
पोखरा ।
अघिल्ला वर्ष असार दोस्रो साता पोखरा ३२ मालमुल फाँटका किसान रोपाईमा व्यस्त हुन्थे । यसपालि भने उनीहरु खेत छाडेर पोखरा महानगर गेटमा छन् । रोपाईको चटारोको सट्टा उनीहरु पोखरा महानगरपालिकामा धर्ना बसेका छन् । गत वर्ष भदौमा आएको बाढीले सिंचाईको नहर भत्कायो । नहर भत्किएपछि करिब ४ हजार रोपनी जग्गामा सिँचाइको समस्या छ ।
गएको जेठमा नहर मर्मत गर्न वडा कार्यालय र पोखरा महानगरपालिकाको पहलमा काम सुरु भयो । स्टिमेटभन्दा आधा कम बजेट पाएका स्थानीयबासी स्थानीय स्रोत, साधन प्रयोग गरी काम गर्ने योजनामा थिए । तर उनीहरुको योजना अहिले अवरोध आएको छ । काम रोक्न अख्तियार र प्रहरीमा उजुरी पर्यो । किसान सुरेन्द्र खनालले नहर मर्मतको ५० प्रतिशत काम भइसक्दा अख्तियारमा मुद्दा परेकाले काम रोकिएको बताए । उनी भन्छन्, ‘नहरको काम सकिन्छ र असारे धान लगाउला भन्ने आश त मरिसकेको छ तर झिनो अपेक्षा बोकेर हामी महानगरमा धर्ना दिन आएका छौं ।’
अघिल्लो साल बाढीले भत्काएको नहर मर्मत नहुँदा एक सिजनमा २० हजार मुरी धान फल्ने खेत बाँझै हुने खतरा
नहर मर्मत तत्काल सुरु भए १५-२० दिनमा सकिने अवस्था छ । ढिलै भए पनि धान रोप्न पाउने आशामा किसान छन् । खनाल भन्छन्, ‘केहि दिनमा काम सुरु भए १५–२० दिनमा नै सकिन्छ । रोपाई गर्न पाउथ्र्याैं ।’ १८ दिनअघि नहर मर्मत थालिएको थियो । बीचमा केही युवाले गुन्डागर्दी शैलीमा आएर काम रोके । प्रहरीको समन्वयमा सहमति खोजेर फेरि काम सुरु भएको थियो । ५ दिनअघि अख्तियारमा मुद्दा परेपछि काम गरिरहेको डोजर र टिप्परका चाबी खोएिको छ ।
गाउँ–गाउँको सिंहदरबार मानिने महानगरले समस्या समाधानमा उचित पहल नगरेको किसानको गुनासो छ । काम रोकिएपछि गुनासो लिएर अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, सडक विभाग, सिंचाई विभाग, नगरपालिका सबैतिर पुगेका किसानले काम सुरु हुन्छ भन्ने आश्वासन पाएका छन् । तर, काम सुरु भएको छैन । कानुन अनुसार असार, साउन र भदौ महिनामा खोला, नदीबाट बालुवा, गिटी झिक्न पाइँदैन । त्यही कारण देखाएर बखेडा भएको कृषकहरु बताउँछन् ।
एक कृषकले भावुक हुँदै भने, ‘हामीले निजी स्वार्थका लागि स्रोत चलाएका होइनौं । नहर बनेन भने हामी कृषकले धान रोप्न पाउदैनौं ।’ कतिपयलाई त नहर मर्मत हुन्छ भन्ने विश्वस नै छैन । त्यसैले असार लाग्दा पनि उनीहरुले विउ राखेका छैनन् ।
मालमुल फाँटमा एक सिजनमा कम्तीमा २० हजार मुरी धान फल्ने किसान बताउँछन् । किसान सुरज तिवारील जोठोबुढो, मन्सुली, पहेंले जस्ता लोकल प्रजातिका धान त्यहाँ उत्पादन हुने बताउँछन् ।पोखरा ३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्कीले जिल्ला विपद् समितिले निर्णय गरिसकेकाले चाडै समस्या समाधान हुने बताए ।
नहर मर्मतका लागि स्टिमेट ४ करोड ६० लाख भए पनि २ करोड ४० लाखमात्र बजेट निकासा भएको छ । अहिले स्रोतले नपुग्ने र अर्काे वर्ष निर्माण गरेर नहुने भएकाले बाँकीका लागि स्थानीय स्रोत, साधन प्रयोग गरिएको उनी बताउँछन् । नीति, नियममै टेकेरै काम गरेका उनको दाबी छ । उनी भन्छन्, ‘जहाँबाट बगाएर लगेको हो, ल्याएर त्यही हाल्ने हो । खेत भत्केर गएको खोला र त्यहाँको माल हो । मुहान नभएको खोला हो ।’ उनले यसै सिजनमा खेती गर्न मिल्ने गरी समस्या समाधानको पहल भइरहेको बताए ।









सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया