स्थानीय तह

लोघेकर दामोदरकुण्डको बजेटमा शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता

सुन्दरकुमार थकाली २०७९ असार ११ गते १३:२०

जोमसोम–

मुस्ताङको ५ स्थानीय तह मध्ये सबैभन्दा बढी पीछडिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्चप्राथमिकतामा राखेर बजेट पारित गरेको छ ।लोघेकर दामोदरकुण्डले आर्थिक वर्ष २०७९÷०८० का लागि विनियोजन गरेको कुल पुँजिगत बजेट १२ करोड ३७ लाख मध्ये शिक्षा र स्वास्थ्यमा २ करोड २६ लाख ५९ हजार बजेट विनियोजन गरेको हो ।

स्थानीय तह सदस्य २०७९ निर्वाचनपछि शुक्रबार भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका दोश्रो गाउँ सभामा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले नीति तथा कार्यक्रम र उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले बजेट प्रस्तुत गरे । भौगोलिक रुपले विकट लोघेकर दामोदरकुण्डले शिक्षा क्षेत्रमा १ करोड ४५ लाख बजेट विनियोजन गरेको छ भने स्वास्थ्य क्षेत्रमा १ करोड ८१ लाख बजेट विनियोजन गरेको गाउँसभामा उपाध्यक्ष गुरुङले जानकारी दिईन् ।

Advertisement

लोघेकरले गाउँपालिकामा रहेका विपन्न वर्ग तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृद्धिको व्यवस्था मिलाएको छ ।प्रत्येक सामुदायिक विद्यालयमा मौलिक शिक्षा तथा सम्वोटा लिपिको पाठ्यक्रम निर्माण गरि पठन÷पाठन कार्यान्वयन गराउने,विद्यालयको सस्थागत सुदृढिकरण गर्ने, नवप्रवद्र्धनात्मक कार्य तथा सृजनात्मक क्षमता प्रर्दशन र प्रतिभालाई प्रोत्साहन गर्ने ,विद्यार्थीको सिकाई डिजिटल सामाग्रीको व्यवस्था गर्ने,विद्यालयमा भर्ना भएका सबै विद्यार्थीको लागि बाल बैंक बचत कार्यक्रमलाई निरन्तरता दिने ,हिउँदयाममा जाडो छल्नका लागि गाउँपालिकाका सबै विद्यालयहरुको घुम्ती कक्षा सञ्चालन गर्न ३० लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै,स्वास्थ्यक्षेत्रमा स्थानीय स्तरमा प्राकृतिक चिकित्सा पद्यती सोवा रिक्पा कार्यान्वयनका लागि कानुन तर्जुमा गरी सस्थागत गरिने,परिवार नियोजन,किशोर किशोरी तथा प्रजनन् स्वास्थ्य,आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन बजेट लक्षित गरिएको छ ।गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुको सुदृढिकरण तथा स्तरवृद्धि गर्दै लैजाने, स्वास्थ्य चौकी नभएको वडामा स्वास्थ्य चौकी विस्तार गर्न पहल गर्ने लगायतका कार्यक्रम छन् ।

Advertisement

गाउँपालिका भित्रको पूर्वाधार विकासका लागि २ करोड बजेट विनियोजन गरिएको छ । गाउँपालिका भित्र ढुङ्गा गिट्टी बालुवा उत्खनन्का लागि वातावरण प्रभाव मूल्याकन ( ईआए र आईई) गर्न नीति लिईने उल्लेख छ । प्रत्येक गाउँबाट गाउँपालिका केन्द्र जोड्ने सडक बाटोको स्तरोन्नति गर्ने ध्ये र ताङ्ग्या क्षेत्र र ढाक्मरमा बाह्रै महिना यातायात सञ्चालन गर्न पक्की पुल निर्माण गर्ने र घमी ढाक्मर मोटर बाटोलाई ग्राभेल सडक बनाउने लगायतका योजनलाई प्राथमिकतामा राखिएको छ ।

लोघेकर दामोदरकुण्डले लघु विकास सम्वन्धि कार्यक्रमका लागि २४ लाख बजेट छुट्याएको छ । जसअन्तर्गत युवाहरुको सीप विकास,क्षमता विकास र व्यवसाय सञ्चालन सम्वन्धि कार्यक्रम छन् ।गाउँपालिकाको आन्तरिक श्रोत वृद्धि गर्न राजश्व परिचालन सम्भाव्यता अध्ययन गर्ने,स्थानीय व्यवासायिक ,उत्पादनमुलक ग्रामिण उद्योगको स्थापना गर्दै लगानी अभिवृद्धि गर्ने आदी छन् ।

यस्तै,सुशासन ,सेवा प्रवाह,संञ्चार र सस्थागत कार्यक्रमका लागि २ करोड ६० लाख विनियोजन गरिएको छ ।गाउँपालिका र सबै वडा कार्यालयहरुमा गुणस्तरीय मोवाईल नेटवर्क तथा ईन्टरनेटको पहुँच पू-याउन पहल गर्ने,योजना तथा कार्यक्रम कार्यान्वयन प्रगती एवं जनभावना प्रस्फुटन गर्न सार्वजनिक सुनुवाई गर्ने जलवायुमैत्री र दिगो विकासमैत्री बजेट प्रणालीलाई अवलम्वन गर्ने,संघ र प्रदेश र स्थानीय तहको साझेदारीमा योजना कार्यान्वय गर्ने र न्यायिक क्षेत्र सम्वन्धि सचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाकी उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले पेश गरेको कुल बजेटको १० करोड ९६ लाख ९० हजार अर्थात ४७ प्रतिशत बजेट चालु खर्चमा प्रतिस्थापन गरिएको छ । पुँजिगत तर्फ १२ करोड ३७ लाख ५३ हजार अर्थात ५३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

लोघेकरको बजेटमा संघ तथा प्रदेश सरकारको वित्तिय समानिकरणसहित गाउँपालिकाको अनुमानित संञ्चित कोष जोडेर २३ करोड ३४ लाख ४३ हजार छ ।जसमध्ये संघीय वित्तिय समानिकरण अनुदान ७ करोड ४२ लाख र प्रदेश वित्तिय समानिकरण अनुदान ३७ लाख ५९ हजार समावेश छ ।

यसैगरी संघीय शसर्त अनुदान ६ करोड २८ लाख र प्रदेश शसर्त अनुदान ५० लाख छ । संघीय विशेष अनुदान २ करोड ८३ लाख र संघीय समपुरक अनुदान ४० लाख छ । प्रदेश समपुरक अनुदान ५० लाख छ भने गाउँपालिकाको अनुमानित सञ्चित कोष २० लाख छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया