित भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बैठक बस्दै थियो ।


जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरु नै अध्यक्षका विरुद्धमा उत्रिएपछि बैठक सौहार्दपूर्ण बन्न नसकेको बैठकमा सहभागी एक सदस्यले समाधानलाई बताए । बैठक पोखराकै एक होटलमा आयोजना गरिएको थियो । पार्टी कार्यालयमा बैठक नबसेर होटलमा बोलाइएको भन्दै आलोचना शुरु गरेका सहभागीहरुले सभापति किशोरदत्त बरालको तिव्र आलोचना गरे ।
सभापति बरालको कार्यशैलीको विरोधको नेतृत्व बरालसँगै सभापतिमा पराजित सुदीपमोहन भट्टराईले गरेका थिए । उनलाई कार्यसमितिका पदाधिकारी र सदस्यहरुले साथ दिएका थिए ।


स्थानीय तहको निर्वाचनमा पार्टीले भातृ संगठन, पुराना पार्टी कार्यकर्तालाई परिचालन नगरेर एकलौटी गरेको बैठकमा सहभागीहरुले आरोप लगाए । जिल्ला समितिले निर्वाचनको बेला नेता तथा कार्यकर्ताहरुसँग समन्वय नगरेकाले आजको बैठकमा भाग नलिएको जिल्ला समिति अध्यक्षका प्रत्यासी नेता सुदीपमोहन भट्टराईले बताए । ‘पार्टी नेतृत्वलाई सच्चिनका लागि, पार्टी हितका लागि सांकेतिक रुपमा उपस्थति रहेर पनि माइनुटमा हस्ताक्षर नगरी बैधानिक सहभागिता नजनाएका हौँ,’ उनले भने ।

Advertisement


निर्वाचनको बेला पार्टी कार्यालयबाट नचली होटेलबाट चलेको भट्टराईले आरोप लगाए । ‘नेतृत्वपंतिले निर्वाचनमा गरेको आघातका कारण सहभागी भएर पनि बैठकमा भाग लिएनौँ ।’ उनले भने, ‘महानगरमा २३ वडा जित्दा पनि उपमेयरमा पराजित हुनु पर्यो, उपमेयरका उम्मेदवारलाई पार्टीले निर्दलिय बनायो ।’


जिल्ला कमिटि कास्कीका सभापति किशोरदत्त बरालले व्यक्तिगत कारण पदाधिकारी सहभागि नहुँदा वैठक स्थगित गर्नु परेको बताए । ‘कोरम नपुग्दा आजको बैठक स्थगित गरेको हुँ,’ उनले भने, ‘अर्काे बैठक असार ११ गतेका लागि आव्हान गरिएको छ ।’
पार्टी कार्यालय हुँदाहुँदा बैठक किन होटलमा भन्ने प्रश्नमा बरालले पार्टी कार्यालय साघुँरो भएकाले र धेरै सहभागी हुने भएकाले होटलमा बैठक आव्हान गरिएको बताए । ‘चुनावको बेला गठबन्धनसँगको सल्लाह अनुसार होटेलमा बैठक बसिएको हो,’ उनले भने, ‘आज धेरै जनाको छलफल र प्रिजेन्टेशन गर्नुपर्ने भएकाले होटेलमा आव्हान गरेका हौँ ।’

Advertisement


सवैले आफ्नो काम, सक्रियता र कर्मको आधारमा चुनाव जितेकाले उपमेयरलाई पार्टीले निर्दलिय बनायो भन्ने आरोप असत्य रहेको तर्क गरे । चुनावको बेला विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी प्रदान गरिएको सभापति बरालले दावी गरे ।

तपाईको प्रतिक्रिया