पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम

हरेक ६ महिनामा ३ हजारलाई रोजगारी

समाधान संवाददाता २०७९ असार ९ गते १०:४५

पोखरा ।
हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा ३ हजार रोजगारी थप गर्ने महत्वकांक्षी योजना पोखरा महानगरपालिकाले लिएको छ । सीपसँगै रोजगारी र उद्यमशीलताको विकास गर्न सक्षम परियोजना सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
बुधबार सार्वजनिक आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रममा मेयर धनराज आचार्यले ३ हजार रोजगारी थप्ने योजना सार्वजनिक गरे । नीति तथा योजनामा आचार्यले आफ्नो उम्मेदवारी दिँदा सार्वजनिक गरेको घोषणापत्रका धेरै पक्ष समावेश भएका छन् ।

महानगरले कक्ष १२ पास भएकालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, व्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेरिनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजाइन, वेबपेज डिजाइन, भिडियो एडिटिङ, वेटर जस्ता सीपसँग जोड्ने भएको छ । मेयर आचार्यले उद्योग तथा सहकारी, पर्यटन र शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गरिने जनाए ।

चुनावी घोषणापत्रका धेरै पक्ष समेटिए
आगामी वर्ष प्रथम लगानी सम्मेलन
१ महिनाभित्र हेलो मेयर कार्यक्रम
आगामी वर्षदेखि ३६५ दिन नै सार्वजनिक सेवा

Advertisement

महानगरले रोजगारका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन, अनलाइन रोजगार बजार, स्वरोजगार, उद्यमशीलता बढाउन मानव संशाधन विकास केन्द्रको रुपमा रोजगार बैंक स्थापना हुने जनाएको छ । ‘दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न महानगर विशेष रोजगार कार्यक्रम सञ्चालन गरिनेछ,’ मेयर आचार्यले भने, ‘रोजगार सूचना केन्द्र स्थापना गरी स्थानीय, राष्ट्रिय, वैदेशिक तथा निजी क्षेत्रसँग सञ्जालीकरण गरी मागसँग आवद्ध गरिनेछ ।’ उनले बेरोजगारको तथ्यांक र अभिलेख व्यवस्थापन गरी श्रम बजारको आवश्यकता अनुसार व्यवसायिक तथा सीप विकास तालिम कार्यक्रम ल्याउने योजना सुनाए ।

स्वरोजगार सिर्जना गर्न अभियान चलाउने जानकारी दिँदै मेयर आचार्यले महानगरमा उद्योग, व्यवसाय सहायता र सहजीकरण डेस्क बन्ने उल्लेख गरे । महानगरले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विकास, विस्तार र आधुनिकीकरण गर्ने नीति लिएको छ । आफ्नो लागि आवश्यक पर्ने सामग्री किन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने जनाइएको छ । महानगरले आगामी आर्थिक वर्षमा प्रथम लगानी सम्मेलन गर्ने घोषणा गरेको छ ।

Advertisement

महानगरले सहरी सौन्दयीकरण, भौतिक पूर्वाधार, सहरी विकास, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको छ । ११ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी २ वर्षभित्र प्रमुख सहरी क्षेत्रमा टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइवर जडान गर्ने योजना छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा बिजुलीका तार भूमिगत गर्ने महानगरको योजना छ ।

सहरका मुख्य बजार क्षेत्रमा राजमार्ग पर्ने भएकाले सडक जामको दीर्घकालीन समाधानका लागि आगामी वर्षभित्र पृथ्वीचोकमा अन्डरपास तथा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन गर्ने नीति लिएको छ । पोखरा चक्रपथ निर्माणका लािग विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । शिशुवा अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउने महानगरको नीति छ । आगामी ४ वर्षभित्र एक सुविधा सम्पन्न मेट्रो अस्पताल बनाउने योजना महानगरले सार्वजनिक गरेको छ । पृथ्वीचोक बसपार्कको क्षेत्रफल यकीन गर्नेदेखि अव्यवस्थित बसोबासी (सुकुम्बासी)लाई उपयुक्त स्थानमा बहुतले भवन निर्माण गरी स्थानान्तरण गर्ने महानगरको नीति छ ।

त्यसलाई सिटी बसपार्कको रुपमा निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । महानगरले लामेआहालको बसपार्कलाई पोखरा बसपार्क र पोखरा २ मा अवस्थित बागलुङ बसपार्कलाई विन्ध्यवासिनी बसपार्क नामाकरण गरी स्तरोन्नति गर्ने मेयर आचार्यले जनाए । फोहोरमैला उत्सर्जन घटाउन तथा स्रोतमै वर्गीकरण गरी पुनः प्रयोग एवं पुनः चक्रीय फोहोरमैला बिक्री वितरण गरी आयआर्जन गर्ने वातावरण सिर्जना गर्ने नीति लिइएको छ । निजी तथा सहकारी क्षेत्रसँगको सहकार्य-साझेदारीमा कुहिने फोहोरको व्यवस्थापन एवं प्रशोधनमार्फत् बायोग्यास र प्रांगारिक मल उत्पादन गर्न प्रोत्साहन गर्ने, त्यसरी उत्पादित मललाई अनुदान सुविधामा कृषकसम्म पुर्‍याउने नीति महानगरले लिएको छ ।

पोखरा १४ मा रहेको अहिलेको ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुअघि नै अगावै अन्यत्र सार्ने निर्णय भइसकेको छ । मेयर आचार्यले फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी उद्यमशीलता, ऊर्जा र हरित व्यवसायसँग जोड्ने र सेनेटरी ल्यान्डफिल साइट निर्माणलाई अघि बढाउने जानकारी दिए । महानगरको कार्यसम्पादन गुणस्तरको सम्बन्धमा सुझाव तथा जनगुनासो सुन्न र समाधान गर्नका लागि ’हेलो मेयर कार्यक्रम’ १ महिनाभित्र सुरु हुने भएको छ । आगामी वर्षदेखि महानगरबाट प्रदान हुने सार्वजनिक सेवा ३ सय ६५ दिन नै प्रवाह हुने गरी व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा छ । टोल फ्रि सहितको हेल्पलाइनबाट सरल, सहज र शीघ्र सेवा प्रवाह गर्ने घोषणा गरेको महानगरले क्षतिपूर्तिसहितको डिजिटल नागरिक वडापत्रको व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने नीति लिएको छ ।

महानगरले उत्थानशील पर्यटकीय पूर्वाधार विकास निर्माणलाई नीति तथा कार्यक्रमका मार्गदर्शक सिद्धान्तका रुपमा मानेको छ । ‘पर्यटकीय गतिविधिमा वृद्धि, पोखरा सहरको समृद्धि’ भन्ने अवधारणालाई साकार पार्न महानगरले पर्यटन पूर्वाधार र प्राकृतिक सम्पदाकोे संरक्षण गर्ने नीतिअघि सारेको छ । त्यस्तै मुख्य सहर फेवाताल लगायत १० तालको सौन्दर्यीकरण, सरसफाइ, सहरी सुरक्षा र आतिथ्यता जस्ता क्षेत्रमा नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारसँगको समन्वयमा लगानी केन्द्रीत गर्ने नीति लिइएको छ ।

‘पोखरालाई विश्वको उत्कृष्ट १० पर्यटकीय गन्तव्यका रुपमा लिइएको छ,’ मेयर आचार्यले भने, ‘पोखराको प्रमुख आकर्षण यहाँका पर्यटकीय स्थल हुन् । पर्यापर्यटन, वातावरण र विकासलाई अन्योन्याश्रित रुपमा अंगिकार गरी यससम्बन्धी ऐन नीति तथा कार्यविधि तर्जुमा गरिनेछ ।’ उनले पोखरा महानगर पर्यटन समितिलाई अधिकार सम्पन्न बनाएर पर्यटन प्रवद्र्धन गरिने बताए । पोखरालाई संसारभर चिनाउन र पोखरेली पर्यटन उद्योग प्रवद्र्धन गर्न एक ल्यान्डमार्कको निर्माण गरिने भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समग्र गण्डकीको समृद्धिका लागि प्रदेशको राजधानी पोखराबाट सुरुवात गर्नुपर्ने बताए । उनले राजधानी व्यवस्थित, सुरक्षित र हराभरा भए प्रदेशको समृद्धि सम्भव भएको उल्लेख गरे । उनले पोखराले पर्यटकीय राजधानीको कानुनी मान्यता नपाएको चर्चा गरे । नगरसभामा पोखराका उपमेयर मञ्जुदेवी गुरुङ, वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांग, वडा नम्बर १७ का अध्यक्ष राधिका शाही योगी, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बोलेका थिए ।

तपाईको प्रतिक्रिया