‘जनताको बहुदलीय जनवादकै कारण नेपालमा कम्युनिस्ट प्रभुत्व’

समाधान संवाददाता २०७९ असार १५ गते १०:४२

पोखरा ।
जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको सन्दर्भमा नेकपा (एमाले कास्कीले मंगलबार ‘वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा समाजवादको यात्रा’ विषयक प्रवचन कार्यक्रम गरेको छ । सोही सन्दर्भमा प्रेस चौतारी नेपाल कास्कीले जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तर संवाद आयोजना गर्‍यो ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको समन्वयमा ‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने नाराका साथ कार्यक्रम भएको हो । कार्यक्रममा एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले राष्ट्रिय पुँजीको निर्माण नगरेसम्म समाजवादमा जाने आधार तयार गर्न नसकिने बताए । सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा कायम सामन्तवादले समग्र उत्पादन क्षेत्रमा असर परेको उनले उल्लेख गरे । उनले आयात प्रतिस्थापन गरी निर्यातलाई प्रवद्र्धन गर्न योजनाबद्ध ढंगले काम गर्नुपर्ने जनाए ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद संसारकै लागि नयाँ र अनुसरण योग्य भएको दाबी गर्दै उनले भण्डारीले प्रतिपादन गरेको विचारले संसारभरी प्रभाव पारेको बताए । पूर्वी युरोप, सोभियत संघ लगायतका मुलुकमा कम्युनिस्ट समाजवादी व्यवस्था गल्र्यामगुर्लुम ढल्दा नेपालमा जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारका कारण कम्युनिस्ट आन्दोलन सशक्त भएको दाबी गरे ।

Advertisement

प्रेस चौतारी नेपालको कार्यक्रममा नेता अधिकारीले संविधानको सर्वोच्चता, बहुलबादी खुला समाज, शक्ति पृथकीकरण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, मानव अधिकारको सम्मान, आवधिक निर्वाचन लगायत जबजका विशेषता रहेको बताए । ‘जबजले प्रेस मैत्री वातावरण र मानव अधिकारको सम्मानप्रति पार्टीका नेता तथा कार्यकर्तालाई अभ्यस्त बनाएको छ,’ नेता अधिकारीले भने । व्यक्तिगत स्वतन्त्रताका पहिलो विचारक कार्ल माक्स भएको दाबी गर्दै उनले अभिव्यक्ति स्वतन्त्रतालाई धेरै मूल्यसहित बुझ्ने कम्युनिस्ट भएको बताए ।

एमाले केन्द्रीय सदस्य भीम कार्कीले जबजको मार्गदर्शक सिद्धान्तलाई धेरै देशका कम्युनिस्ट पार्टीले अंगालेको जानकारी दिए ।उनले पार्टीले जबजको स्वामित्व ग्रहण गर्दै विश्वव्यापी बनाउन पहल गरेको बताए । कार्कीले सोभियत मोडेलका कम्युनिस्टहरु रक्षात्मक अवस्थामा पुग्दा जबजको कारण नेपालको कम्युनिस्ट आन्दोलन सधै उचाईमा पुगेको जिकिर गरे । पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले स्थानीय तहको निर्वाचनको निर्मम समीक्षा गरी प्रदेश तथा संघको निर्वाचनको तयारीमा जुट्नुपर्ने बताइन् ।

Advertisement

कार्यक्रममा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले बोलेका थिए । प्रेस चौतारीको कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी उपसचिव रश्मि आचार्यले मदन भण्डारीले समाज र पार्टी भित्रको लोकतान्त्रिकीकरणको सवाललाई उठाएको उल्लेख गरे । अग्रज पत्रकार नारायण कार्कीले लोकतन्त्रको प्राण वायु भएका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कहिल्यै कुण्ठित हुन नहुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रेस चौतारी नेपाल गण्डकी अध्यक्ष ईन्द्रप्रसाद पौडेल, कास्कीका अध्यक्ष अर्जुन गिरी, सचिव रञ्जन अधिकारी लगायतले जबज र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया