नेपालमा देखियो बिए फाइभ

समाधान संवाददाता २०७९ असार २२ गते १०:२७

काठमाडौं ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार देखिएको संक्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति (बिए फाइभ) हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको जनाए । ‘हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ’, उनले भने, ‘कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको भन्नेबारमा हामीले अध्ययन गरिरहेका छौँ ।’

दक्षिण अफ्रिकामा पहिचान भएको यो भेरियन्ट भारतसहित अधिकांश युरोपेली देश, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा पुष्टि भएको छ

Advertisement

महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमित बिरामीको नमूनाको जीन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ । निर्देशक डा दासले एक÷दुई दिनमा काठमाडौँमा गरिएको जीन सिक्वेन्सिङबारे थाहा हुने बताए । युरोप र अफ्रिकामा फैलिएको कोरोना भाइरसको ओमिक्रोन बिए फाइभ उपप्रजाति नेपालमा पनि पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, ‘असार १५ गते कोभिड पुष्टि भएका व्यक्तिको जीन सीक्वेन्सिङ गर्दा १७ गते बिए फाइभ भेटिएको हो । यो नयाँ भेरियन्ट होइन, ओमिक्रोन भेरियन्टकै एउटा उपप्रजाति हो र सर्ने तरिका पनि उही नै हो ।’

बिए फोर र बिए फाइभ भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोना भाइरस संक्रमण दर विश्वभर पुनः बढिरहेको छ । नेपालमा पनि केही दिनदेखि यता यसको संक्रमणदर बढिरहेको छ । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजातिबाट संक्रमण पुष्टि भएकै साता नेपालमा ३ सय ४९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संठन डब्ल्युएचओले यो उपप्रजातिलाई मार्च महिनामा निगरानीको सूचीमा थपेको हो र युरोपमा यो चिन्ताजनक भेरियन्टको सूचीमा छ ।

Advertisement

प्रारम्भिक अध्ययनहरूमा कम घातक भनिए पनि छिटो फैलन सक्ने देखिएकाले जोखिम समूहमा रहेका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्ने विज्ञहरूले बताएका छन् । ओमिक्रोन भेरियन्ट कोरोना भाइरसका अघिल्ला उत्परिवर्तनहरू भन्दा कम घातक देखिएको प्रारम्भिक विवरणहरू आए पनि यसबारे विस्तृत अध्ययन नभएको विज्ञहरूले बताएका छन् ।

यसअघि कोरोनाभ ाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरिएन्ट देखिएका थिए जसले संक्रमणको ठूलो लहर निम्त्याएका थिए । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान भएको यो भेरियन्ट छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा पुष्टि भएको छ । पछिल्लो समय युरोपका धेरै देशमा अधिकतम संक्रमण बिए फाइभ प्रजातिको छ ।

तपाईको प्रतिक्रिया