धवलागिरि अस्पतालमा बिरामी बढे, डाक्टर घटे

राष्ट्रिय समाचार समिति (रासस) २०७९ असार ९ गते ११:३२

बागलुङ ।
बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ ।

चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामीलामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो समय धवलागिरि अस्पतालमा सुधार भएको छ । अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा ध्यान दिइएको छ । चिकित्सकको समस्या भने उस्तै छ ।

दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चलेको छ । चिकित्सक अभावमा बिरामीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । अस्पतालमा दैनिक ३ सयदेखि ४ सय बिरामी सेवा लिन आउने गरेका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढेको हो ।

Advertisement

छालासम्बन्धी, ज्वरो, झाडापखला लगायतका बिरामी बढेका छन् । ‘गर्मी बढेपछि बिरामीको संख्यामा वृद्धि भएको छ,’ डा पोखरेलले भने,, अस्पतालबाट एकैपटक पाँच मेडिकल अधिकृतले छाडेर जानुभयो, सेवा दिन समस्या भइरहेको छ ।’ एक मेडिकल सुपरिटेन्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट बाहेक अरु दरबन्दी रिक्त छ । करार र छात्रवृत्तिका चिकित्सकले सेवा दिइरहेका छन् ।

५ करारका मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कार्यरत छन् । उनीहरूको सेवा अवधि सकिन लागेको अस्पतालले जनाएको छ । छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकले २ वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियमानुसार आउने गर्छन् । चिकित्सकको माग गर्दै प्रदेश र संघीय मन्त्रालय धाइरहेको पोखरेलले सुनाए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया