शिक्षक–जनप्रतिनिधिका छोराछोरी सामुदायिकमा अनिवार्य, बोर्डिङ पढाए सेवा सुविधा रोकिने

समाधान संवाददाता २०७५ चैत २५ गते १०:२४

समाधान सम्वाददाता, पोखरा ।

रुपाज्योति माविका प्रधानाध्यापक छन्, मोतीराम कँडेल । उनले सामुदायिक विद्यालयमा पढाए तर २ सन्तानलाई भने निजी बोर्डिङ स्कुलमा हाले र माध्यामिक तह उतारे । उनको अर्को छोराको स्कुल जाने उमेर पुगेको छ । कँडेलले यसपालि भने आफ्नो छोरालाई सामुदायिक विद्यालयमै पढाउने भएका छन् ।

कास्की रुपा गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पालिकाका सबै जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढाउने नीति लिएपछि कँडेलले पनि प्रतिबद्धता जाहेर गरे । सामुदायिक विद्यालयप्रति जनताको बढ्दै गएको विश्वासलाई उठाएर रुपा गाउँपालिकालाई देशकै नमुना शैक्षिक हब बनाउने लक्ष्यसहितको योजना ल्याएपछि कँडेलजस्तै अरुले पनि यस्तो प्रतिबद्धता गरेका छन् ।

Advertisement

रुपा गाउँपालिकामा ३१ विद्यालय छन् । जसमा १० वटा मावि र बाँकी प्रावि हुन् । ती विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षका अधिकांश छोराछोरी अहिले पनि निजी स्कुलमै पढ्छन् । पालिकाका प्राय जनप्रतिनिधिका छोराछोरी पढ्ने स्कुल पनि निजी नै छ ।

गाउँपालिकाको अगुवाइमा सरकारी कर्मचारी, शिक्षकदेखि जनप्रतिनिधिसम्मका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउने आइतबार सामूहिक प्रतिबद्धता गरेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै जाने र निजी विद्यालयले गाउँसम्मै बस पु¥याएर विद्यार्थी लाने क्रम बढेपछि गाउँपालिकाले शैक्षिक सुधारको नीति लिएको हो ।
अब रुपा गाउँपालिकाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, शिक्षक र सबै जनप्रतिनिधिले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ ।सामुदायिक विद्यालयमा नपठाउनेको सेवासुविधा रोक्ने गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

Advertisement

रुपाको देउरालीमा ३ दिनसम्म कार्यशाला गरेर २०८५ सम्ममा देशकै शैक्षिक नमुना पालिका बनाउने लक्ष्यसहित सरोकारवालाले १० बुँदे प्रतिबद्धता जारी गरेका छन् । सामूहिक प्रतिवद्धताको पहिलो बुँदामै सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने उल्लेख छ ।

विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहभागी ३ दिनसम्मको आवासीय सकारात्मक विद्यालय व्यवस्थापन तथा प्रज्ञिक नेतृत्व कार्यशालापछि सामूहिक प्रतिवद्धता गरिएको हो । ‘यसअघि विद्यालय सुधारका ११ प्रतिबद्धता जारी गरिएको थियो । अहिले ती सबै कार्यान्वयन भएका छन् । यसपाली भएको प्रतिबद्धता पनि पूर्ण रुपमा कार्यान्वयन हुने विश्वास छ,’ पालिका अध्यक्ष नवराज ओझाले भने, ‘हामी निरन्तर अनुगमन गर्छौं, रिपोर्ट लिन्छौं । प्रतिबद्धता पूरा नभए सेवा सुविधा रोक्कासमेत गर्नेछौं । हाम्रो आशा छ यहाँ त्यो अवस्था आउने छैन ।’

विश्वशान्ति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेले शिक्षकले अध्यापनतर्फ बढी ध्यान दिने र अरुले पनि विद्यालय बिग्रनुको नैतिक जिम्मेवारी लिने हो भने सामुदायिक विद्यालय धेरै सुधार हुने बताए । ‘म अध्यक्ष रहेको विद्यालयमा शिक्षकले आफूले पढाउने किताबसमेत हातमा देख्दिन,’ घिमिरेले भने, ‘शिक्षक जिम्मवार हुने र अध्यक्ष लगायत पदाधिकारी पनि जिम्मेवार हुने हो भने सुधार गर्न सकिन्छ ।’

कार्यशालामा सहभागी अधिकांश प्रधानाध्यापक तथा अध्यक्षले विद्यालयमा दरबन्दी कम भएको, कम विद्यार्थी भएका विद्यालय मर्ज गरेर सेवा थप्नुपर्ने आवाजसमेत उठाए । गाउँपालिकाले २८ गतेदेखि चलाउने भर्ना अभियानमा सबै सरिक हुने, हरेक शिक्षकले समय सापेक्ष परिमार्जित हुँदै प्रविधिको प्रयोग गर्दै बालमैत्री कक्षा सञ्चालन गर्ने प्रधानाध्यापक तथा अध्यक्षहरुले प्रतिवद्धता गरेका छन् ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले बजेटमार्फत यसअघि पनि शिक्षालाई प्राथमितामा राखेर बजेट विनियोजन गरिएको र यसपटक पनि विशेष प्राथमिकतामा राख्ने बताए । रुपा गाउँपालिकामा इन्जिनियरिङ, ओभरसियर लगायत प्राविधिक विषयसमेत पढाउन सफल भएको बताउँदै अध्यक्ष नवराजले भने, ‘शिक्षाकै लागि कसैले गाउँ छोड्नु नपरोस् बरु बाहिरबाट भिœयाउन सकियोस् भन्ने लक्ष्य हो ।’

सोही क्षेत्रका प्रदेश सभा सांसद दीपक कोइरालाले गाउँपालिकाले शिक्षाको ठूलो तरंग ल्याएको र सामुदायिक विद्यालयमै आफ्ना छोराछोरी पढाउने सामूहिक प्रतिबद्धताले अर्को तरंग ल्याउने बताए । ‘यो सामूहिक प्रतिबद्धताले अन्य क्षेत्रमा पनि दबाब र तरंग सिर्जना गर्ने छ,’ कोइरालाले भने, ‘मजस्ता सांसदलाई पनि यो प्रतिबद्धताले दबाब दिने छ ।’

तपाईको प्रतिक्रिया