कास्की कांग्रेसमा विवाद,

‘कि सच्चिनुस्, कि राजीनामा दिनुस्’

बैठक बहिस्कार गर्दै सभापतिलाई चेतावनी

रिखिराम जिसी २०७९ असार ६ गते १०:२६

पोखरा ।
नेपाली कांग्रेस कास्कीको जिल्ला अधिवेशन हुँदै गर्दा सभापतिका प्रत्यासी किशोरदत्त बरालले सामाजिक सञ्जाल मार्फत कांग्रेसका मतदाता समक्ष बाचा गरेका थिए, ‘कम्तीमा ५ वर्ष कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार बन्ने छैन । पार्टी बनाउनु छ, मलाई जिताउनुस् ।’ उनलाई कास्की कांग्रेसका मतदाताले विश्वास गरे, सभापतिमा जिताए ।

जिल्ला कार्यसमितिको पहिलो बैठकमा उनले फेरि पनि घोषणा गरे, ‘म कम्तीमा ५ वर्ष कुनै तहको निर्वाचनमा उम्मेद्वार बन्दिनँ ।’ सभापति बराल जिल्ला अधिवेशनपछिको पहिलो निर्वाचनमै पोखरा महानगरपालिकाको मेयरको आकांक्षी भए । २५ हजार रुपैयाँ तिरेर पार्टीभित्र आकांक्षा दर्ता गराए । सत्तारुढ गठबन्धनले पोखराको मेयर नेकपा एकीकृत समाजवादी (एस) लाई दिएपछि उनको आकांक्षा अपुरै रह्यो ।

गठबन्धनले मेयर जित्दा कांग्रेसको भागमा परेको उपमेयरमा भने पार्टी पराजित भयो । २३ वटा वडाको अध्यक्ष जित्दा पनि उपमेयर हारेको भन्दै कांग्रेसभित्र तिब्र असन्तुष्टि छ । त्यो असन्तुष्टि यहाँसम्म आइपुगेको छ कि जिल्ला कार्यसमितिकै पदाधिकारी र सदस्यहरुले सभापतिको राजीनामा माग्न थालेका छन् । सभापति बरालले असार ५ गते आइतबार जिल्ला कार्यसमितिको बैठक डाकेका थिए ।

Advertisement

तर कार्यसमितिकै पदाधिकारी र सदस्यहरुले बहिस्कार गरेपछि बैठक स्थगित भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलोपटक बैठक बस्दै थियो । जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु नै अध्यक्षविरुद्ध उत्रिएपछि बैठक सौहार्दपूर्ण बन्न नसकेको बैठकमा सहभागी एक सदस्यले समाधानलाई बताए । बैठक महेन्द्रपुलको एक होटलमा आयोजना गरिएको थियो ।

पार्टी कार्यालयमा बैठक नबसेर होटलमा बोलाइएको भन्दै आलोचना सुरु गरेका सहभागीले सभापति किशोरदत्त बराललाई मार्गप्रशस्त गर्नसम्म सुझाव दिए । सभापति बरालको कार्यशैलीको विरोधको नेतृत्व, बरालसँगै सभापतिमा पराजित सुदीपमोहन भट्टराईले गरेका थिए । उनलाई कार्यसमितिका पदाधिकारी र सदस्यहरुले साथ दिएका थिए । कांग्रेसका तल्ला समितिमा नेतृत्व नगरी एकैचोटि जिल्ला सभापति भएका बराललाई पार्टीको संरचनागत पद्धति बिगारेको आरोपसमेत असन्तुष्ट पक्षले लगाएको छ ।

Advertisement

स्थानीय तहको निर्वाचनमा पार्टी संरचनागत ढंगले परिचालन नभएको, भातृसंगठन र शुभेच्चुक संस्थालाई बेवास्ता गरिएको, पुराना पार्टी कार्यकर्तालाई परिचालन नगरेर एकलौटि गरेको बैठकमा सहभागीले आरोप लगाए । जिल्ला समितिले निर्वाचनको बेला नेता तथा कार्यकर्ताहरुसँग समन्वय नगरेकाले आइतबारको बैठकमा भाग नलिएको जिल्ला समिति सभापतिका प्रत्यासी नेता सुदीपमोहन भट्टराईले बताए । ‘पार्टी नेतृत्वलाई सच्चिनका लागि, पार्टी हितका लागि सांकेतिक रुपमा उपस्थति रहेर पनि माइन्युटमा हस्ताक्षर नगरी वैधानिक सहभागिता नजनाएका हौँ,’ उनले समाधानसँग भने ।

निर्वाचनको बेला पार्टी कार्यालयबाट नचली होटेलबाट चलेको भट्टराईले आरोप लगाए । ‘नेतृत्वपंक्तिले निर्वाचनमा गरेको आघातका कारण सहभागी भएर पनि बैठकमा भाग लिएनौँ,’ उनले भने, ‘महानगरमा २३ वडा जित्दा पनि उपमेयरमा पराजित हुनुपर्‍यो, उपमेयरका उम्मेदवारलाई पार्टीले निर्दलीय जस्तै बनायो ।’ सभापति बरालकै कारण रुपा गाउँपालिकामा पराजित हुनुपरेको, जित्ने वडाहरु पनि हारेको आरोप लगाउदै भट्टराईले समाधानसँग भने, ‘उहाँका कारण कांग्रेस बिग्रन सक्दैन, कि सभापति सच्चिनुपर्‍यो, होइन भने मार्गप्रशस्त गर्नुपर्‍यो । यही कुरा आजको बैठकमा राखेर हामी बाहिरिएका हौं ।’

कांग्रेस जिल्ला समिति कास्कीका सभापति किशोरदत्त बरालले भने व्यक्तिगत कारण पदाधिकारी सहभागी नहुँदा बैठक स्थगित गर्नुपरेको बताए । ‘कोरम नपुग्दा आजको बैठक स्थगित गरेको हुँ,’ उनले समाधानसित भने, ‘अर्काे बैठक असार ११ गतेका लागि आह्वान गरिएको छ ।’ पार्टी कार्यालय हुँदाहुँदा बैठक किन होटलमा भन्ने प्रश्नमा बरालले पार्टी कार्यालय साँघुरो भएकाले र धेरै सहभागी हुने भएकाले होटलमा बैठक डाकिएको बताए ।

‘चुनावको बेला गठबन्धनसँगको सल्लाह अनुसार होटेलमा बैठक बसिएको हो,’ उनले भने, ‘आज धेरैजनाको छलफल र प्रिजेन्टेसन गर्नुपर्ने भएकाले होटेलमा आह्वान गरेका हौँ ।’ सबैले आफ्नो काम, सक्रियता र कर्मको आधारमा चुनाव जितेकाले उपमेयरलाई पार्टीले निर्दलीय बनायो भन्ने आरोप असत्य रहेको तर्क बरालले गरे । चुनावको बेला विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी प्रदान गरिएको सभापति बरालले दाबी गरे ।

सभापति बरालमाथिका आरोप
पार्टी संंरचना र भातृ संंगठन परिचालन नगरेको
उपमेयरका उम्मेद्वारलाई निर्दलीय जस्तै बनाएको
पालिकमा उम्मेद्वार छान्दा समान मापदण्ड कायम नगरेको
पार्टीका वरिष्ठ नेतालाई अपमान गर्दै जिम्मेवारीविहीन बनाएको
आफ्नै घोषणा विपरीत पोखराको मेयरको आकांक्षी बनेको
गठबन्धनको अध्यक्ष भएर पनि सही नेतृत्व दिन नसकेको
पार्टी कार्यालय बन्द गरेर होटलबाट चुनाव परिचालन गरेको

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया