रुपामा चाक्लाबन्दी गरेर रोपाइँ

लेखनाथ ।
कास्कीको रुपा गाउँपालिकाले कृषिलाई अनेक तवरले सघाइरहेको छ । संघीयतासँगै स्थानीय तह र प्रदेश सरकार बनेर कृषिमा यान्त्रिकीकरण बढेपछि यहाँ चाक्लाबन्दी गर्न थालिएको छ । गाउँका ११ जनाको ८५ रोपनी जमिनलाई चक्लाबन्दी गरी खेती गर्न सुरु गरिएको हो ।
स्थानीय बुद्धिबहादुर गुरुङको नेतृत्वमा चक्लाबन्दी गरिएको जग्गामा बुधबार रोपाइँ उत्सव आयोजना गरियो । राष्ट्रिय धान दिवसको अवसरमा वडा नम्बर ४ खाल्टेमा पहिलो रोपाइँ उत्सव आयोजना गरिएको छ । पोल्याङटार टाकञ्जा कृषक समूहको आयोजना तथा सिद्ध एकीकृत कृषि तथा पशुपंक्षी फर्मको व्यवस्थापनमा उत्सव भएको हो ।
पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले धान रोपेर उत्सव सुरुआत गरे । उनले आफ्नो गाउँ आफैं बनाउन कृषि उत्पादनमा जोड दिए । बजारबाट खाद्यान्न खरिद गरेर गाउँमा ल्याउन अब अन्त्य गर्नुपर्ने र गाउँबाट उत्पादित वस्तु बजार पु¥याउने गरी व्यावसायिक उत्पादनमा लाग्न किसानलाई उनले आग्रह गरे ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जमीन चक्लाबन्दी गर्न गाउँपालिकाले सहयोग, समन्वय र सहजीकरण गरेको बताए । यो चक्लाबन्दी कास्की जिल्लाकै ठूलो भएको दाबी गर्दै ओझाले किसानलाई कृषिजन्य वस्तु उत्पादन गर्न आग्रह गर्दै बजारको चिन्ता नलिन आश्वासन दिए । उनले उत्पादित वस्तु बिक्रीको जिम्मा गाउँपालिकाले लिने प्रतिवद्धता जनाए । आगामी आर्थिक वर्षलाई रोजगार वर्षको रुपमा गाउँपालिकाले मनाउन लागेको उनको भनाइ छ ।
सिद्ध एकीकृत कृषि तथा पशुपंक्षी फर्म सञ्चालक बुद्धिबहादुर गुरुङले आफ्नो गाउँमा मेसिन प्रयोग गरेर खेती गर्ने सपना पूरा भएको सुनाए । ‘यान्त्रिकीकरयण गरेर खेती गर्ने चाहना थियो, त्यो आज पूरा भएको छ,’ उनले भने, ‘गाउँकै जग्गामा केही गरौं भनेर जग्गा चक्काबन्दी गरेर खेती गर्न सुरु गरेको हो, यसले गरे हुन्छ भन्ने सन्देश दिएको छ ।’ चक्लाबन्दी गर्न प्रदेशको भूमि तथा कृषि मन्त्रालयले २० लाख सहयोग गरेको छ ।
कार्यक्रममा पोल्याङटार टाकञ्जा कृषक समूहका अध्यक्ष शिवप्रसाद ओझा र अजय खनालले पनि बोलको थिए । कार्यक्रममा महिलाका लागि रोपाई प्रतियोगिता र पुरुषका लागि हिले दौड प्रतियोगिताको आयोजना गरिएको थियो ।
तपाईको प्रतिक्रिया