मुस्ताङ–डोल्पा जोड्ने एक्लेभट्टी–पाक्लिङ मोटरेबल पुल अन्तिम चरणमा


सुन्दरकुमार थकाली
जोमसोम ।
दुई हिमाली जिल्ला मुस्ताङ र डोल्पा जोड्ने कालिगण्डकी नदीमा निर्माणाधीन एक्लेभट्टी–पाक्लिङ मोटरेबल पुल अन्तिम चरण पुगेको छ । साबिक जिल्ला विकास समितिले ठेक्का लगाएको यो मोटरेबल ६ पटक म्याद थपिँदा ७ वर्षमा पुग्दा अन्तिम चरणमा पुगेको हो ।
राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकसँगै जोडिएको मुस्ताङ–डोल्पा पुल निर्माण गर्न ०७२ असार ३१ गते एलाइट शंकरमाली जेभीले १२ करोड १३ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो । पुल बनाउने अख्तियार पाएका कम्पनीका प्रतिनिधिले विभिन्न बहानाबाजी बनाएर पुल अलपत्र छाडेका थिए ।
पछिल्लो समय भने पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राखी कारवाही गर्ने प्रक्रियाअघि बढाएपछि पुलको काम फेरि थालिएको थियो । कम्पनीका आधिकारिक प्रतिनिधिले पुलको ओपन फाउन्डेसन बनाउन नहुने र त्यसरी बनाएमा पुल कालिगण्डकी नदीले कटान गर्ने, पुलमा पायल राख्नुपर्ने आदि कारण देखाउँदै १० करोड क्षतिपूर्ति आरबी टेसनमा मागदाबी गरेका थिए ।
यो पुलको लम्बाइ १ सय २० मिटर छ भने चौडाइ ७ दशमलव २ मिटर छ । पुलको ४० मिटरको फेरोमा ३ वटा स्पान छन् । पुलको तलपट्टीको बिममा स्टिल प्लेट गर्डर र माथिल्लो भागमा स्ल्याप ढलान हुनेछ ।
कालिगण्डकी नदीमा निर्माणाधीन पुल मुस्ताङ–डोल्पा जोड्ने माध्यम हो । पुल निर्माण काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । पुलको साबिक जिविसले ठेक्का सम्झौता गरेको भए पनि विभिन्न कारणले निर्माण कम्पनी र त्यसका प्रतिनिधिको ढिलासुस्तीले गर्दा काममा गतिरोध सिर्जना भएको कार्यालय प्रमुख विवेक सिग्देलले जानकारी दिए ।
अहिले निर्माण कम्पनीले अर्का व्यक्तिलाई पुल बनाउने अख्तियारी दिएको छ । ती व्यक्तिले निर्माणको कामलाई तीव्रता दिएको कार्यालय प्रमुख सिग्देलले बताए । उनले एक्लेभट्टी–पाक्लिङ पुलको पछिल्लो भौतिक प्रगति ७८ प्रतिशत र वित्तीय प्रगती ६२ प्रतिशत भएको उल्लेख गरे ।
७ वर्षअघि शिलान्यास गरिएको मुस्ताङ–डोल्पा जोड्ने पुलमा हालसम्म ६ पटक म्याद थप भइसकेको छ । निर्माण कम्पनीका कारण विवादित बन्दै आएको पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय मुस्ताङले पटक पटक ताकेता गर्दै आएको थियो । पछिल्लो पटक पुलको अख्तियारी पाएका आधिकारिक प्रतिनिधिले निर्माण स्थलमा पुलका ३ वटा स्पान निर्माण गरिसकेका छन् । पुलका ३ वटै स्पानमा स्टिल प्लेट गर्डर फिटिङ भइसकेको छ ।
पुलको १ स्पानमा ढलान गर्ने काम सकिएको छ भने साउ पहिलो सातासम्म ३ वटै स्पानको ढलान सकिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो पुल बनाउन ढिलाइ हुँदा त्यस क्षेत्रका स्थानीयले पुल बन्ने आशा मरिसकेका थिए ।
तर पछिल्लो अख्तियारी पाएका प्रतिनिधिले निर्माणको काममा तीव्रता दिएपछि स्थानीयमा पुल बन्ने आशा पलाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका ५ वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए । ‘५÷६ वर्षअघि मुस्ताङ–डोल्पा जोड्ने पुल बन्नुपर्ने थियो तर विभिन्न बहानाबाजीमा काममा ढिलाइ भयो,’ वडाध्यक्ष गुरुङले भने, ‘ठेकेदार बेइमान भईदियो, उसले लामो समयसम्म पुल अलपत्र छाड्यो ।’
उनले एक्लेभट्टी–पाक्लिङ पुल बनेमा मुस्ताङ–डोल्पा मालसामान ढुवानी गर्न र वारागुङ मुक्तिक्षेत्रका धार्काजुङ, फल्याक, साङ्ता र पाक्लिङ गाउँमा उत्पादन हुने कृषि उपज बजारीकरणमा सहज हुने उल्लेख गरे ।
कालिगण्डकीमा पुलको अपेक्षाकृत भौतिक प्रगति देखेपछि सो क्षेत्रका स्थानीय उत्साहित भएका छन् । उनीहरुले गत हप्ता निर्माण स्थलमा पुगेर चाँडै पुल सम्पन्न होस् भन्ने कामना गर्दै पूजापाठसमेत गरेका थिए । पूजामा पाक्लिङ, धार्काजुङ र फल्याक गाउँका स्थानीय सहभागी थिए ।
मुस्ताङ–डोल्पा जोड्ने पुलको पश्चिमतर्फको भागमा एप्रोच रोडका लागि सुरुआती चरणको पुलको ठेक्का सम्झौतामा लागत समावेश थिएन । तर, पूर्वाधार विकास कार्यालयको सिफारिसमा पछिल्लो समय पश्चिमतर्फ एप्रोच रोड र कटिङका लागि १८ हजार घनमिटरको भिओ स्वीकृत गरिएको थियो ।
कालिगण्डकी नदीमा निर्माणाधीन पुलको पश्चिमतर्फको भागमा करिब २ सय मिटर एप्रोच रोड विस्तार गर्नुपर्ने अनुमान गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पुलको एप्रोच रोड बनाउन २५ लाख आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको जनाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया