सम्पादकीय: रविको राजनीतिक यात्रा

समाधान संवाददाता २०७९ असार ९ गते १२:०८

दार्शनिक सुकरातले भनेका थिए, ‘संसारका सबैभन्दा तेज दिमाग भएकाहरुलाई राजनीतिमा ल्याउनुपर्छ ।’ उनले आदर्श राजनीति र देशको कायाकल्पको सपना देखेका थिए । समय फेरिँदै जाँदा राजनीति सबैभन्दा उत्तम सेवाबाट अहिले व्यवसाय जस्तो बनेको छ । धेरै विकासोन्मुख देशमा राजनीतिलाई फोहोरी खेलको रुपमा चित्रण गरिन्छ । त्यस्तो राजनीतिमा नयाँ पुस्ता चासो राख्दैनन्, संसारका तेज दिमागको संलग्नता त परैको कुरा भयो । नेपाल पनि करिब करिब यस्तै अवस्थामा पुगेको छ ।

विभिन्न कालखण्डमा ऐतिहासिक आन्दोलन गरी राजनीतिक परिवर्तन गरेका नेपालीहरु अहिले नेता, कार्यकर्ताको व्यवहार र कार्यशैलीबाट आजित छन् । यसलाई फोहोरी खेल भन्न थालिएको छ । यही खेलमा मंगलबारबाट औपचारिक रुपमा रवि लामिछाने पनि प्रवेश गरेका छन् । उनको पत्रकारिता परित्याग गरी राजनीति प्रवेशलाई अनेक कोणबाट विश्लेषण गरिँदै छ ।
अहिले नेपालका ‘शीर्ष’ तहका धेरै नेता सही बाटोमा छैनन् । राजनीतिलाई सेवा होइन, लेनदेन बनाइएको देखिन्छ । कुनै इलम, आम्दानीका स्रोतबिना नेता, कार्यकर्ताको हैसियत फेरिएको छ । जवनशैली राजसी खालको हुँदै गएको देखिन्छ ।

यो विषय नेपालीलाई थाहा छ । पछिल्लो समय यस्तै विकृतिलाई सञ्चार माध्यममा उठाउने रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी बताएका छन् । आममानिसका दुःखका कथा–व्यथालाई मूल धारमा ल्याएकाले उनको प्रभाव जनतामा छ । त्यो मंगलबार राजधानीको सभागृहमा पनि देखियो । पीडामा पर्दा नागरिक पुलिस प्रशासन वा न्यायालयमा जानुभन्दा रविको कार्यक्रममा जान चाहन्थे । यो परिस्थिति सुध्रिएको छैन । अर्थात् आफूले सुरु गरेको अभियान रविले बीचैमा छाडेका छन् । नागरिकले राज्यका संयन्त्र र न्यायालयलाई विश्वास नगरी सञ्चारमाध्यमबाट न्यायका लागि आवाज बाहिर लैजान खोज्नुपर्ने आवस्था लोकतन्त्रका लागि लाज्जाको विषय हो । तथापि राज्य संरचनाले यसको महसुस कत्ति पनि गरेको छैन ।

Advertisement

रविका केही व्यवहार पत्रकारिताका स्थापित मान्यताविपरीतका थिए । पत्रकारिताको शास्त्रीय मान्यताविपरीत उनी कहिले वकिल, कहिले न्यायाधीशकै रुपमा पर्दामा देखिन्थे । अब उनी पत्रकारले राख्ने त्यस्तै प्रश्नको आफैंले जवाफ दिनुपर्ने दायित्वतिर यात्रामा छन् । पत्रकारिता परित्याग गरी खुला राजनीतिमा आउनु स्वागतयोग्य छ । पत्रकारिता नछोडेरै दलको झण्डा बोक्ने र लाभ लिइरहनेहरुको संख्या ठूलो छ । पत्रकारिताको यस्तो दुरुपयोग गरेको आरोप उनले खेप्नु परेन । उनले स्वतन्त्र नामको पार्टी बनाएका छन् । यसले स्वतन्त्र उम्मेदवारी दिने र दलबीच भ्रम उत्पन्न हुन सक्छ । राजधानीसहित देशका केही ठूला सहरमा स्वतन्त्र र बागीको विजयबाट उत्साहित बनेका रविले पत्रकारिताबाट निर्माण गरेको छविको लाभ लिने र अहिलेका दलहरुलाई मन नपराउने युवा वर्गको साथ पाउने उपाय खोजेको देखिन्छ । भलै यो उनको अपेक्षा अनुरुप दल दर्ता हुन बाँकी छ ।

Advertisement

तपाईको प्रतिक्रिया