भोलिदेखि गण्डकी प्रज्ञा उत्सव

समाधान संवाददाता २०७९ असार ८ गते १३:२९

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पूरा भएको छ । ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्रांगण पोखरा १ बगर उपल्लो क्याम्पस गेटमा उत्सव हुँदै छ । उत्सव अन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० जना कलाकारद्वारा पर्यटन, संस्कृति, धार्मिक सम्पदाको बारेमा चित्र कोरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

असार १० गते गजल, कविता, मुक्तक र लघुकथा वाचन तथा ‘धनीरामको गोरु’ नाटक मञ्चन हुनेछ । उत्सवमा पोखरेली युवा सांस्कृतिक परिवार, मुक्तक मञ्च कास्की, गजल सन्ध्या कास्की, लघुकथा प्रतिष्ठान नेपाल र इन्द्रेणी थिएटरले सहकार्य गर्ने प्रतिष्ठानले जनाएको छ । साहित्यिक कार्यक्रमतर्फ रमेश श्रेष्ठ र लक्ष्मी थापाका कविता, मन क्षेत्रीका गजल, कपिल शर्माका मुक्तकका अलावा लघुकथासमेत सुन्न पाइनेछ । नाटक दिउँसो ४ बजे मञ्चन हुनेछ ।

हरिदेवी कोइराला, राजु परियार, राजु गुरुङ, पार्वती जिसी, कर्णदास, बाबा राणा, रामभक्त जोजिजु र हार्मोनी गुप्र पोखराको विशेष प्रस्तुति

Advertisement

११ गते विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुनेछ । गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादवचन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिनेछ । यसका अलावा १४ जना अनुसन्धानकर्तालाई प्रशंसा पत्रद्वारा सम्मान गर्ने कार्यक्रमसमेत रहेको प्रतिष्ठानले जनाएको छ ।

गण्डकी प्रज्ञा उत्सवमा हुने सांस्कृतिक कार्यक्रममा कलाकारहरु हरिदेवी कोइराला, राजु परियार, राजु गुरुङ, पार्वती जिसी, कर्णदास, बाबा राणा, रामभक्त जोजिजु र हार्मोनी गुप्र पोखराको विशेष प्रस्तुति रहनेछ । राजबहादुर गुरुङ, विनोद बानियाँ, सन्तोष बस्याल, प्रिया गुरुङ, उषा गुरुङको प्रस्तुतिसमेत सुन्न पाइनेछ ।

Advertisement

तरेली सांस्कृतिक परिवारको नृत्य, झलकमान गन्धर्व पाठशालाको लोकधुन, बुद्धिमान दुरा ‘धम्पु’ समूहको ठाडो भाका र थारु समुदाय, नेवा समुदाय, गुरुङ समुदाय, ब्राह्मण समुदाय, मगर समुदाय र क्षेत्री समुदायको झाँकीसमेत प्रदर्शन हुनेछ । उत्सव अवधिभर पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीको तर्फबाट विज्ञान तथा प्रविधि प्रदर्शनीसमेत गरिनेछ । नयाँ पुस्तालाई मौलिक संस्कृतिको बारेमा जानकारी दिन तथा उनीहरुमा अभिरुचि प्रदान गर्न उत्सव आयोजना गर्न लागिएको सदस्य सचिव श्रेष्ठले बताए ।

निरन्तर यसै क्षेत्रमा लागेकालाई सम्मानमार्फत हौसला बढाउन मात्र नभएर स्रष्टाहरूलाई एकेडेमीसँग साक्षात्कार गराउँने कार्यक्रमको लक्ष्य रहेको उनले खुलाए । गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्धन गर्न क्रियाशील बन्ने उपकुलपति गोरे गुरुङले बताए । ‘प्रज्ञा उत्सव’ कार्यक्रममका सहभागी भई रौनकता प्रदान गरिदिन सबैमा उनको आग्रह छ । आगामी वर्षदेखि वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ ।

मुख्य कार्यक्रम प्रतिष्ठानले हालै निर्माण गरेको भानु हलमा हुने कुलपित सूर्य खड्का विखर्चीले बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना २०७८ वैशाख १५ गते भएको थियो ।

तपाईको प्रतिक्रिया